Saturday 21st September 2024

बिमस्टेकको २ दिने शिखर सम्मेलन अाजदेखि काठमाण्डाैंमा


तितोपाटी – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी आरम्भ हुँदैछ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुकले भाग लिँदै छन् । सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिनुहुने छ ।

शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्नुहुने छ । सम्मेलनमा भाग लिन थाइल्याण्ड र बङ्गलादेशका प्रधानमन्त्रीबाहेक अन्य देशका विशिष्ट अतिथि काठमाडौँ आइसक्नु भएको छ । उनीहरु केही घण्टाभित्रै राजधानी आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौँ घोषणापत्र जारी गर्दै भोलि अपराह्न शिखर सम्मेलन समापन हुनेछ । सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्ने छ ।

बिमस्टेकको दुईदिने शिखर सम्मेलनले दक्षिण एसिया र दक्षिणपूर्वी एसियालाई जोड्न व्यापार, ऊर्जा, यातायातलगायत विषयमा क्षेत्रीय सम्झौता तथा प्रतिबद्धता जाहेर गर्ने भएको छ ।

सदस्य राष्ट्रबीच जनस्तर तथा राष्ट्रस्तरमा ऊर्जा, व्यापार, पर्यटन, प्रविधि तथा कृषिलगायत विषयमा कनेक्टिभिटी बढाउनु सम्मेलनको मुख्य उद्देश्य भएको आयोजक राष्ट्र नेपालले जनाएको छ । सम्मेलनको पूर्वसन्ध्यामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यान्मार र थाइल्यान्डका विदेशमन्त्रीस्तरीय बैठकको अध्यक्षता गर्दै बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कनेक्टिभिटी, व्यापार, पर्यटन, ऊर्जा र कृषिलाई प्राथमिकतामा राख्न प्रस्ताव गरे ।

मन्त्रीस्तरीय बैठकले सचिवस्तरीय बैठकबाट भएको छलफल र निष्कर्षमाथि विचार गर्दै त्यसलाई सम्मेलनमा प्रस्तुत गर्ने निर्णय गरेको छ । जसअनुसार विद्युत् प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ को समझदारीपत्र (एमओयू) मा सातै देशका मन्त्रीले हस्ताक्षर गर्दै छन् ।

साँझ पौने चार बजे सुरु हुने सम्मेलनमा बिमस्टेक राष्ट्रबीच खुला व्यापार सम्झौताका बारेमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिमस्टेक राष्ट्रबीच स्थल र जलमार्गको कनेक्टिभिटीका लागि गुरुयोजना बनाउने काममा सम्मेलनले महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा छ । क्षेत्रीयस्तरमा प्रतिआतंकवादका साझा रणनीति पहिल्याई त्यसलाई कार्यान्वयन गर्नेबारे सातै देशका राष्ट्र/सरकार प्रमुखबीच छलफल हुने एजेन्डा छ ।

स्थापनाको दुई दशक पुगिसक्दा पनि बडापत्र तथा कानुनी दस्तावेजविहीन अवस्थामा चल्दै आएको बिमस्टेकलाई थप मजबुत बनाउने निर्णय सम्मेलनले गर्नेछ । त्यसअनुसार सम्मेलनले बडापत्र निर्माण र संयुक्त लगानी कोष स्थापना गर्न काठमाडौं घोषणापत्र जारी गर्नेछ ।

बिमस्टेक सचिवालयले भन्सारसम्बन्धी आपसी सहायता तथा सहकार्य गर्न सम्झौता गर्ने विषयमा समेत छलफल गर्नेछ । त्यस्तै सम्मेलनका क्रममा बिमस्टेक मोटरगाडी सम्झौता र बिमस्टेक तटवर्ती जल परिवहन सम्झौता गर्नेबारे छलफल हुनेछ । यी सबै सम्झौताको मस्यौदालाई मन्त्रीस्तरीय बैठकले बुधबारै अन्तिम रूप दिइसकेको छ ।

मन्त्रीस्तरीय बैठकले बिमस्टेकको अध्यक्षता श्रीलंकालाई दिने निर्णय गरेको छ । अब दुई वर्षपछि पाँचौं शिखर सम्मेलन श्रीलंकामा हुनेछ । सदस्य राष्ट्रका परराष्ट्र सचिवबीच राजधानीमा भएको १९ औं बैठकले सम्मेलनका सबै एजेन्डा र काठमाडौं घोषणापत्रको मस्यौदा मंगलबारै बनाइसकेको छ।


सम्बन्धित शीर्षकहरु

हन्ट्सभिलको अलाबामा विश्वविद्यालय र न्यूयोर्कको एप्लाइड फिजिक्सको उन्नत प्रोपल्सन प्रयोगशालाका भौतिकशास्त्रीहरूको टोलीले एउटा मोडेलको विकास गरेको छ जसले देखाउँछ कि…

म्यानमारमा आएको भीषण बाढीका कारण कम्तीमा ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् । टाइफुन…

भारतीय कमेडियन कपिल शर्माले 'द ग्रेट इन्डियन कपिल शो' को दोस्रो सिजन ल्याउने भएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार…

प्रतिकृयाहरू
...