स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ । नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । त्यसपछि लगातार दुई सुपरमा पनि स्कोर बराबरी भएपछि खेल तेस्रोपटक सुपर ओभरमा गएको थियो ।
पहिलो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले १९ रन बनायो। सुपर ओभरमा जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्सले पनि १९ रन बनाउँदा पहिलो सुपर ओभरमा पनि स्कोर बराबरी भयो भने खेल दोस्रो सुपर ओभरमा पुग्यो। दोस्रो सुपरओभरमा नेदरल्यान्ड्सले १७ रन जोड्यो भने जवाफमा नेपालले पनि १७ रन जोडेसँगै खेल तेस्रो सुपर ओभरमा पुगेको थियो ।
तेस्रो सुपर ओभरमा नेपालले कुनै पनि रन जोड्न सकेन । नेपालका कप्तान रोहित पौडेल र रुपेश सिंह कुनै पनि रन नजोडी आउट हुँदा नेदरल्यान्डसले १ रनको लक्ष्य पाएको थियो । नेदरल्यान्डसले पहिलो बलमै छक्का प्रहार गर्दै नेपालमाथि तेस्रो सुपर ओभरमा जित निकाल्न सफल भए सँगै खेल नेदरल्यान्ड्सले जित्न सफल भएको हो ।