Monday 12th October 2026

बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन,


बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा

गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको उद्धार तथा प्रभावितलाई राहत उपलब्ध गराउन सरकारले सुरक्षा निकायसहित विभिन्न प्राविधिक र स्वास्थ्य टोली परिचालन गरेको छ। मन्त्री महावीर पुनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उद्धार, राहत वितरण, क्षतिको विवरण सङ्कलन र बाढीको कारण पत्ता लगाउने काम अघि बढाइएको छ।

मन्त्री पुनका अनुसार उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाका १२७, नेपाल प्रहरीका ८३ र सशस्त्र प्रहरी बलका १७७ जना सुरक्षाकर्मी परिचालन भएका छन्। यसैगरी, खोज तथा उद्धारका लागि नेपाली सेनाका तीनवटा विशेष टोलीसमेत खटाइएको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरिएको उनले बताएका छन्।

बाढी आउनुको कारण पत्ता लगाउन ड्रोन र भूगर्भविद्सहित तीन सदस्यीय टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। त्यस्तै, सडक तथा पुलको अवस्था निरीक्षण गर्न सडक विभागका महानिर्देशक र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली खटिएको मन्त्री पुनले जानकारी दिएका छन्।

प्रभावित क्षेत्रमा तत्काल आवश्यक राहत सामग्री सडक र हवाई मार्गबाट ढुवानी गर्ने काम भइरहेको छ। क्षतिको प्रारम्भिक मूल्याङ्कन गर्न सम्बन्धित विज्ञ तथा विभागीय प्रमुखलाई ड्रोनसहित हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पठाउने तयारीसमेत भइरहेको उनले बताएका छन्। स्वास्थ्य उपचार तथा आवश्यक सहयोगका लागि प्रदेशस्तरबाट स्वास्थ्य टोली पनि परिचालन गरिएको छ।

सडकमार्गमा अलपत्र परेका यात्रु तथा अन्य प्रभावित व्यक्तिलाई अस्थायी व्यवस्थापन र सहयोग उपलब्ध गराउन स्थानीय तहसँग समन्वय भइरहेको छ। उद्धार गर्नुपर्ने व्यक्तिहरूको विवरण सङ्कलन तथा अद्यावधिक गर्ने काम जारी रहेको र प्राथमिकताका आधारमा उद्धारको तयारी भइरहेको मन्त्री पुनको भनाइ छ।

यसैगरी, आरुघाट क्षेत्रका बासिन्दालाई आवश्यकताअनुसार उद्धार गर्ने व्यवस्था मिलाइँदै छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण सङ्कलन भइरहेको पनि मन्त्री पुनले उल्लेख गरेका छन्।

 


सम्बन्धित शीर्षकहरु

टर्कीको पश्चिमी मानिसा प्रान्तमा आइतबार पर्यटन बस र टो ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७…

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण भएको छ। साउदी अधिकारीहरूका अनुसार प्रहार भएको वस्तुले…

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

प्रतिकृयाहरू
...