Saturday 21st September 2024

भारतका पुर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको ९३ वर्षको उमेरमा निधन


तितोपाटी – भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५ मिनेट जाँदा निधन भएको छ । । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको ‘लाईफ सपोर्ट सिष्टम’ मा राखेर विषेश उपचार प्रयास गरिएपनि उनलाई बचाउन सम्भव भएन ।

एम्सले पत्रकार सम्मेलनमार्फत भनेको छ, ‘उहाँलाई वचाउनका लागि एम्सका चिकित्सकको विशेष पहल सार्थक हुन सकेन । उनको साँझ ५ बजेर ५ मिनेटको समयमा निधन भएको छ ।’ यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर पेजमा पूर्व प्रधानमन्त्री वाजपेयीजी को निधनले आफूलाई ठूलो दुःख लागेको उल्लेख गरेका छन् ।

भारतीय जनता पार्टीका एकजना संस्थापक नेता वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए । ९३ वर्षीय वाजपेयीका एम्समा उपचार भएको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो ।

मधुमेहका बिरामी वाजपेयीको गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना गरिएको थियो । उनको मिर्गौलाको सङ्क्रमणलगायत विभिन्न स्वास्थ्य समस्या पनि देखिएको थियो ।

कस्ता थिए बाजपेयी

भारतको नयाँ दिल्लीस्थित एउटा अस्पतालमा ९३ वर्षको उमेरमा निधन भएका भारतका भूतपूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी दशकौँसम्म देशको राजनीतिमा प्रभावशाली नेताका रूपमा रहेका थिए।

उनी हालको सत्ताधारी भारतीय जनता पार्टीका संस्थापकमध्येका एक नेता थिए।

सो हिन्दू दक्षिणपन्थी पार्टीभित्र उनी नरम नेताका रूपमा चिनिन्थे।

वाजपेयी सन् १९९६ को १६ मे मा पहिलो पटक भारतको प्रधानमन्त्री बनेका थिए तर लोकसभामा बहुमत सावित गर्न नसकेपछि उनले ३१ मे मा नै राजीनामा दिनु परेको थियो।

सन् १९९८ को आमचुनावमा उनी नेतृत्वको गठबन्धनले बहुमत हासिल गरेपछि उनी दोस्रो पटक प्रधानमन्त्री चुनिएका थिए।

सत्ता सम्हालेको १३ महिनामा नै गठबन्धनको एक सदस्य दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनको सरकार फेरि ढल्न पुगेको थियो।

सन् १९९९ मा उनी फेरि गठबन्धन सरकारको नेतृत्व गर्दै तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका थिए।

उनलाई सर्वप्रिय कवि, कुशल वक्ता तथा समावेशी राजनीतिको पर्याय मानिन्थ्यो।

सन् १९२४ डिसेम्बरमा ग्वालियरको एउटा निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका उनको शिक्षादिक्षा ग्वालियरको तत्कालीन भिक्टोरिया कलेज तथा कानपुरको डीएभी कलेजमा भएको थियो।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेपश्चात् उनले पत्रकारिता पनि गरेका थिए।

एक प्रधानमन्त्रीको रूपमा उनको सबभन्दा ठूलो उपलब्धिमध्ये सन् १९९८ मा भारतले गरेको परमाणु बम परीक्षणलाई लिइन्छ।

त्यसपछि भारत एउटा परमाणु शक्तिसम्पन्न राष्ट्रका रूपमा स्थापित भयो।

त्योसँगै छिमेकी पाकिस्तानसँगको सो देशको द्वन्द्व झन् चर्कन सक्ने आशङ्का पनि चुलिएको थियो।

तर आफ्नो नेतृत्वको सरकारले गरेको परमाणुअस्त्र परीक्षणलगत्तै वाजपेयीले पाकिस्तानसँगको सम्बन्ध बिग्रन नदिन विशेष प्रयास गरेका थिए।

उनले पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरिफसँग शिखरवार्ता गर्न बस चढेर पाकिस्तानको लाहोर सहरसम्मको यात्रा गरेका थिए।

उनले तिब्बतलाई चीनको अङ्गका रूपमा स्वीकार गर्दै बेइजिङसँग दिल्लीको सम्बन्धलाई बलियो बनाउने प्रयास गरेका थिए र भारतीय अर्थतन्त्रमा चिनियाँ लगानी बढाउने कदम चालेका थिए।

उनको कार्यकालमा भएका अन्य महत्त्वपूर्ण घटनामा कारगिल युद्ध, काठमाण्डूबाट दिल्लीको लागि उडेको इन्डिएन एयरलाइन्स विमानको अपहरण, सन् २००१ मा भारतीय संसद्‌मा भएको आतङ्कवादी आक्रमण तथा सन् २००२ मा गुजरातमा भएको हिन्दू-मुस्लिम दङ्गालाई लिइन्छ।

सन् २००४ को निर्वाचनमा बीजेपी र उसका साझेदारहरूको गठबन्धन सोनिया गान्धीको कङ्ग्रेस पार्टीबाट पराजित भएका थिए।

सन् २००५ मा बाजपेयीले आफ्नो ४० वर्षे राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गरेका थिए।


सम्बन्धित शीर्षकहरु

हन्ट्सभिलको अलाबामा विश्वविद्यालय र न्यूयोर्कको एप्लाइड फिजिक्सको उन्नत प्रोपल्सन प्रयोगशालाका भौतिकशास्त्रीहरूको टोलीले एउटा मोडेलको विकास गरेको छ जसले देखाउँछ कि…

म्यानमारमा आएको भीषण बाढीका कारण कम्तीमा ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् । टाइफुन…

भारतीय कमेडियन कपिल शर्माले 'द ग्रेट इन्डियन कपिल शो' को दोस्रो सिजन ल्याउने भएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार…

प्रतिकृयाहरू
...