चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा विकास कूटनीतिलाई नयाँ गति दिएको बताएका छन्। चिनियाँ विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा जुन १४ देखि १७ सम्म सम्पन्न भ्रमणका क्रममा उनले चीनका उच्च राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग भेटवार्ता गर्दै द्विपक्षीय सहयोगका विविध आयाममा छलफल गरेका हुन्।![]()
बेइजिङमा सम्पन्न नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्तामा दुवै पक्षले आपसी मित्रता, विश्वास र सहयोगमा आधारित सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री खनालले नेपालको एक चीन नीतिप्रतिको अडान दोहोर्याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारेका थिए। जवाफमा चिनियाँ पक्षले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र विकास प्राथमिकताप्रति आफ्नो समर्थन पुनः व्यक्त गरेको थियो।
वार्तामा पूर्वाधार, कनेक्टिभिटी, ऊर्जा, व्यापार, लगानी, कृषि, सूचना प्रविधि, डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको थियो। यसैगरी विगतमा सहमति भएका परियोजनाहरूलाई शीघ्र कार्यान्वयन गर्ने तथा क्षेत्रीय र बहुपक्षीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्य बढाउने सहमति समेत भएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइसिङ तथा चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष वाङ्ग हुनिङसँग पनि भेटवार्ता गरेका थिए। भेटहरूमा नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुर्याउने, राजनीतिक सम्पर्क विस्तार गर्ने तथा आपसी हितका क्षेत्रमा सहकार्य बढाउने विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।
बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा मन्त्री खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्दै नेपाललाई दक्षिण एशियाको आकर्षक लगानी गन्तव्यका रूपमा प्रस्तुत गरेका थिए। उनले लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपालमा उपलब्ध आर्थिक सम्भावना र युवा जनशक्तिबारे जानकारी गराएका थिए।![]()
भ्रमणको अर्को महत्वपूर्ण पक्ष विज्ञान तथा प्रविधि क्षेत्रमा केन्द्रित रह्यो। मन्त्री खनालले Chinese Academy of Sciences अन्तर्गतको Institute of Tibetan Plateau Research को भ्रमण गरी हिमालय क्षेत्र, जलवायु परिवर्तन, हिमनदी संरक्षण तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा नेपाल–चीन वैज्ञानिक सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। उनले हिमनदीहरू तीव्र रूपमा पग्लिँदै गएको र यसले भविष्यमा दक्षिण एशियामा पानी संकट निम्त्याउन सक्ने चेतावनी समेत दिएका थिए।
यसैबीच उनले चीनको प्रमुख प्रविधि केन्द्र Zhongguancun Science Park को अवलोकन गर्दै नवप्रवर्तन, अनुसन्धान र प्रविधि हस्तान्तरणका क्षेत्रमा सहकार्यको सम्भावना खोजेका थिए। साथै बेइजिङस्थित अरनिकोद्वारा डिजाइन गरिएको ऐतिहासिक श्वेत स्तूप (डागोबा) को अवलोकन गर्दै नेपाल–चीनबीचको ऐतिहासिक सांस्कृतिक सम्बन्धको स्मरण गरेका थिए।![]()
परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा चिनियाँ, नेपाली तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग अन्तरक्रिया गर्दै नेपालको परराष्ट्र नीति, सरकारका प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धबारे धारणा राखेका थिए। उनका अनुसार भ्रमणले छिमेकी मुलुकसँग व्यावहारिक, सन्तुलित र सहयोगात्मक सम्बन्ध विस्तार गर्ने नेपालको नीतिलाई थप बल पुर्याएको छ।