Sunday 18th January 2026

फर्जी कागजात बनाएर रूस जान लागेका ४४ नेपालीहरू अध्यागमनबाट फर्काइए


तितोपाटी – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद रूपमा रुस जान लागेका ४४ जना नेपालीलाई प्रस्थान अनुमति (डिपार्चर) दिन इन्कार गरेको छ। दुबईको सारजाह हुँदै रुसको राजधानी मस्को जान लागेका ४४ यात्रुको यात्रा र कागजपत्रसमेत शंकास्पद देखिएपछि त्रिवि अध्यागमनले उनीहरूलाई फिर्ता (अफ लोड) गरेको हो। उनीहरूले नेपालस्थित रुसी दूतावासबाट पर्यटक भिसा लिएका थिए।

भिजिट अब्रोड ट्राभल्स एन्ड टुर्सका नवराज धितालको नेतृत्वमा एस ट्राभल्स एक्सप्रेस सर्भिसका तर्फबाट ६३ जना यात्रु मस्को जान लागेका थिए। त्यसमध्ये ४४ जना रोकिए भने धितालसहित बाँकी १९ जना रुस पुगिसकेका छन्। एस ट्राभल्स एक्सप्रेस सर्भिस प्रालिको ब्रान्डिङ नाम ‘एस ट्राभल्स डटकम’ हो। नक्कली कागजपत्र बनाएर अवैध ढंगले सर्वसाधारणलाई रुस लैजान खोज्नुले ट्राभल एजेन्सी नै मानव तस्करीमा संलग्न भएका त छैेनन् भन्ने प्रश्न उठेको छ।

रुस घुमाउन लैजाने भिजिट अब्रोड ट्राभल्सले प्रत्येकलाई नक्कली परिचयपत्र बनाइदिएको छ। अध्यागमनबाट फर्किएकाहरूले भिजिट अब्रोड ट्राभल्सले आफूहरूलाई नक्कली परिचयपत्र बनाइदिएको बताएका छन्। रुस घुम्न मात्र जानेहरूलाई नक्कली परिचयपत्र बनाइदिएको विषयले समेत ट्राभल एजेन्सीको भूमिकामाथि शंका उब्जिएको छ।

घुम्न जाने नेपालीहरूको पहिलो गन्तव्य रुस नहुने भन्दै अध्यागमनले आइतबार उनीहरूलाई फिर्ता गरेको हो। ‘कागजात भएका र भ्रमणको उद्देश्यसमेत स्पष्ट भएका यात्रुलाई रोकिएको छैन। शंकास्पद यात्रुलाई मात्र रोकिएको हो’, अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले भने। आफूहरूले रुस घुम्न जान व्यवस्थापकीय जिम्मेवारी मात्र लिएको एस ट्राभल्सका म्यानेजर राजु पन्तले बताए। ‘टिकट, भिसा र होटल बुकिङको काम मात्र हामीले गरेका हौं। अन्य विषयबारे हामी जिम्मेवार छैनौं’, उनले भने।

रोकिएका ४४ जनाले सोमबार अध्यागमन विभागमा गएर आफूहरू जान पाउनुपर्ने दाबी गरेका थिए। यस सम्बन्धमा अध्यागमन विभागले मंगलबार नेपालस्थित रसियन दूतावास, भिजिट अब्रोड ट्राभल्स एन्ड टुर्स र एस ट्राभल्स डटकमका अधिकारीसँग छलफल गरेको छ। विभागले अहिले उनीहरूको यात्रा र कागजपत्रबारे अनुसन्धान थालेको छ। अनुसन्धानपछि मात्र रोकिएकाहरू रुस जान पाउने÷नपाउने टुंगो लाग्ने उपाध्यायले बताए।

रुस जान त्रिवि अध्यागमन पुगेका उनीहरूले डेस्क अधिृकतले सोधेका कतिपय प्रश्नको उत्तरसमेत दिन सकेनन्। उनीहरूले बोकेको परिचयपत्रसमेत एकै किसिमको र शंकास्पद पाइएको छ। डेस्क अधिृकतले उनीहरूले देखाएको परिचयपत्रका आधारमा इन्टरनेटमा उनीहरू कार्यरत संस्थाको नाम, परिचयपत्रमा उल्लिखित पद खोज्दासमेत भेटिएन। त्यसपछि अध्यागमनले उनीहरूको यात्रा थप शंकास्पद र रहस्यमय ठहर गरेको थियो। पछि त्रिवि अध्यागमनले आवश्यक कागजपत्र अध्यागमन विभागमा पठाएर उनीरूलाई त्यहीँ सम्पर्क गर्न भनिएको थियो। परिचयपत्रका आधारमा अध्यागमन अधिकृतले सोधपुछ गर्दा कतिपयले ती परिचयपत्र ट्राभल एजेन्सीले बनाइदिएको बताएका छन्।

विगतमा मस्को गएका अधिकांश नेपालीलाई त्यहाँको अध्यागमनले फिर्ता (इन्ट्री रिफ्युज) गरेको विषयलाई दृष्टिगत गरी त्रिवि अध्यागमनले उनीहरूलाई रोकेको हो। प्रस्थान अनुमित दिँदासमेत मस्को छिर्न कठिन हुने र ट्रान्जिटमा भएका बेला सारजाहबाटै गन्तव्य परिवर्तन गर्न सक्नेसमेत सम्भावना देखिएकाले उनीहरूलाई विमानस्थलमै रोकिएको अध्यागमनका एक अधिकृतले बताए।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...