अफ्रिकी मुलुक सुडानमा पछिल्ला केही दिनयता भएका ड्रोन आक्रमणहरूमा १६० भन्दा बढी मानिसको ज्यान गएको छ। चिकित्सक र मानवअधिकार समूहहरूले दिएको जानकारीअनुसार आक्रमणहरूमा बालबालिकासहित ठूलो सङ्ख्यामा सर्वसाधारण नागरिक प्रभावित भएका छन्।
सुडानको राजधानी खार्तुममा सोमबार भएको ड्रोन आक्रमणमा तीन बालबालिकाको मृत्यु भएको ‘इमर्जेन्सी लयर्स’ नामक नागरिक निगरानी समूहले जनाएको छ। यसैबीच, शुक्रबारयता देशका पश्चिमी क्षेत्रमा भएका विभिन्न आक्रमणहरूमा १६० भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ।
सबैभन्दा ठूलो क्षति आइतबार साँझ पश्चिम कोर्दोफान राज्यको अल-दब्बा सहरमा भएको ड्रोन आक्रमणमा भएको थियो। स्थानीय बासिन्दा र स्वास्थ्यकर्मीहरूका अनुसार बजार सकिएपछि घर फर्किन सवारी कुर्दै भेला भएका मानिसहरूलाई लक्षित गर्दै आक्रमण गरिएको थियो। घटनास्थलमै ८० जनाको मृत्यु भएको जनाइएको छ।
घाइते ४७ जनालाई नजिकैको अल-मुज्लाद सहरमा उपचारका लागि लगिएको थियो। तीमध्ये थप ३० जनाको उपचारका क्रममा मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ।
यस आक्रमणको जिम्मेवारीबारे दुवै पक्षबीच आरोप–प्रत्यारोप भइरहेको छ। आरएसएफ समर्थित प्रशासन ‘टासिस’ र ‘इमर्जेन्सी लयर्स’ले सरकारी सेनालाई दोष दिएका छन्।
यसैबीच, पूर्वी सुडानको गदारिफ राज्यस्थित अतबारा र सेतित बाँधलाई लक्षित गरी आरएसएफले पठाएका ड्रोनहरू सेनाले खसालेको दाबी सैन्य स्रोतहरूले गरेका छन्। आरएसएफले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
सोमबार बिहान दक्षिण दारफुरको राजधानी न्यालामा पनि अर्को ड्रोन आक्रमण भएको छ। आरएसएफको बलियो प्रभाव रहेको उक्त क्षेत्रमा भएको आक्रमणमा सात आरएसएफ अधिकारीसहित १७ जनाको मृत्यु भएको र २३ जना घाइते भएको जनाइएको छ।
यसअघि शुक्रबार ब्लु नाइल प्रान्तमा विस्थापित नागरिक भेला भएको स्थानमा आरएसएफको ड्रोन आक्रमण हुँदा ४१ जनाको ज्यान गएको थियो। मानवअधिकार समूहहरूले यसलाई गम्भीर मानवीय त्रासदीको संज्ञा दिएका छन्।
संयुक्त राष्ट्रसंघले पनि सुडानभर भइरहेका ड्रोन आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान दुजारिकले सर्वसाधारण, विशेषगरी बालबालिका, आक्रमणको सिकार भइरहेको र अत्यावश्यक सेवाहरू प्रभावित भएको बताएका छन्।
चार वर्षदेखि जारी गृहयुद्ध
सुडानमा सन् २०२३ अप्रिलमा सेना प्रमुख अब्देल फताह अल-बुर्हान र आरएसएफ प्रमुख मोहम्मद हम्दान डगालो (हेमेद्ती) बीच शक्ति संघर्ष चर्किएपछि गृहयुद्ध सुरु भएको थियो।
युद्ध चौथो वर्षमा प्रवेश गरिसकेको छ। द्वन्द्व अनुगमन संस्था एसीएलईडीका अनुसार हालसम्म कम्तीमा ५९ हजार मानिसको मृत्यु भइसकेको छ। सहायता संस्थाहरूले वास्तविक मृत्यु संख्या अझ बढी हुन सक्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार युद्धका कारण करिब १ करोड ३० लाख मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्, जसले विश्वकै सबैभन्दा ठूलो मानवीय सङ्कटमध्ये एक अवस्था सिर्जना गरेको छ।
सुडानभर अहिले ३ करोड ३७ लाख मानिसलाई तत्काल खाद्य सहायता आवश्यक रहेको छ। तीमध्ये १ करोड ७३ लाख बालबालिका छन्। साथै, करिब ८ लाख २५ हजार बालबालिका गम्भीर कुपोषणको जोखिममा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
https://www.aljazeera.com/news/2026/10/19/160-reported-killed-in-escalating-drone-attacks-across-sudan