“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०६/१५
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : आफू खुसी मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
नोट : यो हप्ता देशमा व्याप्त महङ्गीलाई विषयवस्तु बनाएर पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
नभइनहुने परिबन्धले बाँध्यो हेर
दिन रातको महङ्गीले सीमा नाघ्यो हेर
जनतालाई पुतली बनाएर नचाए
आवश्यकता छ, च्याँखे थापेर पार्यो हेर
उम्किनु न बस्नु कसरी राख्यो राख्यो हेर ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
सधै गरिबको आँसुको भेल हुन्छ
गठबन्धन् गर्ने पार्टी वेमेल हुन्छ
देशलाई अचानो बनाउँछन् यिनी
नागरिको जिवन सँग खेल हुन्छ
देशमा बिदेशीको पेलापेल हुन्छ ।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
पञ्चाङ्ग ३
स्वार्थ खातिर मान्छ मान्छे
आफ्नै खल्तीमा तान्छ मान्छे
जमाना पनि कस्तो आयो
सित्तैमा पाए खान्छ मान्छे
भरिए पेट जान्छ मान्छे ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ४
मानिसलाई रिन लागोस्
कसैलाई दिन नलागोस्
दुई दिन रमाउँ बाँचौँ
सेवा गर्दा घिन नलागोस्
हिड्दा खुट्टा पिन नलागोस् ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग (मुक्त लय) ५
बजारका हरेक उपभोग्य वस्तुले चाडै सेक्यो
उँधो घट्ला मूल्य भन्ने सम्झेको झन् माथि ठाडै सेक्यो
चाडको मुखमा आएर मूल्य बृद्धिको बधाई छ
पेट्रोलियम पदार्थको तातोले नित्य हाडै सेक्यो
ऐया आमा हेर्नुहोस् त महङ्गीले मेरो ढाडै सेक्यो ।
सुरेश चन्द्र घिमिरे
पञ्चाङ्ग ६
कृषिप्रधान देश किसानको छोराले धान चिन्दैन
माटोमा जन्मि माटोमै मर्ने हो माटोकै शान चिन्दैन
किनेर मात्रै खाने बानी छ भाउ त बढ्ने नै भयो नि
शिक्षाले गुरु कुट्न सिकायो अग्रजको मान चिन्दैन
संस्कारले पनि लुट्न मात्रै सिकाउछ दान चिन्दैन ।
-पशपति राई खोटाङ ।
पञ्चाङ्ग ७
आजकाल सेवामा डुलिरहेछ मान्छे
काम भन्दा कुरामा चुलिरहेछ मान्छे
गर्नु केहि पनि छैन् फगत कुरा मात्रै
बाह्रमासे बनेर फुलिरहेछ मान्छे
लठ्ठ भई नसामा झुलिरहेछ मान्छे ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३, काभ्रे
पञ्चाङ्ग ८
धार खोज्नु त पर्छ अरुको आश नगरी
जीवन आफैँ सर्छ अरुको आश नगरी
ढिलो चाडो भेटिन्छ गुजारा गर्ने साधन
बढ्न नै खोजे गर्छ अरुको आश नगरी
व्यवहारले छर्छ अरुको आश नगरी ।
अम्बिका अधिकारी
झापा बिर्तामोड
पञ्चाङ्ग ९
देशमा विदेशीको सधैँ चलखेल हुन्छ
नेताहरुको जहिल्यै नी जालझेल हुन्छ
एक पछि अर्को गर्दै अखडा निकाली
भ्रष्टाचारी झोला भर्न ठेलामठेल हुन्छ
पीडित जनता सधैं पेलामपेल हुन्छ ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १०
कहाँसम्म पुर्याउनेछ गन्तव्यले थाहा छैन
यकिन सबैको हाइहाइ विशाल आहा छैन
रमाएका मनहरू रहन देऊ नटुटाऊ
नपरुन् कोही धराप परेको हेर्ने चाह छैन
अरुका कार्यहरुप्रति कत्ति पनि डाहा छैन ।
जमुना आचार्य सिन्धुपाल्चोक
