Monday 27th April 2026

पेन्सनपछिको ‘दोस्रो इनिङ’: गाउँको रूपान्तरणमा समर्पित यानसिंह थापा


तितोपाटी- सैनिक जीवनबाट अवकाश पाएपछि धेरैजसो मानिसको जीवन शान्त, विश्राम र पारिवारिक दायरामा सीमित हुन्छ। कतिपय त सुख–सुविधा खोज्दै शहर पस्छन्। तर माथागढी–२, रुप्सेका यानसिंह थापाको जीवनकथा फरक छ। पूर्व भारतीय सैनिक थापाले अवकाशपछिको समयलाई समाज रूपान्तरण र स्थानीय विकासमा समर्पित गर्दै आफ्नो ‘दोस्रो इनिङ’ सुरु गरेका छन्। रुप्सेको सपाङ्दीमा जन्मिएका थापा लामो समयसम्म भारतीय सैनिकका  रूपमा भारतकै सुरक्षा जिम्मेवारीमा सक्रिय रहे। तर अवकाशपछि गाउँ फर्किएका उनी व्यक्तिगत आराममा मात्र सीमित भएनन्। ५० बर्षको उमेरमा उस्तै जोस, उस्तै सक्रियता, मरेको छैन जागर भन्छन ‘जति चल्यो, उति फुर्तिलो भइन्छ’ समाजसेवा र कृषिको धपेडीमा रमाउने थापाको आफ्नै जीवनदर्शन छ। उनका छोरा–बुहारी ब्रिटिस आर्मीमा आवद्ध भई विदेशमै छन्। आर्थिक रूपमा कुनै अभाव नभए पनि उनी दिनभर वडाको काम, बिद्यालयको निगरानी, श्रीमतीसंग आफ्नै बारीमा रमाउछन।

“वडा सदस्य भए पनि प्राय जसो वडा कार्यलय मै भेटिने थापा गाउँको घरमा त्यसै बस्नुभन्दा व्यस्त हुन रुचाउने बताउछन,” अनुहारमा मुस्कान छर्दै उनले आफ्नो सक्रियताको रहस्य खोले, “जति चल्यो उति फुर्तिलो भइन्छ। तसर्थ, पुगिसरी छ भनेर बसी खानु हुँदैन। जति काम गर्यो, उति स्वस्थ र निरोगी भइन्छ। आफू त लाहुरे मान्छे, ज्यानलाई त चलायमान राख्नैपर्छ।”

स्थानीय समुदायसँगको निरन्तर सहकार्यकै कारण थापा जनविश्वासको केन्द्र बने। यही विश्वासले २०७९ सालको स्थानीय तह निर्वाचनमा उनलाई वडा सदस्यको रूपमा जनप्रतिनिधि बनायो। उनको नेतृत्वमा कर्णधार माध्यमिक विद्यालयले अहिले काँचुली फेरेको छ। कुनै समय शैक्षिक र भौतिक रूपमा कमजोर रहेको विद्यालय आज सुधारिएको पूर्वाधार, गुणस्तरीय शिक्षा र बढ्दो विद्यार्थी संख्याका कारण स्थानीय तहमा उदाहरणीय बनेको छ। समाजसेवाका अतिरिक्त थापा कृषि क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। आफ्नो करेसाबारीलाई उनले सुन्दर फूलबारी र तरकारी खेतीमा रूपान्तरण गरेका छन्। मौसमी तथा बेमौसमी तरकारी उत्पादनमार्फत उनले स्थानीय युवाहरूलाई श्रमको सम्मान गर्न सिकाएका छन्। उनको यो जाँगर देखेर गाउँका चियापसलदेखि चौतारीसम्म एउटै चर्चा सुनिन्छ— “परिवर्तन देख्न यानसिंहको जस्तो जाँगर चाहिन्छ।” सैनिक अनुशासन, सामाजिक प्रतिबद्धता र कृषिप्रतिको लगावलाई संयोजन गर्दै थापा आज माथागढीका लागि प्रेरणादायी जन प्रतिनिधिको रुपमा चिनिएकाछन्। “सेवा कुनै पदमा मात्र सीमित हुँदैन, यो त निरन्तरको कर्म हो” भन्ने सन्देश उनको जीवनले दिइरहेको छ। छोरा–बुहारी विदेशमा भए पनि आफ्नो गाउँ, माटो र समाजका लागि केही गर्नुपर्छ भन्ने उनको सोच धेरैका लागि एउटा पाठ बनेको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्। गत फागुन २१ मा सम्पन्न निर्बाचनपछि समानुपातिक सांसद भएका आङ्देम्बेले…

तितोपाटी-स्थानीय तह निर्वाचन आउन एक वर्ष बाँकी छँदै राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी थालेको छ। रास्वपाले केन्द्रमा जस्तै स्थानीय तहमा पनि…

कुवेत सरकारले कुवेत अन्तर्राष्ट्रय विमानस्थल आज २३ अप्रिल २०२६ बिहिबारदेखि खुला गरिएको छ । गत फेब्रुअरी २८, २०२६ का दिनदेखि…

प्रतिकृयाहरू
...