Monday 23rd March 2026

अमेरिकामा १८ जना अाप्रवासी नेपाली पक्राउ


तितोपाटी – ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन्।

मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ।

त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्य-अमेरिकी देशहरूका आप्रवासी रहेको एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जानकारी दिएको छ।

सो संस्थाले इनोभेसन ल ल्याब नामक अर्को संस्थासँग मिलेर थुनामा राखिएका आप्रवासीहरूलाई सहायता गर्ने प्रयास गरिरहेको बताएको छ।

एउटा प्रेस विज्ञप्तिमा एसियन प्यासिफिक नेटवर्क अफ ओरेगनले भनेको छ, पक्राउ गरिएकाहरूलाई एक्लाएक्लै राखिएको छ र कानूनी अधिकारबाट उनीहरूलाई वञ्चित गरिएको छ।

उसका अनुसार उनीहरूलाई अनुवादकसँग सीमित पहुँच दिइएको छ र अहिलेको व्यवस्था अनुसार उनीहरूमाथि दुर्व्यवहार हुन सक्ने अवस्था छ।

चार दिनअघि अमेरिकी सांसदहरूको एउटा प्रतिनिधिमण्डलले उक्त कारागारको भ्रमण गरेको थियो।

त्यसमा रहेकी सांसद सुजन बोनामिचीले तारवारले घेरिएको उक्त जेलमा कडा सुरक्षा रहेको र त्यहाँस्थित आप्रवासीहरूसँग आफूले कुराकानी गरेको बताएकी छन्।

उनका अनुसार पक्राउ गरिएकाहरूले आफ्ना देशमा हिंसा वा गलत रूपमा कारबाही खेप्ने जोखिम रहेकाले शरण लिन अमेरिका प्रवेश गरेको बताएका थिए।

पक्राउ गरिएकाहरूलाई उनीहरूका भाषाका आधारमा समूह बनाएर राखिएको र उनीहरूमध्ये धेरैले वकिलसँग आफूलाई कुराकानी गर्न नदिएको बताएको बोनामिचीले जनाएकी छन्।

सेरिडानमा बन्दी बनाइएका शिख समुदायका मानिसहरूले सांसदहरूलाई भारतमा आफूहरूलाई धार्मिक पृष्ठभूमिका कारण अप्ठेरो रहेको उल्लेख गर्दै शरण खोज्न आएको बताएका थिए।

बोनामिचीको वेबसाइटमा राखिएको विज्ञप्तिमा भनिएको छ, “हामीले सुनेका कथाहरू मन छुने र पीडादायी थिए। शरण खोज्ने अधिकार भए पनि उनीहरूलाई अपराधीसरह व्यवहार गरिएको छ जुन गलत हो।”

उनले त्यहाँ रहेका नेपाली बन्दीहरूसँग पनि आफूहरूले कुराकानी गरेको उल्लेख गरेकी छन्।

-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...