प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गरेरपनि सर्मनाक हार बेहोरेको राप्रपा प्रजातान्त्रिक मूल राजनीतिक प्रवाहबाहिर रहेको छ । कमजोर अवस्थामा रहेको राप्रपा प्रजातान्त्रिकको आगामी रणनीति, एजेण्डाका साथै समसामयिक विषयमा केन्द्रीय रहेर पार्टीका महामन्त्री सुनील थापासँग फणिन्द्र नेपालले गरेको कुराकानीको सम्पादित अंशः
राप्रपा प्रजातान्त्रिक मूल राजनीतिक धारबाट बाहिरिएको छ । अब कसरी अघिबढ्ने सोच बनाएको छ ?
निर्वाचमा हाम्रो पक्षमा जस्तो नतिजा आयो, त्यो नतिजा निराशाजनक थियो । यसो हुनुमा चुनावका बेला पार्टी फुट्नु एउटा कारण थियो भने अर्को छोटो समय । योसँगै कतिपय कार्यकर्तामा अन्योल हुँदा पनि हाम्रो पक्षमा नतिजा आएन । तर यति हुँदाहुँदै पनि हामीले लिएको अवधारणा, सिद्धान्त र नीति कायमै छ भन्नेमा हामी ढुक्क छौँ । यसलाई जोगाउँदै अघि बढ्नुको हामीसँग अर्को विकल्प छैन ।
तपार्इंहरूका सिद्धान्त, नीति र अवधारणा कायमै छन् भन्ने आधारलाई कसरी पुष्टि गर्नुहुन्छ ?
निर्वाचनपछि पनि हाम्रा ७७ वटै जिल्लाका नेता कार्यकर्ता कोही पनि पार्टी छोडेर अन्त गएका छैनन् । योभन्दा ठूलो आधार के हुन सक्छ ? यसले के देखाउँछ भने हामीप्रतिको आस्था अझै पनि छ । अब यिनै नेताकार्यकर्तालाई परिचलन गरेर हामी देशव्यापी रूपमा सङ्गठन बढाउनतर्फ केन्द्रित हुन्छौँ ।
नीति र सिद्धान्तले मात्रै नहुने रहेछ भन्ने कुरा त निर्वाचन परिणामले देखाइसक्यो नि ?
मैदानमा उत्रनु छ भने हातहतियार र सिपाही हुनु अनिवार्य छ । तर गत निर्वाचनमा हामीले गठबन्धनका कारण हातहतियारसहितका सिपाही मैदान उतार्न सकेनौँ । १६५ निर्वाचन क्षेत्रमध्ये चार स्थानमा मात्रै हाम्रा उम्मेदवार भए भने प्रदेशमा पनि एक दुई स्थानमा मात्रै खुम्चियौँ । यसो हुँदा हाम्रा कार्यकर्तालाई भोट माग्न जान नै समस्या भयो ।
यसको अर्थ गठबन्धन गरेको दलले धोका दियो भन्ने निष्कर्ष हो ?
होइन, म त्यसो भन्दिनँ । धोका दिएकोे प्रमाण कही छैन । बरु, सहमतिमा जाँदा हामीले कडा शर्त राख्न सकेनौँ भन्दा हुन्छ । जुन सहमतिमा हामी गयौँ, त्यो हाम्रा लागि अपुग भयो ।
पूर्वपञ्चहरूका पार्टी भनेर चिनिने तीनवटै राप्रपा संसद बाहिर पुगेपछि पार्टी एकीकरणको व्यापक गृहकार्य भइरहेको छ भन्ने सुनिन्छ, पार्टी एकताको गृहकार्य कसरी अघि बढ्दैछ ?
