त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा सम्पन्न स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ तर्फबाट सचिव पदका लागि उम्मेदवारी दिएका सुशिल बस्यालले ऐतिहासिक जित हासिल गरेका छन्। उनी १८५ मतान्तरले भारी मतले ५१७ मत प्राप्त गरी विजय भएका हुन्। यो निर्वाचन सुशिल बस्यालका लागि जीवनकै पहिलो हो, जसलाई सफल राजनीतिक सुरुवातको रूपमा हेरिएको छ।
उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत प्राप्त गरे भने अनेरास्ववियुका उम्मेदवार दिपेश ज्ञवालीले २७१ मत ल्याएका छन्। कुल १२२८ मतदाता रहेको क्याम्पसमा १२२८ मत खसेको थियो, जसमा बस्यालले स्पष्ट रूपमा विजयी भएर आफ्नो लोकप्रियता र नेतृत्व क्षमताको परिचय दिएका छन्।
सचिव पदसहित अन्य पदमा पनि नेपाल विद्यार्थी संघका उम्मेदवारहरूले प्रभावशाली जीत हासिल गरेका छन्। कोषाध्यक्ष पदमा मिस्मा राना र सदस्य पदमा आशिका विश्वकर्मा, ज्योती दर्लामी, तोरन रास्कोटी, नबिन थापा, बबिता थापा र सुलभ भट्टराई विजयी भएका छन्।
विपरीत, क्याम्पसको सभापति पदमा अखिल क्रान्तिकारीका उम्मेदवार मिलन घर्ती मगरले ऐतिहासिक जित हासिल गरेका छन् भने प्रत्यक्ष सदस्यमा इच्छा थापा अखिल क्रान्तिकारीबाट विजयी भएकी छन्।
हिरो अफ द इलेक्सनको चर्चामा आएका सुशिल बस्याल केवल ‘एक घर एक लालिगुँरास अभियानका अभियन्ता मात्र होइनन्, सामाजिक सेवा, धार्मिक क्षेत्रमा समेत सक्रिय रहेका छन्। उनले ‘राष्ट्रप्रेमी’ बोलको गीत गाएर राष्ट्रप्रेमी भावना फैलाउने काम गरेका छन्।
उनी देउराली अनलाइनका सम्पादकका रूपमा कार्यरत छन् । निष्पक्ष पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका उनी नेपाल प्रेस युनियनका सदस्य पनि हुन् ।
साहित्य र सांस्कृतिक गतिविधिमा रुचि राख्ने बश्याल शीत काव्य समाजका जिल्ला सचिव, नेपाल लेखक संघका जिल्ला सदस्य तथा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका जिल्ला सदस्य हुन् ।
साथै, उनले परिवर्तनका लागि युवा पुस्तकको सम्पादनसमेत गरेका छन् ।
धार्मिक तथा सांस्कृतिक गतिविधिमा समेत उनी उत्तिकै सक्रिय छन् । विश्व हिन्दु महासंघ बगनासकालीका सचिवका रूपमा उनले विभिन्न धार्मिक कार्यक्रमहरूमा योगदान दिएका छन् । सामाजिक जागरुकता अभिवृद्धि गर्दै आएका उनले विद्यार्थी समुदायलाई समेट्ने विभिन्न अभियान सञ्चालन गरेका छन् ।
उद्घोषण क्षेत्रमा समेत उनी चर्चित छन् । सामाजिक तथा सांस्कृतिक कार्यक्रममा उद्घोषकका रूपमा सक्रिय रहेका बश्यालले विभिन्न औपचारिक कार्यक्रममा उद्घोषण गर्ने गर्छन् !
विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय रहेका बश्यालले अब स्ववियु सचिव पदका लागि उम्मेदवारी दिएका छन् । उनी विद्यार्थी हकहितको रक्षा, क्याम्पस विकास र सकारात्मक परिवर्तनका लागि कटिबद्ध छन् । विद्यार्थी राजनीति भनेको केवल व्यक्तिगत उन्नति वा दलगत स्वार्थको विषय नभई समग्र विद्यार्थी समुदायको उत्थानका लागि आवश्यक कदम भएको उनको धारणा छ ।
उनको यो ऐतिहासिक जितले क्याम्पसमा नयाँ राजनीतिक ऊर्जा र सक्रियताको संकेत दिएको छ। भविष्यमा सुशिल बस्यालले क्याम्पस राजनीति र सामाजिक क्षेत्रमा के-कस्तो योगदान गर्नेछन् भन्ने कुरा निकै रोचक बन्नेछ।