Friday 18th October 2024

कुवेत लैजाने बहानामा नेपाली युवतीहरूलार्इ भारतमा लगेर बेचिदै


तितोपाटी – वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ रामवन बस्ने १९ वर्षीया किशोरी वीरगञ्ज भन्सार नाका हुँदै जेठ २२ गते रक्सौल जाँदै थिइन् । शंकराचार्य गेट नजिकै बसेको माइती नेपाल वीरगञ्जको टोलीको आँखामा परिन् उनी । सोधपुछ गर्दा थाहा भयो, गाउँकै केटाले ललाइ फकाइ गरेर उनलाई कुवेत पठाउने भनेर लैजाँदै गरेको रहेछ ।

शुरुमा उनले केही पनि कुरा खोलिनन् । सीमा क्षेत्रमा खटिएका परामर्शकर्ताहरुले धेरे समय केरकार गरेपछि थाहा भयो कि उनलाई दिल्ली हुँदै कुवेत पठाउने भनिएको रहेछ । कुराकानीको क्रममा उनले नागरिकता र पासपोर्ट बनाउन गाउँकै अर्जुन भन्ने केटाले सहयोग गरेको र पासपोर्ट बनाएको भोलिपल्टै भारत जान लागेको जानकारी दिइन् ।

उनीसँगै काभ्रे र मोरङका अन्य किशोरीहरु पनि थिए । माइती नेपाल र प्रहरी मिलेर उनीहरुलाई दिल्ली पुर्‍याउन भनेर भारत लैजाने इटहरी घर भएकी कमला प्याकुरेललाई नगद २४ हजारसहित नियन्त्रणमा लिन सफल भयो । प्याकुरेलविरुद्ध मानव बेचविखनको मुद्दा चलिरहेको छ । उनी थुनामा छिन् । घटनामा संलग्न अन्य फरार छन् । प्रहरीले उनीहरुको खोजी भइरहेको बताउँछ ।

गत जेठ २४ गते पनि सीमा क्षेत्रमा खटिएका माइती नेपालकै टोलीको आँखामा तीन जना अधवैंशे महिला परे । ४९ वर्ष, ३६ वर्ष र ४२ वर्षका ती महिलाहरु कुवेत जान भनेर काठमाडौंबाट रक्सौल जान आएका थिए । उनीहरुलाई पनि दिल्लीबाट कुवेत पठाउने भनिएको थियो । हेटौंडा, चितवन र नवलपरासी घर भएका महिलाहरुको साथमा पासपोर्ट भने थिएन । सुरुमा उनीहरुले रक्सौलमा समान किन्न जान लागेको भनेर ढाँटे । पछि उनीहरुले वास्तविक कुरा खोलेका थिए । दलालको नाम बताउन नसकेपनि उनीहरुलाई उद्दार गरेर परिवारको जिम्मामा लगाइएको माइती नेपाल वीरगञ्ज शाखाले जनाएको छ ।

यी प्रतिनिधि घटनाहरु मात्र हुन् । पछिल्लो समय भारतको बाटो हुँदै कुवेत लगायत तेस्रो मुलुक लैजाने बहानामा मानव बेचविखन शुरु भएको माइती नेपाल वीरगञ्जकी प्रमुख संगिता पुरीले बताइन् । ‘पछिल्लो समयमा कुवेत पठाउने प्रलोभनमा धेरै महिलाहरुलाई बेचबिखनका लागि भारत लैजाने काम भइरहेको छ । कतिपय महिलाहरुसँग त पासपोर्ट समेत हुँदैन,’ उनले भनिन्, ‘महिलाहरु कुरै नबुझी प्रलोभनमा परिरहेको देखिन्छ । हामीले देखे-भेटेसम्म त परामर्श गर्ने, आवश्यक परे प्रहरीको सहयोग लिएर उद्दार समेत गर्दै आएका छौं ।’

त्यसरी आउने महिला तथा किशोरीहरुसँग राहदानी समेत नहुने गरेको उनको अनुभव छ । ‘नेपालबाट भारत हुँदै तेस्रो मुलुक जान लागेका महिलाको साथमा पासपोर्टसमेत हुँदैन । लिएर जाने मानिससम्म प्रहरी पुग्न सकेको छैन,’ उनले भनिन्, ‘महिलाहरु अझै जोखिममा छन्, यसरी महिलाहरुलाई तेस्रो मुलुकमा बेच्न पल्केका दलालले विश्वासमा पारेर फसाउन सक्ने सम्भावना अझै छ ।’

