Friday 29th March 2024

यस्ता पो जनप्रतिनीधि जो विना तलब जनताका लागि काम गर्छन्


तितोपाटी – स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधिले आफ्नो तलब आफैं निर्धारण गरेका छन्। कतै उक्त तलब थोरै भयो भन्ने आवाज सुनिएका छन् त कतै तलब लिनुहुन्न भन्ने वहस पनि चलिरहेको छ। जिल्लाका अधिकांश स्थानीय तहका जनप्रतिनिधि महंगा गाडीमा शयर हुन्छन्। राज्यकोषबाट तलब बुझ्छन्। औपचारिक कार्यक्रममा भाषण गरेर दिन गुजारिरहेका छन्। सरकारी खर्चमा किनेका गाडीमा इन्धन, चालक र मर्मत खर्च छुट्टै छ। तर पाल्पाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, वगनाशकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल र माथागढी गाउँपालिका–२, रुप्सेका वडा अध्यक्ष जनक रिजेलले भने राज्य कोषबाट तलब लिएका छैनन्।

रामपुर नगरपालिका नगरप्रमुख रमणबहादुर थापाले सरकारबाट प्रात हुने तलब तथा भत्ताको रकम स्थानीय अपाङ्गता भएका व्यक्तिहरूको हितमा खर्च गरेका छन्। उनले आफ्नो पाँच वर्षसम्म सरकारबाट प्राप्त हुने २५ लाख बढी रकम यस्तै व्यक्तिहरुको हितमा खर्च गर्ने बताएका छन्। उनी भन्छन्, ‘जनप्रतिनिधी कर्मचारी होईन। स्थानीय माग र आवश्यकता अनुसारका क्रियाकलाप गर्ने हो। तलब तथा सेवा सुविधा लिएर दैनिक हाजिर गरेर १० देखी ४ बजेसम्ममात्र काम गर्ने होईन।’ उनले आफूले भोट माग्दा जनतासमक्ष जाँदा गरेको वाचा अनुसार प्रायः निजी गाडी चढ्ने बताएका छन्।

थापा भन्छन्, सरकारी गाडी कहिलेकाँही औपचारिक कार्यक्रमहरूमा प्रयोग हुन्छ, अन्यथा अहिलेसम्म आफ्नै गाडी प्रयोग गरिरहेको छु। ‘मेयर बनें भने सरकारी गाडी चढदिन भनेको थिएँ,’ उनले भने, ‘सोहीअनुसार निजीमै हिँड्ने गरेको छु, जनतासँगको कुरा पूरा गर्न आफ्नै खर्चमा गाडी किनेर चढेको हुँ।’ मेयर थापाले कार्यालयबाट घर जान र आउँदा आफैं गाडी चलाउँछन्।

नगरपालिकाको विशेष कामबाहेक अन्य समयमा चालकसमेत आवश्यक पर्दैन, थापाले भने। रामपुर नगरपालिका प्रमुख रमणले नगरपालिकाभित्र विशेष क्षमता भएका बालबालिकालाई शिक्षामा सहयोग गरेका छन्। जुन रकम उनको व्यक्तिगत खातामा सरकारबाट आएको थियो, थापा भन्छन्, अपाङ्ग भएरपनि पत्रकारितामा लागेका इमानसिंह रानालाई एक महिनाको र अरु रकम शिक्षा आर्जन गर्न चाहने केही अपाङ्ग विद्यार्थीलाई हस्तान्तरण गरेको छु।

वगनाशकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले सरकारबाट पाउँदै आएको तलव सामाजिक काममा खर्च गर्दै आएका छन्। बस्यालले आफुले पाउँदै आएको तलव गाउँपालिकाको धार्मिक, शैक्षिक, पर्यटकीय, कृषि, गरिब, विपन्न, असाहय लगायतका क्षेत्रमा सहयोग गरेका हुन्। वगनाशकाली गाउँपालिका–९, झिरभञ्ज्याङ्गकी सीता घिमिरेले तलब नलिने जनप्रतिनिधी विरलै पाउन थालिएको बताइन्।

उनी भन्छिन्, ‘नेता हुँदा बाँड्ने आश्वासन जनप्रतिनिधि बनेपछि धेरैले बिर्सने गर्छन्। आफु र आफ्नाहरुलाई हेर्छन् तर हामीले उदाहरणीय व्यक्ति अध्यक्षमा पाएका छौं।’  वगनाशकाली गाउँपालिका अध्यक्ष बस्यालले पहिलो वर्षको तलव गाउँपालिकाका भित्र रहेका विपन्न वर्गका विद्यार्थीहरु, बोटे समुदायका गरिव, असाहयलाई न्यानो कपडामा खर्च गरे। उनले लामो समयसम्म आर्थिक अभावका कारण उपचार नपाई मृत्युसँग लडिरहेका असाहय बिरामीसँगै धार्मिक, शैक्षिक, र पर्यटकीय क्षेत्रमा खर्च गरेका छन्।

अध्यक्ष बस्यालले आफु तलब खानाको लागि नभई जनताको सेवामा समर्पित हुन निवार्चित भएको बताए। उनी भन्छन् ‘सरकारले जेजति पारिश्रमिक उपलब्ध गराएको छ त्यो सबै रकम विपन्न, असाहय वर्गको क्षेत्रमा खर्च गर्ने प्रण गरेको छु।’ निर्वाचनका बेला जनतासँग गरेका बाचालाई आफुले आत्मसाथ गरेर काम गरेको अध्यक्ष बस्यालले बताए। उनले आफ्नो पाँच वर्षको कार्यकालमा गाउँपालिकालाई आर्थिक रुपमा सवल र आत्मनिर्भर बनाई रोजगारका लागि विदेशिने युवाहरूलाई गाउँपालिकामै रोजगार सिर्जना गर्ने योजना साथ अगाडि बढेको बताए।

पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेका वडाअध्यक्षले आफ्नो जनप्रतिनिधि हुँदाको तलब गरिब तथा असहायको सहयोगमा दिएका छन्। माथागढी गाउँपालिका, २ का वडाध्यक्ष जनक रिजेलले गत एक वर्षको तलब वापत प्राप्त गरेको २ लाख चालिस हजार रुपैयाँ आफुले नलिने घोषणा गरेका हुन्। उनी भन्छन्, ‘जनताले मत लिएर समाज सेवा गर्छु भनेर जनप्रतिनिधिको पद पाइएको छ। यसमा तलब लिनु राम्रो होईन भन्ने लाग्यो। मेरो तलब वापतको रकम यसै वडाका गरिब तथा असहायका लागि म खर्च गर्छु।’ जनताले चुनेका जनप्रतिनिधिले जनताकै हितमा काम गरुन् भन्ने चाहाना सबैको हुन्छ।

तर, निर्वाचनका बेला जनता समक्ष गरेका बाचा अधिकांश जनप्रतिनिधिले भुल्ने परम्परा बसेको छ लामो समय जनप्रतिनिधि विहीन बनेका जनता जनप्रतिनिधि आएपछि खुसी हुनु स्वाभाविक हो। तर अधिकांश जनप्रतिनिधि निर्वाचनमा जनता समक्ष गरेका बाचा पूरा गर्नुको सट्टा आफ्ना परिवार र आफन्तको भरणपोषणमा तल्लिन भइरहेका बेला जिल्लाको यी तीन जनप्रतिनिधि भने उदाहरण बनेका छन्।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...