Monday 17th June 2024

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक अब २९ हजार ५ सय


तीतोपाटी- न्यूनतम पारिश्रमिक निर्धारण समितिले विभिन्न सञ्चार प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारहरुको पारिश्रमिकमा पुनरावलोकन गर्दै नयाँ तलवमान सिफारिस गर्ने निर्णय गरेको छ ।

यही भदौ २४ र २५ गते दुई दिन सम्म काठमाडौंमा सम्पन्न समितिको बैठकले श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारहरुको पारिश्रमिकमा ५० प्रतिशतको हाराहारीमा वृद्धि गरी नयाँ तलवमान सिफारिस गर्ने निर्णय गरेको हो । २०७२ को असारमा समितिले सिफारिस गरेको पारिश्रमिक दरमा ३ वर्षपछि २०७५ भदौमा मात्र पुनरावलोकन गरिएको समितिका अध्यक्ष गंगाधर पराजुलीले जानकारी दिए ।

यसपटक समितिले श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको पारिश्रमिक पुनरावलोकनका लागि सञ्चार प्रतिष्ठानको क्षमता, तिनको श्रेणी र तहलाई समेत आधार बनाएको छ ।

यसबाहेक श्रमजीवीको जीवनयापनका  लागि चाहिने न्यूनतम आधारभूत आवश्यकता, देशको मौद्रिक अवस्थामा आएको उतारचढाव, निजामती सेवा एवम् अन्य निजी प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवीहरुको पारिश्रमिकको तुलनात्मक अवस्था सञ्चार प्रतिष्ठानहरुको क्षमता, केही समय अगाडि नेपाल सरकारले विभिन्न औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानमा कार्यरत श्रमजीवीहरुको न्यूनतम पारिश्रमिकमा गरिएको वृद्धि तथा मुलुकको समग्र आर्थिक अवस्थालाई मध्यनजर गरी पारिश्रमिक पुनरावलोकनको निर्णय गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए ।

समितिले विभिन्न जिल्ला र प्रदेशमा पुगेर सञ्चार प्रतिष्ठानका सञ्चालक, व्यवस्थापक तथा श्रमजीवीहरुसँग गरेको अन्तरक्रिया, विभिन्न सञ्चारप्रतिष्ठानमा गरिएको अनुगमन र नेपाल पत्रकार महासंघ लगायत पत्रकारिता र श्रमजीवीसँग सम्बन्धित संघ–संस्थाबाट प्राप्त सुझावलाई समेत मध्यनजर गर्दै पारिश्रमिकको दरमा पुनरावलोकन गरेको हो ।

उनका अनुसार न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यको संयोजकत्वमा गठित पारिश्रमिक पुनरावलोकन कार्यदलले दिएको प्रतिवेदनमा उल्लेख गरिएको पारिश्रमिकको दरलाई केही परिमार्जन गरी पारिश्रमिक पुनरावलोकन गरिएको हो ।

समितिले पुनरावलोकन गर्न प्रस्ताव गरेको नयाँ पारिश्रमिक दर अनुसार क, ख र ग वर्गमा पर्ने राष्ट्रिय स्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवी पत्रकारहरुका लागि क्रमशः रु.२९,५००।–, रु.२७,५००।– र रु.२४,५००।– तथा प्रादेशिक स्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवी पत्रकारहरुका लागि क्रमशः रु.२१, ५००।–, रु.२०,०००।– र रु.१८,०००।– तय गरिएको छ । स्थानीय स्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवीका लागि क्रमशः रु.१८,०००।–, १७,०००।–, र १६,०००।– रुपैंया न्यूनतम पारिश्रमिक तोकिएको छ ।

यसैगरी ५०० वाट भन्दा बढी क्षमताका रेडियोमा कार्यरत श्रमजीवी पत्रकारको लागि रु.२९,५००।–, ५०० वाट क्षमतासम्मका रेडियोमा कार्यरत श्रमजीवीका लागि रु.२१,५००।– र १०० वाटसम्म क्षमताका रेडियोमा कार्यरत श्रमजीवी पत्रकारका लागि रु.१८,०००।– मासिक न्यूनतम पारिश्रमिक तोकिएको छ । टेलिभिजन प्रतिष्ठानहरुमध्ये स्याटलाइट टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारको लागि न्यूनतम पारिश्रमिक रु.२९, ५००।– र केबुल टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारको लागि रु.२१, ५००।– निर्धारण गरिएको छ ।

स्याटेलाइट प्रसारण हुने टेलिभिजनलाई छापामाध्यमको राष्ट्रिय ‘क’ वर्ग र केबुल टेलिभिजनलाई प्रादेशिक ‘क’ वर्ग सरह मानेर उक्त पारिश्रमिक निर्धारण गरिएको हो । सबै खाले सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक रकमका अतिरिक्त रु.१०००।– रुपैयाँ सञ्चार खर्चवापत उपलब्ध गराउनुपर्ने निर्णय पनि बैठकले गरेको छ । यस अगाडि ऐन पूर्ण कार्यान्वयन हुने सञ्चार प्रतिष्ठानका लागि रु.१९,५००।– र अन्य सञ्चार प्रतिष्ठानका लागि रु.१४, १००।– रुपैंयाँ न्यूनतम पारिश्रमिक तोकिएको थियो ।

यसैगरी स्ट्रीन्जर समाचारदाताको हकमा राष्ट्रिय स्तरका सञ्चार प्रतिष्ठानमध्ये पत्रपत्रिकामा प्रति समाचार रु.२२५ वाट बढाएर रु.३५०।– र रेडियोहरुमा रु.२०० बाट बढाएर रु.३०० तथा टेलिभिजनहरुमा रु.६०० बाट बढाएर रु.९०० पुर्याउने तथा प्रादेशिक तथा स्थानीय मिडिया अन्तरगत पत्रपत्रिकामा रु.१५० बाट रु.२२५, रेडियोमा रु.१५० बाट रु.२२५ र टेलिभिजनमा रु.६०० बाट बढाएर रु.७५० पुर्याउने निर्णय गरिएको छ ।

सञ्चारप्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारीहरुको पारिश्रमिकमा पनि समितिले पुनरावलोकन गरेको छ । जसअनुसार राष्ट्रिय मिडिया अन्तरगत क, ख र ग वर्गका लागि रु.२१,५००।–, रु.२०,५००।– र रु.१८,०००।– तथा प्रादेशिक मिडियामा काम गर्नेहरुको लागि क्रमशः रु.१९,०००।–, रु.१८,०००।– र रु.१६,०००।– तय गरिएको छ भने स्थानीय मिडियामा कार्यरत कर्मचारीका लागि रु.१६,०००।–, रु.१५,०००।– र रु.१४,०००।– रुपैंया न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ

सभार रातोपाटी


सम्बन्धित शीर्षकहरु

इटाली र जर्मनीले युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शर्त अस्वीकार गरेका छन् । व्यापक छलफलपछि स्विट्जरल्याण्डमा युक्रेनले…

पुष्कर अथक रेग्मी - साहित्यकार वनमाली निराकारद्वारा लिखित एवं अर्चना शर्मा बिष्ट र आरति शर्मा आचार्यद्वारा प्रकाशित कविता संग्रह 'मान्छेका…

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर…

प्रतिकृयाहरू
...