सहारा र अभिभावक नभएका महिलाहरु बेचविखनको बढी जोखिममा देखिएको माईती नेपाल वीरगञ्ज शाखाको कार्यालय सहायक एलिशा श्रेष्ठले जानकारी दिईन् । ‘हामीले उद्दार गरेका महिलाहरुमा श्रीमान नभएको, श्रीमानले दोस्रो श्रीमती ल्याएर छोडेको महिलाहरु धेरै छन्,’ उनले भनिन्, ‘दलालहरुले सहजै जालामा पार्न सक्ने भएकोले त्यस्ता महिलाहरुलाई रोज्दा रहेछन् ।’

माइती नेपाल वीरगञ्ज शाखाले चालु आर्थिक वर्ष २०७४/७५ मा हालसम्म १८ वर्षसम्मका ८५ जना किशोरी र १८ वर्षभन्दा माथिका १ सय ३३ जना महिलाको उद्धार गरिसकेको छ । जसमा २० जना भारतबाट र १ सय ९८ जना सीमा क्षेत्रबाट उद्धार गरिएका हुन् । जसमध्ये २ सय ६ जनालाई पारिवारिक पुनरमिलन गराइएको र बाँकी १२ जनामध्ये केहीलाई माइती नेपालको केन्द्रीय कार्यालय, हेटौंडा र इटहरी शाखामा पठाइएको छ ।

जुन अघिल्लो आर्थिक वर्षको १२ महिनामा भएको उद्धारभन्दा झण्डै १३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा १८ वर्षसम्म ८२ जना किशोरी र १८ वर्षभन्दा माथिका १ सय ११ जना महिलाको उद्धार गरिएको थियो । जसमा १२ जना भारतबाट र १ सय ८१ जना सीमा क्षेत्रबाट उद्धार गरिएका थिए । जसमध्ये १ सय ८६ जनालाई पारिवारिक पुनरमिलन गराइएको र बाँकी ७ जनालाई माइती नेपालको केन्द्रीय कार्यालयमा पठाइएको थियो ।

आर्थिक वर्ष २०७४/७५ मा संस्थाले सीमा क्षेत्रमा १६ हजार २ सय ९५ जनालाई परामर्श गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा भने १४ हजार ५ सय ५९ जनालाई परामर्श गरिएको माइती नेपाल वीरगञ्ज शाखाले जनाएको छ ।

वीरगञ्जमा माइती नेपाल जस्तै केआई नेपाल र साना हातहरु नामक संस्थाहरुले पनि मानव बेचविखनविरुद्ध काम गर्दै आएका छन् । ती संस्थाहरुले पनि किशोरी तथा महिलाहरुको उद्धार गर्दै आएका छन् । बेचविखनको जोखिममा रहेका किशोरी तथा महिलाको उद्धार र परामर्शहरु भईरहे पनि दलालहरु भने पक्राउ पर्न नसकेको देखिएको छ । जसले गर्दा मानव बेचविखनमा सक्रिय सञ्जाल तोडन सकिएको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्सामा ३ वर्षमा मानव बेचविखन विरुद्ध १६ वटा मुद्दा दर्ता भएको छ । प्रहरीले तीन वर्षमा ६ जना महिलासहित २९ जना पुरुष विरुद्ध मानव बेचविखन विरुद्ध मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

आइडीएफले आफ्ना सैनिकहरूले रफाहमा हमास नेतालाई मारेको पुष्टि गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने, हमासका नेता याह्या सिनवारको हत्याले इरानको नेतृत्वमा…

आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैंको टीका र जमरा लगाउने…

सियोल: उत्तर कोरियाले मङ्गलबार दुई कोरियाबीचको कडा सुदृढ सिमानाको आफ्नो छेउमा रहेको अन्तर-कोरियाली सडक र रेल लाइनका भागहरू विस्फोट गराएको…

प्रतिकृयाहरू
...