पूर्वपञ्च भन्ने शब्दप्रति मेरो असहमति छ । हिजो पञ्चायतकालमा विभिन्न शक्ति केन्द्रमा पुगेका नेताहरू आज पनि सबैजसो पार्टीमा छन् । अनि राप्रपाहरूलाई मात्रै पूर्वपञ्चहरूको पार्टी भन्नु उपयुक्त हुन्न । राप्रपाले त पञ्चायतको अनुहार नै देखेन । पञ्चायत मेरर जलाएपछि मात्रै राप्रपाको जन्म भएको हो ।
एकीकरणको प्रश्नमा हामी विभिन्न कालखण्डमा जुट्दै र फुट्दै आएको सत्य हो । तत्कालीन समयमा राप्रपा र राजपाले परिवर्तनलाई आत्मसात गरे । तर राप्रपा नेपाल हामीभन्दा फरक थियो । उसले संवैधानिक राजसंस्थाको वकालत ग¥यो । पछिल्लो समय राप्रपा पृष्ठभूमिका पार्टी एक बनाएर त्यो पृष्ठभूमिका मतदाता एकत्रित गरेर अघि बढ्यो भने एउटा शक्तिशाली कन्जरभेटिभ पार्टी बन्छ भन्ने मान्यताले राप्रपा नेपालसँग एकीकरण गरियो । त्यो एकीकरण केही बाधा व्यवधानका कारण धेरै टिकेन छुट्टिनुप-यो ।
पछिल्लो चरणमा खासगरी सैद्धान्तिकभन्दा पनि पशुपति शमशेर राणा र कमल थापाको स्वार्थ नमिलेपछि पार्टी फुट्यो भन्दा गलत हुन्छ ?
त्यो आआफ्नो तरिकाले बुझ्ने कुरा भयो । कसैलाई नीतिमा चित्त बुझेन होला, कसैलाई व्यक्ति मन परेन होला भन्न सकिन्छ । तर पार्टी फुट्नुमा जसरी एउटा बाउ भएर जस्तो जिम्मेवारी निभाउनुपर्ने हो त्यो नभएपछि पार्टी फुट्न बाध्य भयो । यसमा केही सैद्धान्तिक फ्याक्टरले पनि काम गरेको छ ।
एकीकरणका बेला राप्रपा नेपालको झण्डा र राप्रपाको हलो राख्ने पहिलाको सहमति कार्यान्वयन नभएपछि पार्टी फुटेको हो । त्यो मात्रै होइन, डा. लोहनीलाई एउटा नीति आयोग बनाएर संयोजक बनाउने कुरा पनि कमल थापाले कार्यान्वयन गरेनन् । विश्वासको सङ्कट पैदा भयो । त्यसकारण उहाँ पनि जानुभयो । विभिन्न कालखण्ड र परिस्थितिले राप्रपा यसैगरी फुट्दै र जुट्दै आएको छ ।
ठूला कम्युनिस्ट पार्टी एकीकृत भइसके तर पनि तपाईंहरू भने अझै तीनवटै चुला बालेर कति समय बस्नुहुन्छ ?
२०६२/०६३ सालमै स्वर्गीय सूर्यबहादुर थापाले नेपालमा एउटा सशक्त लोकतान्त्रिक प्रजातान्त्रिक पार्टी, सङ्गठन या मोर्चाको आवाश्यक्ता छ भन्नुभएको थियो । त्यसका लागि उहाँले नेपाली काङ्ग्रेसले अग्रसरता लिएर अघि बढ्नुपर्छ भनेर स्पष्ट भन्नुभएको हो । त्यही धारणाका आधारमा राप्रपा, राष्ट्रिय जनशक्ति पार्टीबीच एकता भएको थियो । तर दरिलो भने भएको थिएन र पुनः फुट्न पुग्यो । अहिले दुईवटा बाम शक्ति मिलिसकेपछि त झन् त्यसबेला सूर्यबहादुर थापाले भनेको कुरा अझ बढी सान्दर्भिक भइसकेको छ । अब तीन चुलो मात्रै होइन, काङ्ग्रेससहित चारवटै चुलो एउटै बनाउनुपर्ने भइसक्यो ।
त्यसका लागि त काङ्ग्रेस पनि तयार हुनुपर्ला नि ?
