नेपालीहरूको महान् चाड बडादशैं आइतबारदेखि विधिवत रूपमा सुरु भएको छ। वैदिक परम्पराअनुसार घटस्थापनाको शुभ अवसरमा हनुमानढोका दरबारस्थित दशैंघरमा बिहान ११ बजेर ४७ मिनेटको शुभसाइतमा मंगलधुन र तोपको सलामीका बीच जमरा राखिएको छ।
घटस्थापनासँगै बडादशैंको नौरथा आरम्भ भएको मानिन्छ। यस दिन पूजा कोठा वा दशैंघरमा पवित्र माटो र बालुवा राखी जौ, मकै वा धान छर्ने चलन रहेको छ। यिनै अन्नका बीउबाट उम्रने पहेँलो जमरालाई विजय, समृद्धि र शुभताको प्रतीकका रूपमा लिने गरिन्छ। विजयादशमीका दिन यही जमरा टीकासँगै ग्रहण गर्ने परम्परा छ।
हिन्दू धर्मावलम्बीहरूले घटस्थापनाको दिन घर–घरमा कलश स्थापना गरी दुर्गा भवानीको पूजा आराधना आरम्भ गर्छन्। नवरात्रका नौ दिनसम्म शक्तिकी अधिष्ठात्री देवी दुर्गाका विभिन्न स्वरूपको पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार देवी दुर्गाले असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजय स्थापित गरेकाले बडादशैंलाई विजयको पर्वका रूपमा मनाइन्छ।
यस वर्ष पनि घटस्थापनासँगै देशभरका शक्ति पीठ र देवी मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ। नवरात्र अवधिभर देशभरका शक्तिपीठहरूमा दुर्गा सप्तशती पाठ, चण्डी पाठ, भजन–कीर्तन तथा विशेष पूजाआजा गरिने परम्परा छ। दशैंका अवसरमा परिवार, आफन्त र समाजलाई एकताको सूत्रमा बाँध्ने तथा धार्मिक आस्थालाई बलियो बनाउने पर्वका रूपमा बडादशैंलाई नेपाली समाजमा विशेष महत्वका साथ मनाइन्छ।
घटस्थापनासँगै सुरु भएको बडादशैं आगामी विजयादशमी र कोजाग्रत पूर्णिमासम्म विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइनेछ।