Tuesday 26th November 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय दस भाग (११०)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०९/०२
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : कोलाकोला, खोला, गोला, घोला, चोला, छोला,झोला, तोला, धोला, भोला, होला, रोला आदि मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

नौ महिना गर्भमा शरीर बिग्रेको होला बाबै
मनमा नैतिकता भन्ने कुरा भए छोला बाबै
आमा भई जन्मिन कठिन छ, बुझ्नु है बालक
आत्तिदाँ अफैँ डराउँदै भन्दै कोलाकोला बाबै
प्रसव पीडा कति है बगे रगत खोला बाबै ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

भन्न जत्तिकै गर्न उत्ति गाह्रो होला राजा
मौकामा आफन्तको नि भर्नु छ झोला राजा
सोझो औँलाले घिउ आउदैन सत्या कुरा
बारम्बार पाइन्न यो मनुष्य चोला राजा
सत्कर्मले बिसाउ जीवनको झोला राजा ।

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

पञ्चाङ्ग ३

साथमा भयो भने हरिनामको झोला
आशिष पाइने हजुर ढुक्क हुनु होला
प्रभु नामले जग चलायमानछ सधैं नै
हामीले पाएकाछौँ यो मानिस चोला
जगतलाई मायागर्ने मापनहोस् तोला ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग ४

बल्ल पो पाएको मानिसको चोला एक
नबुझी बगर नबनाऊँ खोला एक
भव्यताको शिखर त उक्लने बित्तिकै
उपहार साँचेको पृथक झोला एक
आयुर्वेद लिई निको गानु गोला एक ।

जमुना आचार्य सिन्धुपाल्चोक

पञ्चाङ्ग ५

हाम्रो पबित्र जल खोला बनाएर बग्छ
सुख्खा मरुभूमिमा तोला बनाएर बग्छ
गन्तव्य उहीँ हो उसलाइ सुम्पदै लगे
सबैमा पुग्ने एक झोला बनाएर बग्छ
चक्र उसमा जुनि चोला बनाएर बग्छ ।

गणेश पौडेल
कालिका ६ चितवन।

पञ्चाङ्ग ६

आँसुले बगेको खोला कस्तो होला
जन्मसँगै मृत्यु चोला कस्तो होला
कहिले उकाली कहिले ओराली
जिन्दगी बोकेको झोला कस्तो होला
कैलासमा रम्ने भोला कस्तो होला ?

– आर्त अकुलीन

पञ्चाङ्ग ७

कहाँ रोकिन्थ्यो नि एकैछिन पनि बगिरहने खोला न पर्यो
गएपछि गयो गयो आएन फर्केर मान्छेको चोला न पर्यो
सम्झनामा भरि पारेर बिदाइ गरेको थिएँ निस्ठुरीलाई,
आँखाबाट पो चुहियो तप्प तप्प त्यो त मायाको घोला न पर्यो
सम्झना चुहिएरै सकिने जीवन नै मायाको झोला न पर्यो ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ८

यो जिन्दगी लाग्छ बगेको खोला जस्तै
लोभ पापको भाडाे नभर्ने झोला जस्तै
किन लाग्छ स्वार्थी दुनियाँ पनि अचेल
तेरो र मेरो भन्ने मान्छेको चोला जस्तै
किन्न नसक्ने महँगो सुन तोला जस्तै ।

तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा
खांदबारी ३

पञ्चाङ्ग ९

आज सङ्गै भए पनि भोलि कतातिर।
काम कुरो एकतिर बोली कतातिर।
यस्तै त हो भर कत्ति छैन जिन्दगीको,
एकातिर झोलुङ्गो छ खोली कतातिर।
एकातिर बन्दुक छ गोली एकातिर ।।

चट्ट मिलेको शरीर कोकाकोला जस्तै।
चाल पनि नागबेली बग्ने खोला जस्तै।
केही छैन खोट लाग्ने ठाउॅ सुन्दरीको,
बोली पनि अति मिठो मनै छोला जस्तो।
उनैसङ्ग मेरो नाता होला होला जस्तो।