आवाश्यक भइसक्यो । त्यो पक्का हो । नेपालको इतिहासमा नेपाली काङ्ग्रेस सबैभन्दा पुरानो र ठूलो पार्टी हो । ७७ वटै जिल्लामा प्रजातान्त्रिक सञ्जाल बोकेको पार्टी भएको हुनाले अब उहाँहरूले आवाश्यक्ता र अनिवार्य हो भनेर सबैलाई समेटेर लैजानुपर्छ ।
काङ्ग्रेससँग पार्टी एकता नै गर्ने प्रस्ताव हो वा कार्यगत एकता ?
कार्यगत एकता । भारतमा नेसनल डेमोक्रेटिक एलाइन्स छ । युनाइटेड प्रोगेसिभ एलाइन्स छ । आआफ्नो अस्तित्व बोकेर हामीले समान दृष्टिकोण भएकाहरू एकजुट हुँदै साम्यवादलाई परास्त गरी प्रजातान्त्रिक पद्धति बसाउनुपर्ने हुन्छ । त्यसका लागि हामी एक ठाउँमा उभिन सक्छाै । तर त्यो उभियाइ केन्द्रमा मात्रै होइन, स्थानीय तहबाटै हुनुपर्छ ।
निर्वाचनमा गरेको कार्यगत एकता ‘असफल’ देखिसकियो । फेरि त्यही प्रयोगले कहाँ पुगिएला ?
सरल र सबैले बुझ्ने भाषामा भन्नुपर्दा त्योबेला हाम्रो मागी विवाह भयो । अब चाहिँ लभ नै गर्ने हो । मागी विवाहमा चिनजान हुँदैन । एकैपटक जग्गेमा होमिनुपर्छ । अनि कसरी मिल्ती हुन्छ । त्यसकारण तलैदेखि अन्डरस्ट्यान्डिङ गरेर प्यार गरेर गइयो भने दिगो हुन्छ ।
त्यसो भए बामहरूलाई ठेगान लगाउन तपाईंहरू काङ्ग्रेसको नेतृत्वमा विपक्षीहरूको गठबन्धन बनाउने तीव्र तयारीमा हुनुहुन्छ ?
तीव्र तयारी त नभनौँ तर आवाश्यक्ता महसुस भएको छ । यथार्थ पनि यही हो । गणतन्त्र आएपछि पनि नै राप्रपाले रामचन्द्र पौडेललाई १६ पटक मत हालेको हो नि । त्यो किन त भन्दा नेपालमा एउटा प्रजातान्त्रिक प्रोसेस बलियो होस् भनेर नै हो । त्यसकारण काङ्ग्रेसले पनि यो विषयलाई गम्भीर मनन गरेजस्तो मलाई अनुभूत भएको छ ।
कार्यगत एकताका लागि काङ्ग्रेससँग पनि कुरा भएको छ ?
अनौपचारिक रूपमा त भइसकेको छ । तर औपचारिक रूपमा हुन बाँकी छ । प्रजातन्त्रका लागि लडेको यति ठूलो पार्टी सातवटा प्रदेशमा कहीँ सरकार बनाउने हैसियतमा रहेन । यस्तो अवस्थामा उसलाई झन् बढी आवश्यक छ भन्ने मेरो बुझाइ हो ।
काङ्ग्रेसले आफैभित्रको किचलो त सल्ट्याउन सकेको छैन, त्यसमाथि तपाईंहरूसँगको एकता कति सम्भव होला ?
अब काङ्ग्रेस त्यसरी अल्मलिने होइन, अभ्यास सुरु गर्नुप¥यो नि । घरभित्रको झगडा घरभित्रै मिलाएर अघि नबढी सुखै छैन । घरभित्रको झगडा मिलाएर, छिमेकीसँग वार्ता गर्ने हो ।
काङ्ग्रेसभन्दा पनि मैले जान्न चाहेको यो चुनावपछि तपाईंहरू तीनवटा राप्रपा चाहिँ के गर्दैहुनुहुन्छ भन्ने हो ?
