बागलुङको निसीखोला गाउँपालिका–३ मा आइतबार बिहान घरमाथिबाट पहिरो खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा श्यामकुमारी विक र उनका तीन छोरा मनोज विक, मुकेश विक तथा निसान विक रहेका छन्। लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा उनीहरूको ज्यान गएको हो।
घटनालगत्तै प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी उद्धारमा खटिएका थिए। पहिरो पन्छाएर केही बेरअघि चारै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
बागलुङसहित देशका विभिन्न क्षेत्रमा केही दिनदेखि लगातार वर्षा भइरहेका कारण पहिरो र बाढीको जोखिम बढेको छ। अधिकारीहरूले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।