घनश्याम पौडेल,, पोखरा

पञ्चाङ्ग १०

त्यस्तो बासी खादा रोगले छोला है सानु
यो बाढीमा होसले तर्नु खोला है सानु
एक्लै हिडेकी छौ आमा हुँ म पीर लाग्छ
धेरै नखानु नि त्यो कोकोकोला है सानू
कतै नि नछाड्नु आफ्नो झोला है सानु ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग ११

सुक्नेवाला खहरे वा वर्षे कुन खोलाको कुरा गर्छौ
कुरै नसुन्ने जमाना आए कुन चोलाको कुरा गर्छौ
तिमी हामी सोझासाझा भएर के गर्नु र प्रिय मित्र
भ्रष्टले पेट नै भरिसके कुन झोलाको कुरा गर्छौ
रति पनि पाउन गार्हो छ ,कुन तोलाको कुरा गर्छौ ?

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १२

जीवन बगीरहन्छ एकनासले खोला जस्तो
अरु कुनै छैन मानवको अनौठो चोला जस्तो
गरिएर हेर्दा आफैँको अचम्मित बनाउँछ
ईस्वरले फुर्सदमा सृष्टि रचेको होला जस्तो
मनमा कतै तरङ्गीत भावनामा छोला जस्तो ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १३

हुर्किनलाई खुब मच्चिने डोला पाएँ
अत्ति नै सुन्दर मनुष्यको चोला पाएँ
सौगात पाइरहेँ समय समयमा
जीवन धान्ने तरिका तोला तोला पाएँ
बसोबासका निम्ति यो तिर-खोला पाएँ ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १४

जिन्दगी पसिनाको खोला रहेछ
यो आफ्नो प्राण एक तोला रहेछ
खै कतिबेला जान्छ हुँदैन थाहा
बुझ्नै नसक्ने मान्छे भोला रहेछ
रित्तै आउँने जाने चोला रहेछ ।

सुरेशकुमार पाण्डे
घोराही १८दाङ

पञ्चाङ्ग १५

नाङ्गो पाउ सोला जान्छ भन्ने डर छ
रगतको खोला जान्छ भन्ने डर छ
जसो तसो जीवन परेको छ धान्न
भारी बोक्दा गोला जान्छ भन्ने डर छ
दुःखै दुःख चोला जान्छ भन्ने डर छ ।

सरिता सेढाई धादिङ
पञ्चाङ्ग १६

जिन्दगीको परिभाषा फेरिएर हो कि
समस्याले जताततै घेरिएर हो कि
न त खोला न त चोला बदलियो मित्र
कर्तव्यको भुमरीले बेरिएर हो कि
भाग्यरेखा आफैँ आफ्नो केरिएर हो कि?

महेन्द्र मान बलामी
द.न.पा-९ फर्पिङ ,हुँडु दाउरेचौर ।

पञ्चाङ्ग १७

खोला तरी सकेपछि लौरो पनि भुल्छन् कोही
त्यसैले त भनिन्छ स्वार्थमा मात्र चुल्छन् कोही
अर्कोचोटी चाहिँ चाहिँदैन जस्तो गर्छन् लौरो
खै कुन दुनियाँमा सजिलोसँग डुल्छन् कोही
चटक्कै माया मारेर कहिकतै झुल्छन् कोही ।

पृथक प्रकृति,झापा

पञ्चाङ्ग १८

समय चलिरहन्छ है खोला जस्तै
जीवन मृत्यु हाम्रो एक चोला जस्तै
बिकाशका लागि सोच फेरिनु पर्छ
रहरहरु नभरिने झोला जस्तै
राखौ र आशा म उन्नति होला जस्तै ।

सुस्मिता अधिकारी ,काठमाडौँ

पञ्चाङ्ग १९

जिउमा कालो चोला रहेछ
धुन जाने त खोला रहेछ
यो मन बुझाउने कसरी ,
हातमा बाला तोला रहेछ
लाउन सक्ने भोला रहेछ ।।