राप्रपा र एराप्रपा राष्ट्रवादीको कुरा त उहाँहरूलाई नै थाहा होला । हाम्रो सवालामा भन्नुपर्दा हामी हाम्रो घर बलियो बनाउने काममा व्यस्त छौं । हिजो हामी छुट्टिएर आउँदा कमजोर थियौँ । त्यो चुनावले पनि देखाएको छ । यो बुझेर देशव्यापी सङ्गठन बढाउने अभियानमा लागेका छौँ । त्यसका लागि उच्च स्तरीय कार्यसमिति बनेको छ । त्यसले स्पष्ट मार्गनिर्देशन दिन्छ त्यसैअनुसार अघि बढ्छौँ ।
नीति पुरानै, विचार पुरानै, नेता पुरानै अनि जनताले फेरि तपाईंहरूसँग के अपेक्षा गर्ने र साथ दिने नि ?
सबैका विचार पुरानै हुन् । कसको विचार नयाँ छ ? माओवादीले भनेको सङ्घीयता र गणतन्त्र भन्ने नयाँ थियो । त्यो पनि यो १७ वर्षको दौडानमा पुरानो भइइसक्यो तर हामीमाथिको आस्थामा कुनै कमी छैन । भोलि मुलुकका लागि प्रजातान्त्रिक शक्ति नै चाहिन्छ । के अब मुलुकलाई साम्यवादकै बाटोमा धकेल्ने ? कि चेक एन्ड ब्यालेन्सका लागि प्रजातान्त्रिक शक्तिलाई बलियो बनाउने भनेर हामीले हाम्रा विचार जनतामा लैजान्छौ । नीति नयाँभन्दा पनि व्यवहार नयाँ हुनुपर्छ भनेर नयाँ मुहान खोज्दै छौँ ।
कहिले नयाँ मुहान खोज्ने भन्नुहुन्छ, कहिले राजतन्त्र, कहिले गणतन्त्र भन्दै दौडनुहुन्छ । यो त दिशाहीन र गन्तव्यहीन यात्रा भएन र ? जनताले कसरी विश्वास गर्ने ?
विश्वास नगर्ने भए बहुदलपछि नै दुई पटक राप्रपाकै नेता प्रधानमन्त्री हुन्थे ? जनताले नै भोट दिएर प्रधानमन्त्री भएका हुन् । जहाँसम्म राजतन्त्र र गणतन्त्रको कुरा गर्दा तत्कालीन राप्रपा र अहिलेको राप्रपा प्रजातान्त्रिकको स्पष्ट धारणा बोकेको छ । जनताले दिएको म्यान्डेट र परिवर्तनलाई आत्मसात हामी गर्छौं, गरेका छौँ ।
यही दोधारे नीतिका कारण यो हालमा हुनुहुन्छ, अब स्पष्ट भन्नुस् त तपाईंहरूको नीति राजतन्त्र मान्ने हो वा गणतन्त्र ?
राजतन्त्र र गणतन्त्र भन्ने कुरा त संविधानले नै प्रष्ट पारिसकेको छ । जब कि यो संविधान हामीले मानिसकेका छौँ । यस्तो बेलामा पनि अब कुन नीति भन्नै पर्दैन । जनताले ल्याएको गणतन्त्रलाई म्यान्डेटलाई अघि बढाउनका लागि आत्मसात गर्नैपर्छ । जनताको विपक्षमा गएर हामी केही गर्न सक्दैनौँ ।
तर नीति भन्दैमा मान्छेका आआफ्नै स्वभाव र स्वतन्त्रता पनि हुन्छन् । काङ्ग्रेसमा पनि राजतन्त्र मान्ने मान्छे त धेरै छन् नि । एमालेमा पनि छन् । त्यो आफ्नो आस्थाको कुरा हो । तर आस्था छ भन्दैमा जनताको मतलाई अस्वीकार गर्न मिल्दैन । हो, जनमत सङ्ग्रहको कुरा पनि आएको थियो । उतिबेला कसले कल्पना गरेको थियो र पञ्चायतमाथि पनि जनमत सङ्ग्रह हुन्छ भनेर ? समय र जनताको इच्छाको कुरा महत्वपूर्ण हुन्छन् ।
तपाईं गणतन्त्र स्वीकारेको भन्नुहुन्छ तर पार्टीको घोषणापत्रमा चाहिँ परम्परागत शक्ति मान्ने भनेर ‘राजा चाहिन्छ’ भन्ने सङ्केत गर्नुभाछ ?