पचाङ्ग ११
दशैँको रौनकले गाउँ सहरमा छुन लाग्यो
गरीबहरु खाने लाउने चिन्ताले रुन लाग्यो
हाम्रो महान चाडपर्व मनाउनु पर्ने बेला
प्रदेशी आएर घरमा रमाइलो हुन लाग्यो
आउन नपाउनेले आँसुले मुख धुन लाग्यो ।
तारा घिमिरे स्वेच्छा सङ्खुवासभा
पञ्चाङ्ग १२
हरेकको चल्ने आफ्नै चाल हुन्छ
चाल चल्ने ठाउँ जुवा खाल हुन्छ
आसैआसमा जीवन जाने भयो
जुवामा हार्नेको कस्ता हाल भयो
यसरी जुवा खेल्नेको काल हुन्छ ।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग १३
सोझा जनतालाई कठपुतली बनाएको छ
बढ्दो बजार भाउमा सहमति जनाएको छ
यो चाडपर्वको बेला पनि मौन छन् सरकार
एकदम महङ्गीको आगो चाहिँ खनाएको छ
गरिबको आर्तनादमा उत्सव मनाएको छ ।
#पृथक प्रकृति ,झापा
पञ्चाङ्ग १४
पुरानो पात झरेर नयाँ पात पलाउनु पर्छ
सरकार अत्याधिक मूल्यवृद्धि आफैंले गर्छ
सत्तालिप्साको धङधङीले गर्दा आज यो
देश बन्धक राखेर छिमेकीको पाउमा चर्छ
पर्खन मात्रै गार्हो एकदिन यो अबस्य झर्छ ।
प्रदीप के रिमाल
इटहरी,सुनसरी।
पञ्चाङ्ग १५
यो बदलिँदो मौसम,दिक्क लाग्यो देखेर
धमिलो छ आकाश, यो मन भाग्यो देखेर
देशको स्थिति र मौसम उस्तै छ अहिले
सडकमा जनता, चेतना जाग्यो देखेर
अशान्ति यो परिस्थिति,शान्ति माग्यो देखेर ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १५
बेला आएकोछ है अरुकाे कुरा काट्न पाइन्छ
बल अनि पैसा भए माया पनि साट्न पाइन्छ
आखिर जो जसले पत्रिकामार्फत छापे पनि
प्रत्यक्ष अप्रत्यक्ष पैसाको स्वाद चाट्न पाइन्छ
सबै उस्तै हुन् कुराले डोरी जस्तै बाट्न पाइन्छ ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १६
आयो गुटतन्त्र देखाए लौ क्रान्ति गरेको
कस्तो लुटतन्त्र लुट्नेले प्रगति गरेको
न्यायले छुन नसक्ने के रैछ राज हेर
ल्याय भुटतन्त्र न्याय नै भुटीदै गरेको
सह्यौ छुटतन्त्र काण्ड सवै छुट गरेको ।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग १७
भनेर देखायो साहुजीले कुन्न् बराबर भाउँ छ
गरिब दुखिको पसिना र खुन्न् बरबबर भाउँ छ
मौका छोपेर दसैमा राम्रो कपडा किनौ भनेको त
लईलनको पनि आचेल उँन्न् बराबर भाउँ छ
त्यो छापा वाला पहिलो नम्बर शुन्न् बराबर भाउँ छ ।
मनोज राना सल्यानि
बन्गाड कुपिण्डे ३ सल्यान ।
पञ्चाङ्ग १८
सपना साकार पार्न खोजिन्छ
अवाइ परेको टार्न खोजिन्छ
जादूको आशङ्का नभएकाले
गलत आभास सार्न खोजिन्छ
सन्देह सहित हार्न खोजिन्छ ।
अच्युत घिमिरे,सर्पाङ,भुटान
पञ्चाङ्ग १९
हुँदैन पैसा नै फल्ने बोट बुझेपछि
श्रमबिना आउँदैन नोट बुझेपछि
किन समय खेर जान दिनु हजुर
हिजो खाएका अनन्त चोट बुझेपछि
सबैमा हुन्छ एउटा खोट बुझेपछि ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग २०
स्रष्टा,तिमी!कहाँ हुन्छौ चाकडीमा घुसेपछि
जति लेख कहाँ छुन्छौ चाकडीमा घुसेपछि!
कति उर्वर यो सृष्टि मान्छे सौन्दर्यको घर
गल्ली फोहोरका धुन्छौ चाकडीमा घुसेपछि
माकुरे जाल नै बुन्छौ चाकडीमा घुसेपछि!!
कलानिधि दाहाल