Tuesday 26th November 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय पाँच भाग (१०५)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०७/२८
………………………………..
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : आफू खुसी मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
नोट : महान पर्व तीहारको वियषमा पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

सप्तरङ्गी टीका सजाउनू तिमीले
देउसी अनि भैलो गाउनू तिमीले
सजिलो छैन मानव जीवन हाम्रो
सद्भावको सम्बन्ध लाउनू तिमीले
क्षितिजको यात्रामा धाउनू तिमीले ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २
मनको कुनाकानी कतै द्वेष छ कि दियो बालेर हेर
भेट्यौ भने कतै अहिंसाको हतियारले ढालेर हेर
जाग्न सक्छ फेरि त्यो त्यसलाई मनभित्र नै राख्यौ भने
त्यो द्वेषको बोटलाई जरैदेखि उखेली फालेर हेर
अब रिक्त ठाउँमा सकारात्मकतालाई हालेर हेर ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ३

ए दाजु नबिर्स मलाई तिमीले
सम्झनु सधै नै भलाई तिमीले
अनाथ हुन्छु म छोडेर गएमा,
तिहार पर्वमा छलाई तिमीले
राख्नु दीयो सधै जलाई तिमीले ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी।

पञ्चाङ्ग ४

कमाएको धनले त पोल्ने गर्छ खासै
छलले त पछि आफैं बोल्ने गर्छ खासै
लुटेको धनको त कुरै गर्नु पर्दैन
नङ्ग्याएर छिद्र पारि खोल्ने गर्छ खासै
जीवनमा धोका दिदैं डोल्ने गर्छ खासै ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पन्चाङ्ग ५

नारायणी चुपचाप बग्दै छ
गोही पसी उसैलाई ठग्दै छ
हामीजस्तै पीडित छ ऊ पनि
छिमेकीको थिचोमिचो तग्दै छ
त्रिवेणीको पानी थुनी लग्दै छ ।

• देवी पन्थी

पञ्चाङ्ग ६

जस्ताको त्यस्तै हुनाले यो सालको तिहार हाम्रो पनि
लाग्न थाल्यो सबै बाध्यता अनि परिस्थिति राम्रो पनि
मान्छेको हातमा हुँदै नभएपछि कतिपय कुरा
सहानुभूति बन्न पुग्छ चर्केको मनमा काम्रो पनि
यसर्थ लाग्दैन रहेछ नियति कहिले चाम्रो पनि ।

#पृथक प्रकृति,झापा

पञ्चाङ्ग ७

सधैँ तिहारमा टीका लगाउनु सबैले
भाइलाई कालबाट छुटाउन सबैले
तिहारमा दाजुभाइले दक्षिणा दिनेछन्
यो कुरा सबैलाई पर्छ बताउनु सबैले
यस्तो चलनलाई चलाउनु पर्छ सबैले ।
नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ८

निधारमाथि सप्तरङ्गी टीका लाउनू तिहारमा
गलामा मखमली जुहार सजाउनू तिहारमा
उपहारमा ढाकाको टोपी दिउँला म भाइलाई
यसपालि मेरै घरमा तिमी आउनू तिहारमा
नमाने है दुःख हाँसेर यतै धाउनू तिहारमा ।

श्रीकृष्ण शर्मा पोखरा

पञ्चाङ्ग ९

राजनीति पार्टीलाई कमाइको आधार भयो
भैलो भट्याउँदै मागेर खाने व्यबहार भयो
बजाउँछन् डेक र नाच्छन् झाउरे भैलै छ नाम
सबथोक हिंजो आज पैसामा नै करार भयो
अरू के भनौँ उस्तै यो देशको सरकार भयो ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १०

तिहार आयो झिलिमिली भयो
मन सबैको फिलिफिली भयो
खुशीले मनाउँ सबैले पर्व
दुखिको आँखा टिलिपिली भयो
भाइ बिनाको गिलिगिली भयो ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ११

आईपुग्यौँ घरमा देउसिरे
घुम्दै वरपरमा देउसिरे
तिहारको यो रमाइलो बेला
यो बत्तीको भरमा देउसिरे
के दिउॅला बरमा देउसिरे ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग १२

धैर्य गर्छु भनेको कुनै बेला समयले दिएन
बनाउन तन रंगिन रेला समयले दिएन
तिहारले दिदीसँग भेट अवस्य गराउनेछ
रफ्तारको यात्रामा बन्न चेला समयले दिएन
लगातार खेल्न देउसी भेला समयले दिएन ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १३

हे पुजेर गाई द्यौसी रे
फूलमाला लाई द्यौसी रे
द्यौसी,भैलो नपार मैलो
लु खेलौ रमाइ द्यौसी रे
हो घर घर जाई द्यौसी रे !

विवश पारदर्शी
झापा

पञ्चाङ्ग १४

सप्तरङ्गी टीकाले सजाइ जाऊ तिहार
दाजुभाइको कस्ट भगाइ जाऊ तिहार
तिहार दाजुभाइ दिदीबहिनीको पर्व
देशैभरि खुसीले मनाई जाऊ तिहार
सम्बन्ध यो प्रगाढ जगाई जाऊ तिहार ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १५

खाने कुरामा रङ्ग देख्छु
खाएर सारा दङ्ग देख्छु
आखिरीमा छायो विकृति
कालो फरक ढङ्ग देख्छु
सबैको स्वास्थ्य भङ्ग देख्छु ।

– आर्त अकुलीन

पञ्चाङ्ग १६

बेहुली झै सजिएर आउने तिहार
देउसि भैलो रातमा गाउने तिहार
मिलन,उत्साह,उमङ्गको पर्व पनि
जताततै माया बनी छाउने तिहार
दिदी भाई आर्शिवाद पाउने तिहार ।

संगीता खरेल
चन्द्रागिरी 8 मातातिर्थ
काठमाडौँ


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’…

सुरक्षा अधिकारीहरूले हालै गरेको मूल्याङ्कनअनुसार १०१ बन्धकहरूमध्ये केही विदेशी कामदारहरू समेत ५० जना अझै जीवित रहेको विश्वास गरिएको छ। एक…

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा तीन जनाको मृत्यु भएको छ ।…

प्रतिकृयाहरू
...