नारायण पोख्रेल – केहिदिन पहिलामात्र कन्चनपुरमा १३ बर्षिय बालिकाको बलात्कार पछि उनको निर्ममतापूर्वक गरिएको र हत्यामा संग्लाग्न अपराधीको पहिचान नहुदै काभ्रेमा फेरि ९ बर्षिय बालिकाको बलात्कार पछि हत्या भएको समाचार सार्बजनिक भएको छ । हरेक दिनजसो पत्रपत्रिकाहरू अनलाइन रेडियो टेलिभिजन जस्ता संचारमाध्यममा बलात्कारका समाचारलाई स्थान दिँदै आएको पाईन्छ ।
सर्बसाधारण देखि सञ्चारकर्मीहरूमा पहिलेको भन्दा बढी मात्रामा लैङ्गिक चेतना आएको छ भन्न सकिन्छ , जसले गर्दा युवती या महिलामाथि भएका यौन तथा अन्य हिंसाका समाचार तथा यस कुराको विरुद्धमा सन्चार माध्यम तथा आम मानिसले प्रयोग गर्ने सामाजिक सन्जालहरुमा राम्रो स्थान पाउँदै आएका छन् ।
सामाजिक सन्जालमा आम मानिसका अभिव्यक्ति हेर्दा बलात्कारमा संग्लाग्नता भएका अपराधीलाइ सिधा फाँसी दिनुपर्ने कडा कानूनको माग गरिएको देख्न सकिन्छ ।
पत्रकारले समाचार सम्प्रेषण गरेर हिंसाको जानकारी दिने र आम नागरिकले निकाल्ने बिरोध जुलुसले सरकारलाई सचेत गराउने कामले मात्र अब नपुग्ने भएको छ । यसका लागि पत्रकार तथा लेखकहरुले आफ्नो कलममार्फत कसरी यस्ता घटनामा बिस्तारै कमि र सुन्यमा ल्याउन सकिन्छ भन्ने तर्फ कलम चलाउनुपर्ने हुन्छ भने राज्यले आम नागरिकलाई कानुनमा भएका कुराहरुको प्रचार प्रसार मात्र हैन प्रसाशन र न्यायलयले अपराधीको पहिचान र उसलाई हदैसम्मको सजाय दिन सक्छ भन्ने कुराको महसूस दिलाउन सक्नु पर्दछ ।
सरकार ,पुलिस प्रशासन र न्यायलयमा भएका कतिपय मानिसहरु नै भ्रस्टाचार र विभिन्न काण्डमा संग्लग्न भएका घटनाहरु घामजस्तै छर्लङ्ग छन । यस्तो परिस्थितिमा जस्तो सुकै कडा कानून बनेपनि त्यसको कर्वान्वन ठिक होला भन्न सकिन्न । त्यसो हुँदा जबसम्म हाम्रो देशमा सुसंस्कारयुक्त राजनीतिक परिपाटीको सुरुवात हुदैन तथा राज्य ,प्रहरी प्रशासन तथा न्यायलयमा हुनेहरु आफ्नो दायित्व अनुसारको काम गर्दैनन तबसम्म उचित न्यायको अपेक्षा गर्न सकिदैन । यसका साथै झट्ट हेर्दा या सुन्दा एकदम सामान्य लाग्ने तर महत्त्वपूर्ण विषयतिर ध्यान दिन जरुरी छ । अपराधीलाई फेला पारेर कानून अनुसार कारबाही गर्नु एउटा पाटो हो तर सधैजसो यस्ता किसिमका अपराध हुनुको कारण पहिलाउँदै यसलाई कसरी घटाउन सकिन्छ भन्ने तर्फ लाग्नु त्यती जरुरी छ ।
यौन हिंसा बढ्नुको सबैभन्दा महत्त्वपूर्ण कारण हो नेपाली समाजमा यौनको बारेमा उचित शिक्षाको व्यबस्था नहुनु र यसलाई लज्जाको विषय बनाउनु जबकी यो हरेक प्राणीले गरिरहने र जीवन सुचारु गर्नको लागी नभै नहुने कुरा हो । जब बिषयबस्तुलार्इ आबस्यकता भन्दा बढी लुकाइन्छ तब भर्खरका केटाकेटीलाई यस्ता कुराहरुमा बढी कौतुहलता हुने गर्दछ । फलस्वरूप उनीहरु कसरी हुन्छ उक्त कुराको अनुभब लिनलाई तल्लिन हुन्छन। यसैगरी मादकपदार्थको जथाभावी बिक्री-वितरण र सेवन अर्को कारक तत्वको रूपमा रहेको छ । हाम्रो जस्तो भर्खर मात्र शिक्षामा माथि उठ्दै गरेको र माथि भनिएजस्तै लज्जाको विषय भएको अबस्थामा हरेक कुरामा पश्चिमा संस्कृतिको अनुसरण गर्ने प्रवृत्तिले समेत यसमा प्रभाब पारेको छ ।
यौन उत्तेजना बढाउने विज्ञापनहरू तथा औषधीहरु , पत्रपत्रिका तथा टेलिभिजनहरूमा खुला रूपमा देखिने विज्ञापन र नग्न तस्वीरहरू र आधुनिक फिल्ममा राखिएका कतिपय विषयबस्तुले समेत आम मानिसलाई उत्तेजना फैलाउने र यौनहिंसा बढाउने काम गर्छ । लैंगिक समानताको नाममा महिला, युबतीहरुले हाम्रो समाजले पचाउन नसक्ने किसिमका छोटा र कसिला कपडाहरु लगाउँदा, समेत मानिसहरुलाई यौन हिंसा तिर तानेको छ भन्न सकिन्छ ।
जुन कुरा अन्य मुलुकमा सानै उमेरमा स्कुल देखि नै यौनको बारेमा उचित शिक्षाको व्यबस्था गरिएको हुन्छ । महिलाहरुले पुरुषलाई मात्रै दोष दिनुको सट्टा आफुले नै जन्माएका पुरुष बच्चालार्इ सानैदेखि राम्रो संस्कार दिने तर्फ अलि बढी ध्यान दिंदा उचित हुनेछ । समग्रमा यो भन्न सकिन्छ कि कानून बनाउदैमा र घटना घटेपछि जुलुस निकाल्दैमा समस्याको समाधान हुदैन ।
समस्याको समाधान गर्नको लागि सरकार, राजनीतिक पार्टी र आम बुद्धिजिबीले यस्ता बलात्कारका घटना हुनुका कारणहरुको बारेमा गम्भीरताका साथ अध्ययन गरि समाधानका उपायहरु खोज्न बेर गर्नु हुदैन ।