Saturday 17th October 2026

इरान–अमेरिका तनावबीच हिज्बुल्लाहको भूमिकामाथि प्रश्न


बेइरुत/तेहरान/तेलअभिव — इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीको चर्चा चुलिँदै जाँदा मध्यपूर्वको शक्ति–सन्तुलनमा इरानसमर्थित सशस्त्र समूह हिज्बुल्लाह को भूमिकामाथि नयाँ प्रश्न उठ्न थालेका छन्। सुरक्षा विश्लेषकहरूका अनुसार पछिल्ला महिनाहरूमा इजरायलले गरेको लक्षित हवाई आक्रमण र कमाण्ड संरचनामाथिको प्रहारले उक्त समूहको सैन्य क्षमतामा उल्लेखनीय क्षति पुगेको छ।

इजरायलले विशेषगरी हिज्बुल्लाहको रकेट तथा क्षेप्यास्त्र पूर्वाधारमाथि केन्द्रित आक्रमण तीव्र बनाएको बताइएको छ। पछिल्लो एक कारबाहीमा वरिष्ठ कमाण्डर हुसेन मोहम्मद यागी सहित कम्तीमा आठ सदस्य मारिएको इजरायली पक्षको दाबी छ। इजरायलका अनुसार नोभेम्बर २०२४ को युद्धविरामयता समूहको रकेट प्रहार क्षमता ७०–८० प्रतिशतसम्म कमजोर पारिएको र ४०० भन्दा बढी लडाकु मारिएका छन्।

यद्यपि हिज्बुल्लाहसँग अझै विभिन्न दूरीका हजारौं क्षेप्यास्त्र रहेको अनुमान गरिएको छ। यसैबीच हमास सँग सम्बन्धित संरचनामाथि पनि इजरायलले लेबनानको ऐन अल–हिल्वे शरणार्थी शिविर क्षेत्रमा कारबाही गरेको जनाएको छ।

इरान–हिज्बुल्लाह सम्बन्धमा दबाब

विश्लेषकहरूका अनुसार निरन्तर लक्षित हमलाले इरान र हिज्बुल्लाहबीचको रणनीतिक समन्वयमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको छ। परम्परागत रूपमा इरानको क्षेत्रीय “प्रोक्सी” शक्ति मानिने हिज्बुल्लाहलाई इरानी हित र सुरक्षा रणनीतिको अग्रपंक्तिमा राखिएको थियो।

तर इजरायलसँगको हालको शक्ति–असन्तुलन र प्रतिआक्रमणको सीमित क्षमताले उक्त समूहको प्रभावकारितामाथि पहिलोपटक खुला प्रश्न उठेको आकलन गरिएको छ। यदि इरान–अमेरिका प्रत्यक्ष सैन्य टकरावको अवस्था सिर्जना भए पनि हिज्बुल्लाहले निर्णायक रूपमा हस्तक्षेप गर्न सक्ने सम्भावना सीमित भएको विश्लेषकहरूको भनाइ छ।

बदलिँदो भूराजनीतिक सन्दर्भ

मध्यपूर्वीय सुरक्षा संरचना पछिल्ला वर्षहरूमा तीव्र रूपमा परिवर्तन हुँदै गएको छ। इजरायलको उन्नत निगरानी र सटीक आक्रमण क्षमताले इरानसमर्थित सशस्त्र सञ्जालहरूलाई बढी जोखिममा पारेको छ। यस्तो अवस्थामा हिज्बुल्लाहको दीर्घकालीन रणनीतिक भूमिका पुनर्मूल्यांकनको चरणमा पुगेको देखिन्छ।

कतिपय क्षेत्रीय टिप्पणीकारहरूका अनुसार यदि इरानले आफ्नो सुरक्षा संरचना पुनःपरिभाषित गर्‍यो वा अमेरिका–इरान सम्बन्धमा नयाँ सहमति बनेको अवस्थामा हिज्बुल्लाहजस्ता अर्धसैनिक संरचनाहरूको औचित्य झन् कमजोर हुन सक्छ।

लेबनानको आन्तरिक राजनीति प्रभावित

हिज्बुल्लाह लेबनानको शक्तिशाली सशस्त्र–राजनीतिक समूहका रूपमा स्थापित भए पनि निरन्तर सैन्य क्षति र बाह्य दबाबले भविष्यमा यसको राजनीतिक रूपान्तरण वा कमजोर हुँदै जाने सम्भावना बढाएको विश्लेषण गरिएको छ।


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...