हामीले घोषणपत्रमा परम्परागत शब्द राखेका छाँै । त्यो भनेको परम्परागत विधि, धर्म संस्कृति हो । हाम्रो लिबरल कन्जरभेटिभ पार्टी हो । यो भन्ने वित्तिकै हामीले हाम्रो पहिचान खोज्छौँ । हाम्रा पहिचान केके हुन त भन्दा हिन्दु राज्य, जातजाति, पुर्खाका देन हुन् । यी सबैलाई समेट्नुपर्छ भन्ने हो, जगेर्ना गर्नुपर्छ भन्ने हो ।
केही समय पहिले तपाईंको पार्टीका नेताहरू झापा पुगेर पूर्वराजालाई भेटेका थिए नि, किन रहेछ त्यो भेट ?
त्यो ठूलो कुरा होइन । त्यसो हो भने राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पूर्वराजा शाहलाई भेटेकी छन् नि । राष्ट्रपति भण्डारीले शीतलनिवासमा बोलाएर भोज खुवाउनुभयो भने उहाँ आफै पनि सोल्टी होटलमा जानुभएन र ? यो सामाजिक कुरा र राजनीतक कुरामा फरक हुन्छ ।
तर त्यस्ता भेटघाटलाई सामाजिक मात्रै मान्न सकिन्छ, केही फरक पर्दैन र ?
फरक परे पर्न दिनुस् । अरू के भन्ने, केही भन्न सकिन्न । राजासँग मेरो सम्बन्ध छ र मैले भेट्दैमा यहाँ ठूलो केही परिवर्तन हुने त होइन । राजाले पुराना इष्टमित्र भेट्न चाहिबक्स्यो र बोलाइबक्स्यो । राष्ट्रपतिले छोरीको बिहेमा निम्तो गर्नुभयो । राजाले पनि नातिको ब्रतवन्धमा राष्ट्रपतिलाई बोलाइबक्स्यो । यो त हाम्रो सामाजिक सम्बन्ध हो । यस्ता सामाजिक कार्य भइरहन्छन् । यसैलाई ठूलो विषय बनाउन जरुरी छैन ।
अन्तिममा भनिदिनुस्, तीनवटा राप्रपा एकीकरण हुने चर्चामा कति सत्यता छ ? यदि सत्य हो भने केके गृहकार्य भएको छ ?
अहिलेसम्म मिल्ने कुनै अभ्यास भएको छैन । कमल थापाको पार्टीबाट वातावरण बनाउन बुद्धिमान तामाङको नेतृत्वमा एउटा कमिटी बनाएको भन्ने समचार आएको मैले पनि सुनेको हो । त्योभन्दा बढी केही भएको छैन । टिम बनाउँदैमा एकता भइहाल्छ भन्ने हुँदैन । त्यसका लागि त ठोस कुरा हुनुप-यो नि ।
कमल थापाले राजसंस्था भन्दै आएका छन् तपाईंहरू गणतन्त्र छोडदैनौँ भन्नुहुन्छ, अनि कसरी मिल्ला त पार्टी ?
यात्राका क्रममा डेस्टिनेसन तय गर्न सकिन्छ । त्यो आपसी सहमतिमा हुने हो । पहिला यात्रा तय गर्नुपर्छ अनि मात्रै त्यो कुरा खोज्ने हो । यात्रा नै तय नगरी कहाँ बास बस्ने भनेर भन्नु उपयुक्त नहोला ।
-रातोपाटीबाट