Sunday 29th March 2026

हुम्लामा बहुपति प्रथा नमाने अंश नपाइने


तितोपाटी – हुम्लामा सात वर्षअघि भागी विवाह गरेका तञ्जन लामा ससुराली गाउँमा कोठा लिएर बस्दै आएका छन्। मजदुरी गर्दै जीविकोपार्जन गरिरहेका उनले भाउजूलाई पत्नीका रूपमा स्वीकार नगर्दा पुख्र्यौली अंशबाट वञ्चित हुनुपरेको हो। पत्नी, एक छोरा र एक छोरीसहित सदरमुकाममा बस्दै आएका उनले घरबाट अन्य सहयोग पनि नपाएको जनाए। सिमकोट ३, लिमाटाङका लामाको सदरमुकाममा पुख्र्यौली घर पनि छ। त्यो उपयोग गर्न उनी वञ्चित छन्।

हुम्लामा यसरी बहुपति प्रथा उल्लंघन गर्ने उनी मात्र एक्ला भने होइनन्। जसलेआफूखुसी विवाह गरे उनीहरूलाईघरपरिवारले अझै स्वीकार गरेको छैन तर पनि बहुपति प्रथाको विरुद्धमा धेरै युवा उभिन थालेका छन्।

सिमकोट ४, बुराउ‘सेनीका नरेन्द्र लामाका पाँच दाजुभाइ आफूखुसी एकल विवाह गरेर एक्लाएक्लै बस्दै आएका छन्। बहुपति प्रथा अँगालेका बुराउँसेका लोटई लामाले दुई दाजुभाइका दुई छोरालाई बाध्य नपारिएको बताए। ‘जेठोको विवाह भइसकेको छ, कान्छाको मगनी भइसकेको छ,’ उनले भने, ‘एकल विवाह गर्न थालेपछि परम्परागत रूपमा मगनी गरेर विवाह गर्ने चलन विस्तारै कम हुँदै छ।’ बुराउँसेनीकै छिरिङ लामाका पनि पाँच भाइ छन्। सबै भाइले छुट्टाछुट्टै विवाह गरेका छन्। आफ्नो गाउँमा अब चार/पाँच परिवारमा मात्र बहुपति प्रथा रहेको उनले बताए।

‘भाउजूलाई अस्वीकार गर्दै घरबाट विद्रोह गरेका कसैले पनि पुख्र्यौली घरबाट अंश पाएका छैनन्,’ लामाले भने, ‘सबैले आफंै कमाएर जीवन निर्वाह गर्दै आएका छन्।’ उनका अनुसार कतिपयले आफ्नै परिश्रमबाट सदरमुकाममा घरसमेत बनाइसकेका छन्।
छुट्टै भागी विवाह गर्ने अधिकांश युवाले घरबाट अंश नपाउँदा पनि घरमा अंश दाबी गरेका छैनन्। लामा जातिमा अंश मुद्दा विरलै पर्ने गरेको छ। उनका अनुसार देवरले विवाह गर्दा भाउजूले पनि सौता ल्याएसरह ठान्छन्। त्यसैले पनि तत्काल पुरुषहरू पुख्र्याैली घरमा जान नसक्ने उनको भनाइ छ।

उत्तरी भेगको उच्च हिमाली भेगमा बसोबास गर्दै आएका लामा जातिमा परम्परादेखि नै प्रचलनमा आएको बहुपति प्रथा विस्तारै हराउँदै गएको छ। पछिल्लो पुस्ताले बहुपति प्रथाप्रति अरुचि देखाएपछि परम्परागत प्रथा हराउँदै गएको हो। बौद्ध धर्मावलम्बी लामा जातिका पाका मानिसले अझै पनि यो प्रथा अँगालिरहेका छन्। नयाँ पुस्तामा अस्वीकार गर्ने बढ्दै जाँदा बहुपति प्रथा नमान्ने ९५ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ।

‘पहिले खेती पनि धेरै थियो, धेरै पशु पाल्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘त्यो समयमा भाइभाइका भागमा भेडाबाख्रा तथा अन्य चौपाया हुन्थे। कामकाजमा रहँदा व्यस्त रहनुपथ्र्यो, भेटघाट हुँदैनथ्यो।’ उनका अनुसार कुनै भाइ भेडाबाख्रा पालन गर्दै हिउँद अछाम र वर्षामा भोट जान्थे। कुनै भाइ गाईबस्तु लिएर खर्क जाने गर्दथे भने कसैले घर सम्हाल्थे। सबै दाजुभाइको सम्पत्ति सगोलमा हुने भएकाले पनि बहुपति प्रथाको चलन थियो।

बहुपति प्रथामा दाजुभाइको सामूहिक विवाह हुने भए पनि पत्नीमाथिको मुख्य अधिकार जेठाको हुन्थ्यो। जुनसुकै भाइबाट जन्मिएका भए पनि बच्चाले जेठोलाई बुबा र अन्य भाइलाई काकाको साइनो लगाएर सम्बोधन गर्दथे। कुन बच्चा कसको हो भन्ने कुरा महिलाले छुट्याउने चलन छ। त्यसरी जन्मेका सबै भाइको पनि एउटै पत्नी हुने चलन थियो। बहुपति प्रथा हुँदा महिलाले विवाह गर्न पुरुष नपाउने समस्या थियो।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...