तितोपाटी – गृह मन्त्रालयले कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अनुसन्धानमा संलग्न थप पाँच जना प्रहरी अधिकृतलाई निलम्बन गरेकाे छ । मन्त्रालयले निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न कञ्चनपुर गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसीसहित ५ प्रहरी अधिकारीलाई निलम्बन गरेको हो। यसअघि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बित भइसकेका छन् ।
शनिबार बिज्ञप्ति प्रकाशित गर्दै भदौ ७ गते गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्च स्तरीय छानबिन समितिले शनिबार गृहमन्त्री रामबहादुर थापा समक्ष पेश गरेको प्रतिवेदनका आधारमा जिम्मेवारीपूर्वक काम गर्न नसकेका दुई डिएसपीसहित ५ जनालाई थप अनुसन्धानका लागि निलम्बन गरेको जनाएको हो। बिष्टसहित प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी, सिअाइबीका प्रहरी नायब उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का र सहायक निरीक्षक रामसिंह धामीलाई शनिबारबाटै निलम्बन गरी अनुसन्धान गर्न निर्देशन दिएको हो।
प्रतिवेदनमा अन्य केही संदिग्ध ब्यक्तिलाई पनि छानबिनको दायरामा ल्याएर अनुसन्धान गर्न निर्देशन दिएको छ।
बिज्ञप्तीमा यो घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेकाले अपराधी पत्ता लगाई कारवाही गर्ने विषयमा सबैले सहयोग गर्न अनुरोध समेत गरिएको छ।
यसैबिच निर्मलाको बलात्कारपछि भएको हत्या प्रकरणमा संलग्न दोषीलाई पक्राउ गरेर घटनाबारे यथार्थ विवरण सार्वजनिक गर्न माग गर्दै शनिबारबाट देशव्यापी रुपमा प्रदर्शन सुरु भएको थियो । साँझ गृहमन्त्रालयले डीएसपी जिसीसहित ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदिश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो ।
उनीहरुलाई निलम्बन गरेपछि आन्दोलन मथ्थर हुने अपेक्षा गरिएको थियो । तर, न्यायको माग गर्दै आन्दोलन आइतबार पनि जारी रहेको अधिकारकर्मी शारदा चन्दले बताइन् । बलात्कारपछि भएको हत्या प्रकरणमा संलग्न दोषीलाई पक्राउ गरेर घटनाबारे यथार्थ विवरण सार्वजनिक गर्न माग गर्दै प्रदर्शन जारी राखिएको छ।
स्रोतका अनुसार शनिबारको आन्दोलनपछि ९ अधिकारकर्मीहरु आन्दोलनका कार्यक्रमहरुलाई कसरी अघि बढाउने वा के गर्ने भन्ने बारेमा छलफलमा छन् ।
उता, गृहले निलम्बन गरेपछि प्रहरी प्रधान कार्यालयमा निलम्बित अधिकारीहरुलाई बोलाइएको छ । प्रहरी मुख्यालयको उजुरी छानबिन शाखाले पनि उनीहरुमाथि अनुसन्धान गर्ने जनाइएको छ ।