मध्यपूर्वमा सुरक्षा र कूटनीतिक तनाव थप बढ्दै गएको छ। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान प्रान्तस्थित अरामको तेल केन्द्रमा आक्रमण गरी आगलागी गराएको दाबी गरेका छन्।
यता, इरानी राष्ट्रपति मसुद पेजेशकियानले ओमानमार्फत भइरहेको वार्ताबाट होर्मुज जलडमरूमध्यको समस्या समाधान हुने आशा व्यक्त गरेका छन्। उनले क्षेत्रलाई “न युद्ध, न शान्ति” को अवस्थाबाट बाहिर निकाल्नुपर्ने बताएका छन्।
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले होर्मुज जलमार्ग पुनः सञ्चालनका लागि अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्न र युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सर्त अघि सारेको छ।
उता, इजरायली सेनाले गाजा र दक्षिणी लेबनानमा सैन्य कारबाही जारी राखेको छ भने वेस्ट बैंकको बेथलेहेम क्षेत्रमा इजरायली बस्ती विस्तारकर्ताहरूले प्यालेस्टिनी घरहरूमा आक्रमण गरेको खबर सार्वजनिक भएको छ।