Tuesday 25th August 2026

एनआरएनए निर्वाचन: विश्वभरका प्रतिनिधि काठमाडौँमा, भोलिदेखि मनोनयन दर्ता


गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका लागि विश्वका विभिन्न देशबाट प्रतिनिधिहरू धमाधम काठमाडौँ आइपुगेका छन्। आयोजक स्रोतका अनुसार शुक्रबारसम्म २०० भन्दा बढी प्रतिनिधि राजधानी आइपुगेका छन्।

विश्वभर फैलिएको नेपाली डायस्पोराको चासो र प्रतिस्पर्धाबीच हुने यस महाधिवेशनलाई निर्णायक र ऐतिहासिक रूपमा हेरिएको छ। यसपटक नयाँ नेतृत्व चयनका लागि अनलाइन र भौतिक दुवै माध्यमबाट मतदान गर्न सकिने व्यवस्था गरिएको छ, जसले व्यापक सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

निर्वाचन प्रक्रिया अन्तर्गत मनोनयन दर्ता भोलि (शुक्रबार) देखि औपचारिक रूपमा सुरु हुँदैछ। प्रमुख निर्वाचन आयुक्त तथा पूर्वन्यायाधीश तेजबहादुर कार्कीका अनुसार प्रारम्भिक मतदाता नामावलीमाथि परेको उजुरीहरूको छानबिन अन्तिम चरणमा पुगेको छ र छिट्टै अन्तिम मतदाता नामावली सार्वजनिक गरिने तयारी भइरहेको छ।

निर्वाचन समितिले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा अन्तिम मतदाता नामावली प्रकाशनमा एक दिन ढिलाइ हुन सक्ने भए पनि यसअघि सार्वजनिक गरिएको निर्वाचन तालिकामा कुनै हेरफेर नहुने स्पष्ट पारेको छ। “निर्वाचन निर्धारित कार्यतालिका अनुसार नै अघि बढ्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूले मार्च ६ देखि १० तारिखसम्म अनलाइन प्रणालीमार्फत वा स्वयं उपस्थित भई उम्मेदवारी दर्ता गर्न सक्नेछन्। तर उम्मेदवारी दर्तापछि हस्ताक्षर सनाखतका लागि उम्मेदवार स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

आगामी नेतृत्व कसको हातमा जाने भन्ने चासो बढ्दै जाँदा काठमाडौँमा राजनीतिक सरगर्मी समेत बढेको छ। महाधिवेशन नजिकिँदै जाँदा प्रतिनिधिहरूबीच भेटघाट, रणनीतिक छलफल तथा समर्थन जुटाउने गतिविधि तीव्र बनेको छ।


सम्बन्धित शीर्षकहरु

दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसंघ (यूएन) को गस्ती टोलीमाथि सशस्त्र समूहले आक्रमण गर्दा दुई शान्ति सैनिकको मृत्यु भएको छ।आक्रमणको…

नेपालको स्वास्थ्य बीमा कार्यक्रममा सहभागीको संख्या बढे पनि यसको वित्तीय दायित्व तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार…

अमेरिकाले करिब पाँच दशकपछि सिरियालाई “आतंकवाद प्रायोजक राष्ट्र”को सूचीबाट हटाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाली राष्ट्रपति अहमद अल-शाराले अन्तर्राष्ट्रिय…

प्रतिकृयाहरू
...