धनुषाको लक्ष्मीनियाँमा नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला जलाउँदै उनलाई कडा कारबाहीको माग गरेको छ । नेपाली कांग्रेसका मधेस प्रदेशका सांसद कुमरकान्त झाको नेतृत्वमा लक्ष्मीनियाँमा जनकपुर-ढल्केबर सडक अवरुद्ध पार्दै लिङ्देनको पुत्ला जलाइएको हो । सांसद झाले संसदमा झुठा अभिव्यक्ति दिएर भ्रम फैलाउने लिङ्देनलाई कडा कारबाही गर्न सरकारसंग माग गरे । लिङ्देनले हिजो संसदमा भाटभटेनी लुटपाटमा सत्तारुढ दल कांग्रेसकै सह-महामन्त्रीको छोरा पनि थिए, तर प्रहरीले छाडेको अभिव्यक्ति दिएका थिए ।
राजावादीको तीनकुने प्रदर्शनको क्रममा प्रदर्शनकारीले भाटभटेनी लुटपाट गरेको थियो । यद्यपी लिङदेनले कांग्रेसका एकजना सहमहामन्त्रीका छोरा भने पनि कसैको नाम लिएका थिएनन् । केही मिडिया र सामाजिक संजालमा महेन्द्र यादवको छोरा मुकेश यादव भनेर नाम आएपनि उनका मुकेश नामका छोरा छैनन् ।कांग्रेस सह-महामन्त्री यादवका छोराद्वय विकास र आकाश दुबै डाक्टर छन् । उनीहरु देश बाहिर छन् । तर उनको संलग्नता रहेको आरोप लगाएपछि धनुषा कांग्रेस आन्दोलित बनेको छ ।
झुठा अभिव्यक्ति दिएर राप्रपा अध्यक्ष लिङ्देनले सह-महामन्त्री यादवको चरित्र हत्या गरेकाले उनलाई कानूनी दायरामा नल्याए आफूहरु चुप लागेर नबस्ने कांग्रेस नेताहरुले चेतावनी दिएका छन् ।
-नेपालप्रेसबाट