Wednesday 29th July 2026

रूपन्देहीका रोवर्ट अाविष्कारकको इन्जिनयर पढ्ने रहर


तितोपाटी – रुपन्देहीको रुद्रपुरका १९ वर्षीय युवा सुविन सुनार नयाँ-नयाँ कुराको खोजी गर्थे । उनको यो सानैदेखिको रुची हो । सुविनले अहिले मानव यन्त्र (रोबर्ट) बनाएर आफ्नो रुचीलाई आविष्कारमा परिणत गरेका छन् ।

कुनै सफ्टवेयर/हार्डवेयर प्रयोग नगरी फालिएका धातु, काठ, मोटर, सीडी चक्का, स्पीकर, लाइट, विद्युतीय तार आदि सामानको प्रयोगबाट उनले रोबर्ट बनाएका हुन् ।

करिब एक वर्ष समय लगाएर उनले बनाएको रोबर्ट बोल्ने, सामान टिप्ने, दायाँबायाँ हेर्ने गर्छ । रोबर्ट बनाउन करिब ५० हजारजति खर्च भएको सुविन बताउँछन् । ‘अझै पैसा भएको भए यो भन्दा धेरै काम गर्न सक्ने क्षमताको बनाउन सक्थें,’ सुविनले भने, ‘यसअघि डोजर र हेलिकोप्टरको नमूना बनाएको थिएँ ।’

सुविनले साइकलमा मोटरसाइकलको इन्जिन जोडेर बाइक जस्तै चलाउन सकिने पनि बनाएका छन्, जुन पेट्रोलबाट चल्छ ।

टेलिभिजन र युट्यबहरुमा देखेको कुरा आफैले प्रयोग गरेर उतार्न खोज्ने स्वभावका सुविनले गाउँकै सरस्वती माविबाट २०७२ सालमा सी ग्रेडमा एसईई उतीर्ण गरेका हुन् ।

घरको आर्थिक अवस्था ज्यादै कमजोर भएका सुविन पारिवारिक वाध्यताले पैसा कमाउने भनेर एक वर्ष भारतमा गएर रोजगारीसमेत गरे ।

चार दाजुभाइ, सात दिदीबहिनी र आमा बुबासमेत १३ जनाको ठूलो परिवारको सम्पत्ति भने २ कठ्ठा १४ धुर जग्गा र एउटा घर मात्रै छ ।

सुविनको परिवार बागलुङको साविक पैयु थन्थाप गाविसबाट बसाइँ सरेर रुद्रपुर आएको हो । आफ्नो खेतको उब्जनीले एक महिना पनि खान नपुग्ने भएकाले सुविनको परिवारलाई अरुको जग्गा अधियाँ गर्नुपर्ने वाध्यता छ ।

विषम आर्थिक अवस्थाका बीच पनि सुविन आफ्नो रुचि अनुसार नयाँ-नयाँ कुरा आविष्कार गर्ने आफ्नो इच्छा त्याग्न नसक्ने बताउँछन् ।

घरको कमजोर आर्थिक अवस्थाकै कारण पढाई छोड्न बाध्य सुविनले अब फेरि पढाइलाई निरन्तरता दिन चाहेका छन् । ‘म जसरी पनि इन्जिनियरिङ विषय पढ्न चाहन्छु, तर घरको आर्थिक अवस्थाले सकेको छैन,’ आफूले बनाएको रोबोट र बाइक गाउँपालिकाका पदाधिकारी र स्थानीयसामु प्रदर्शन गर्दै सुविनले भने, ‘म प्राविधिक विषय पढेर देशका लागि काम लाग्ने चिज आविष्कार गर्न सक्छु ।’

सुविनले आफूलाई पढाउन कोही दाताको सहयोगको याचना गरे । उनका ६५ वर्षका बृद्ध बुबा हरिबहादुर सुनारले छोराको पढ्ने इच्छा हुँदाहुँदै पढाउन नसकेको भन्दै भक्कानिए । ‘कमाउने भएका दुई छोराले भाइलाई सहयोग गरेनन्,म बुढो भइसकें,बेचौं भने पनि सम्पत्ति केही छैन,’ हरिबहादुरले गला अवरुद्ध पार्दै गाउँपालिकाका अध्यक्ष लगायत गाउँलेहरुसँग याचना गर्दै भने, ‘कोही मनकारीले पढाए भने छोराले केही गरेर देखाउँछ ।’

सुविनको प्रतिभा देखेर कन्चन गाउँपालिकाले रोबोट बनाउन खर्च भएको रकम मध्ये तीस हजार रुपैयाँ सहयोग गरेको गाउँपालिका अध्यक्ष गोकर्ण क्षेत्रीले बताए । ‘सुविनले नयाँ आविष्कारको क्षेत्रमा केही गर्न सक्छ भन्ने लागेर अहिले ३० हजार सहयोग गरेका हौं,अब उसलाई उच्च शिक्षा पढाउन पनि के गर्न सकिन्छ भनेर सोंचिरहेका छौं,’ गाउँपालिका अध्यक्ष क्षेत्रीले भने, ‘सुविन कन्चन गाउँपालिकाको मात्र हैन, राष्ट्रकै सम्पत्ति हो, उसको प्रतिभा मर्न नदिन प्रदेश र संघीय सरकारको पनि ध्यान जाओस् ।’


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...