लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल गरी कुल ६ वटा पुल बगाएका छन् भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।
बाढीले आरुघाट–त्रिपुरासुन्दरी जोड्ने पक्की पुल र सोती–मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ। त्यसैगरी धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज पनि बाढीले बगाएको छ।
बाढीबाट माछिखोला–केरौँजा, ठाडो भर्याङ–जगत तथा घट्टेखोला–फिलिम जोड्ने झोलुङ्गे पुलसमेत नष्ट भएका छन्। पुल बगेपछि उत्तरी गोरखाका धेरै बस्तीहरू सडक तथा पैदल आवतजावतबाट विच्छेद भएका छन्।
बाढीले चुमनुब्री गाउँपालिका–३ को पैयुँ र बगर क्षेत्रमा करिब ३५ घर बगाएको छ। साथै जगत, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि व्यापक क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतका काम जारी छन्। सम्पर्कविहीन व्यक्तिहरूको खोजी भइरहेको छ भने क्षतिको पूर्ण विवरण संकलन गर्ने कार्य पनि भइरहेको प्रशासनले जनाएको छ।
यसैबिच बूढीगण्डकी नदीमा आइतबार बिहान आएको विनाशकारी बाढीको मुख्य कारण अत्यधिक वर्षा मात्र नभई पहिरोले खोला थुनिएर (ड्यामिङ) बनेको अस्थायी ताल फुट्दा बाढी आएको हुन सक्ने प्रारम्भिक निष्कर्ष नेपाल मौसम विज्ञान विभागले निकालेको छ।