भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् आयोजना विरुद्धको आन्दोलन हिंसात्मक बनेपछि सुरक्षा अवस्था तनावपूर्ण भएको छ। चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रस्थित सियाङ नदीमा निर्माण गर्न लागिएको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’को विरोधमा उत्रिएका स्थानीय प्रदर्शनकारी र प्रहरीबीच शुक्रबार राति झडप भएको हो।
झडपका क्रममा प्रदर्शनकारीहरूले प्रहरी चौकी, सरकारी कार्यालय तथा सरकारी स्वामित्वको जलविद्युत् कम्पनी एनएचपीसीको कार्यालयमा तोडफोड गरेका छन्। केही स्थानमा आगजनीसमेत भएको बताइएको छ। साथै, निर्वाचित जनप्रतिनिधिहरूका घरमा तोडफोड र लुटपाट पनि भएको प्रदेश सरकारले जनाएको छ।
ढुंगा प्रहारबाट करिब ४० जना प्रहरी घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। घटनापछि प्रदेशका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
मुख्यमन्त्री पेमा खाण्डुले हिंसात्मक गतिविधिको निन्दा गर्दै आन्दोलनकारीलाई वार्ताको माध्यमबाट आफ्ना माग राख्न आग्रह गरेका छन्। उनका अनुसार प्रदर्शनका क्रममा ठूलो मात्रामा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेको छ।
उक्त आयोजना भारतले चीनद्वारा तिब्बत क्षेत्रमा निर्माण गर्न लागिएको विश्वकै ठूलो जलविद्युत् परियोजनालाई ध्यानमा राख्दै अघि बढाउन खोजेको हो। भारतको भनाइमा, चिनियाँ बाँधले ब्रह्मपुत्र नदीको तल्लो तटीय क्षेत्रमा पानीको प्रवाह घटाउन सक्ने भएकाले जलस्रोत सुरक्षाका लागि आफ्नै ठूलो जलाशय आवश्यक छ।
तर स्थानीय समुदायले भने आयोजना निर्माण भए आफ्ना घरजग्गा डुबानमा पर्नुका साथै हजारौं मानिस विस्थापित हुन सक्ने भन्दै विरोध जनाउँदै आएका छन्। उनीहरूले आफ्नो परम्परागत भूमि, संस्कृति र वातावरणीय सन्तुलनमा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरेका छन्।
यस घटनाले भारत र चीनबीच लामो समयदेखि कायम सीमा विवाद र क्षेत्रीय संवेदनशीलतालाई फेरि एकपटक उजागर गरेको छ। चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा दाबी गर्दै आएको छ भने भारतले उक्त क्षेत्र आफ्नो अभिन्न भूभाग भएको बताउँदै आएको छ। दुवै देशले सीमा क्षेत्रमा उत्पन्न तनावलाई कूटनीतिक तथा सैन्य संवादमार्फत नियन्त्रणमा राख्ने प्रयास जारी रहेको बताएका छन्।