Saturday 21st March 2026

तस्करी गरि दिल्ली पुर्याइएका १६ जना नेपाली युवतीको उद्दार


तितोपाटी – मंगलबार राति ११:३० बजे नयाँदिल्लीको मुर्निकास्थित अँध्यारो गल्लीमा मुख छोपेका एक हूल महिला देखा परे । उनीहरू थिए– आकर्षक कमाइको आश्वासनमा फसेर जोगिएका १६ नेपाली युवती ।

चार घण्टाको कठिन प्रयासमा उद्धार गरिएका उनीहरू बन्धक बनाइएका थिए । त्यहाँबाट निकाल्न दिल्ली महिला आयोग, केआई नेपाल र प्रहरीको संयुक्त टोली खटेको थियो । एक महिनादेखि स–साना दुई कोठामा राखिएका उनीहरू थकित देखिन्थे । केही बिरामीसमेत । २० देखि ३५ वर्षका उनीहरूमध्ये २ जना अविवाहित छन् । उनीहरूलाई दिल्ली आयोगको आरक्षणमा राखिएको छ । अनुसन्धानलगायत प्रक्रियापछि नेपाल पठाइने उद्धारमा नेतृत्व गरेकी दिल्ली आयोगकी अध्यक्ष स्वाती मलिवालले बताइन् ।

उनीहरूलाई ६ तल्ले घरको दोस्रो तल्लाका दुई कोठामा राखिएको थियो । सबै जनाको राहदानी दिल्ली पुग्नुअघि नै एजेन्टले नियन्त्रणमा लिएको उनीहरूले बताए । खाडीमा खान, बस्नबाहेक कम्तीमा ३० हजार रुपैयाँ मासिक तलब हुने आश्वासन दिइएको एक महिलाले बताइन् ।

उनीहरूलाई सुनौलीको बाटो हुँदै दिल्ली ल्याइएको हो । सीमामा हुन सक्ने सोधपुछबाट उम्कन दिल्लीमा आफन्त रहेको र केही दिनका लागि घुम्न जान लागेको भन्ने जवाफ दिन पहिल्यै सिकाइएको थियो । एक साताअघि दुई युवती कुवेतका लागि उड्ने भन्दै नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगे । तर, दुवैलाई विमानस्थल अधिकारीहरूले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नक्कली भएको आशंकामा पक्राउ गरेका थिए । केही घण्टा राखेर उनीहरूलाई छाडियो । ती अधिकारीले नयाँदिल्लीस्थित नेपाली दूतावासलाई पत्राचार गरेपछि महिलालाई बन्धक बनाइएको रहस्य खुलेको हो ।

सरकारले खाडी मुलुकमा घरेलु कामदार लैजान २०७२ जेठमै प्रतिबन्ध लगाए पनि भारतका विमानस्थल हुँदै नेपाली महिला त्यहाँ पुगिरहेका छन् । नक्कली एनओसीका सम्बन्धमा दूतावास प्रवक्ता हरि ओडारीले भने, ‘त्यो डकुमेन्ट पाएपछि हामी अभिलेख हेर्छौं ।’ त्यसरी जाँच्दा यस घटनामा पनि नक्कली पहिचान भएको थियो । करिब ६ महिनाअघि भिजिट भिसामा दुबई पुगेर अलपत्र परेका ३५ नेपाली महिलाको उद्धार गरिएको थियो । ती सबै दिल्लीबाटै उडेका थिए । ‘नेपाली महिलालाई यसरी ल्याएको देख्दा निकै दु:ख लाग्छ,’ उद्धारकर्ता स्वातीले भनिन्, ‘किन नेपाल सरकारका तर्फबाट मानव तस्करी रोक्न ठोस पहल भइरहेको छैन ?’

को हुन् स्वाती ?
महिला तथा बालबालिकामाथि हुने हिंसा र चेलीबेटी बेचबिखनविरुद्ध अभियानका लागि चर्चित छिन् स्वाती मलिवाल । नेपाली युवतीको उद्धारमा मंगलबार मध्यराति छापा मार्ने टोलीको अगुवाइ उनैले गरेकी थिइन् । गत वैशाखमा नयाँदिल्लीको राजघाटमा महिला तथा बालिकामाथि हिंसाविरुद्ध आमरण अनशन बसेपछि उनी भारतभर चर्चाको केन्द्रमा रहिन् । १० दिनसम्म चलेको उनको अनशनका कारण भारत सरकारले १० वर्षमुनिका बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने कानुन ल्याएको थियो । ‘मानव तस्करी नेपालको मात्र होइन, विश्वव्यापी समस्या हो । दिल्लीभित्रै पनि ठूलो संख्यामा मानव तस्करी हुने गरेको छ । त्यसैले यसलाई रोक्न नेपाल र भारत सरकारले मिलेर काम गर्नुपर्छ,’
स्वातीले भनिन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...