धनमाया चौधरी कैलाली

पन्चाङ्ग २०

खहरे मिसिएको खोला हुनसक्छ
प्राण बग्ने प्राणीको चोला हुनसक्छ
शरीर राम्रो देखाउने छालाले हो
प्राणीमा रगतको घोला हुनसक्छ
प्राण ओजन एक तोला हुनसक्छ ।

सूर्य गिरी पोखरा

पञ्चाङ्ग २१

हाम्रा बिगारेछौ जब ती नदी नाला खोला सबै
गिट्टी बालुवा बेचेर आफ्नो भरेछौ झोला सबै
साझा सम्पति सबैको प्रकृति तिमीले मासेको
टुलुटुलु हेरेर यहाँ बस्ने को छन् भोला सबै
एकएक गरेर त्यसको हिसाब होला सबै ।

टीकाराम जोशी, टीकापुर।

पञ्चाङ्ग २२

मान्छे गर्छ मेहनत सधैँ राम्रो होला भनी
लागेको दिनरात काममा भर्न झोला भनी
मेहनत नगरेपछि कहाँ भेटिन्न पैसा
मान्छेले बुझेकै छ हुन्न पैसाको खोला भनी
तौल किलोमा सुन किनिन्छ आना तोला भनी ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग २३

जनताहरूले धेरै नै बगाए रगतको खोला भन्छन्
जनता मारेरै ठूला ठूला नेताले भरे झोला भन्छन्
देशको राजनीति उथुल् पुथुल भएर वर्षौं वर्ष
आज भोलि त निकै भो चल्न छोड्यो बारूद गोला भन्छन्
अब भने पक्कै पनि देशमा राम्रै हुन्छ होला भन्छन् ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग २४

दिन बगिरहने त्यो खोला जस्तो
शहरको सब्जी किन्ने झोला जस्तो
जन्मेपछि एक दिन जाने सबै
अजम्बरी हुन्न मर्ने चोला जस्तो
दिगम्बर बनौँ बरु भोला जस्तो ।

भगवती दवाडी

पञ्चाङ्ग २५

पिरानो भएपछि फ्याँलिने जीवन झोला रहेछ
खुशीमा हाँसो जस्तै दुखमा आँसुको खोला रहेछ
बाँच्नको लागि नै हो हरेक प्राणिको संघर्ष यात्रा
ढिलो चाँडो मात्र हो एकदिन मर्ने चोला रहेछ
सृष्टि सञ्चालन गर्ने उनै गौरी र भोला रहेछ
संगीता खरेल
चन्द्रागिरी वडा ८ मातातिर्थ
काठमाडौँ

पञ्चाङ्ग २६

यस्तै छ हजुर गरिबको चोला परदेश जाँदैछु
नास्ता यो आधापेट खाएर छोला परदेश जाँदैछु
श्रीमतीले बुझ्दिन नि घर खर्च कसरी टार्यो भनी
भन्छिन् उनी सधैँ सुन एक तोला परदेश जाँदैछु
अब बोकेर काँधमा रित्तो झोला परदेश जाँदैछु ।

मनोज राना सल्यानि
बन्गाड कुपिण्डे ३ सल्यान

पञ्चाङ्ग २७

जीवन हाम्रो बगी जाने खोला रहेछ
ढुङ्गा मात्रै बटुलिने यो झोला रहेछ
चाहे जस्तो हुँदैन कहिल्यै किन होला
जे चाहन्नँ त्यही हुने यो चोला रहेछ
आफैँ ध्वस्त पार्ने आगाको गोला रहेछ ।

✍श्रीकृष्ण शर्मा पोखरा


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’…

सुरक्षा अधिकारीहरूले हालै गरेको मूल्याङ्कनअनुसार १०१ बन्धकहरूमध्ये केही विदेशी कामदारहरू समेत ५० जना अझै जीवित रहेको विश्वास गरिएको छ। एक…

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा तीन जनाको मृत्यु भएको छ ।…

प्रतिकृयाहरू
...