युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न युक्रेनलाई कठिन बनाएको छ।
पछिल्लो रुसी आक्रमणमा मिसाइल अभावका कारण धेरै ब्यालिस्टिक मिसाइल रोक्न नसकिएको बताइएको छ। रुसले किभ र खार्किभका ऊर्जा संरचनामा आक्रमण गरेको थियो। किभमा चार जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग थप प्याट्रियट मिसाइल उपलब्ध गराउन आग्रह गरेका छन्। उनले रुसको आक्रमणबाट देशलाई जोगाउन थप हवाई सुरक्षा आवश्यक रहेको बताएका छन्।
यसैबीच, रुसी तेल प्रशोधन केन्द्रमाथि युक्रेनले गर्दै आएको आक्रमण रोक्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच तनाव बढेको छ।
युक्रेनले सैन्य कामका लागि प्रयोग भइरहेको स्टारशिल्ड सेवामा पनि समस्या आएको जनाएको छ। सेवा केही हदसम्म सञ्चालनमा आए पनि पूर्ण रूपमा सामान्य भइसकेको छैन।