सानो छँदा देखेथेँ ठुलै सपना केही गर्छु भनेर
बा-आमाको दुख पिडा जति सबै हर्छु भनेर ।।
बढ्दै गएँ पढ्दै गएँ अनि सफल भए पछि
खोजेँ रोजगार परिवारमा खुसी छर्छु भनेर ।।
राम्रो भन्दा पनि हाम्रोले अवसर पाउँछ भनि
भन्न सकिन उनकै पार्टीको र नाता पर्छु भनेर ।।
सोचेको थिइनँ नातावाद र कृपावादको अघि
विवस हुँदै मातृभुमि छोडि बसाइँ सर्छु भनेर ।।
यो विरानो मुलुकमा ज्यानै जोखिममा पारि
गर्दैछु संघर्ष थाहा छैन कुन बेला मर्छु भनेर ।।
कमला न्यौपाने -झापा हाल भक्तपुर