Thursday 19th June 2025

राज्ययन्त्रमा मात्र होइन पार्टीमा पनि सङ्घीयताको अभ्यास हुनु पर्छः कावा अध्यक्ष श्रेष्ठ


२० भाद्र, २०८० ललितपुर । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टीले राज्ययन्त्रमा मात्र होइन, आफ्नो सङ्गठनात्मक काममा पनि सङ्घीयताको अभ्यास गर्नुपर्ने बताएको छ । उनले उक्त कुरा समाजवादी महिला सङ्घको बागमती प्रदेश समिति पुनर्गठन कार्यक्रममा बताएको हो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले जनता समाजवादी पार्टीको मार्गदर्शक सिद्धान्त सङ्घीय समाजवाद र सङ्गठनात्मक सिद्धान्त लोकतान्त्रिक अकेन्द्रिकरणबारे प्रशिक्षणात्मक मन्तब्य राखेका थिए ।
सङ्घीय शासन हुने वित्तिकै महिलाहरूको अधिकार प्राप्त नहुने भन्दै उनले भने, ‘अमेरिका, स्वीट्जरल्यान्डजस्ता लोकतान्त्रिक देशमा सङ्घीय शासन आएपछि पनि महिलाहरूले पुरुष सरह अधिकार पाएनन् । सन् १७८९ मा सङ्घीयतामा गएको अमेरिकामा महिलाहरूले करिब १३० वर्षपछि सन् १९१९ मा मात्र मतदानको अधिकार पाए भने स्वीट्जरल्यान्डमा करिब १२३ वर्षपछि सन् १९७१ मा मात्र मताधिकार पाए । तर नेपालका महिलाहरूले लोकतन्त्रको वहालीपछि भएको प्रत्येक निर्वाचनहरूमा समान मताधिकार पाए ।’
महिलाहरूको अधिकार पनि सङ्घीयतामा नै सुरक्षित हुन्छ ।
महिलाहरूको अधिकार पनि सङ्घीयतामा नै सुरक्षित हुने बताउँदै उनले भने, ‘नेपालमा एकात्मक व्यवस्थामै पनि महिलाहरूले मताधिकार र थोरै भए पनि आरक्षण पाए । तर एकात्मक व्यवस्थामा नै प्राप्त हुन सक्ने महिलाहरूको पहुँच र प्रतिनिधित्वका अधिकारहरू सङ्घीय आन्दोलनको फलस्वरूप मात्र प्राप्त भए । नेपालको सङ्घीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको ग्यारेण्टी, नेपालको संविधानको धारा ३८ मा प्रत्येक महिलालाई बिनालैङ्गिक भेदभाव समान हक, राज्ययन्त्रहरूमा समानुपातिक प्रतिनिधित्व आदि सङ्घीयताको देन हो । त्यसैले नेपालमा सङ्घीयता र महिला अधिकारबिच अन्योन्याश्रित सम्बन्ध रहेको छ ।’
पार्टीले २०७४ सालको निर्वाचन घोषणापत्रमा महिलाहरूका लागि प्रत्यक्ष निर्वाचनमै संसदीय निर्वाचन क्षेत्र आलोपालो आरक्षित गर्ने कुरा उल्लेख गरेको र हाल निर्वाचन आयोगले पनि यो व्यवस्था कार्यान्वयन गर्ने प्रस्ताव अगाडी बढाएको कुरा समेत उनले बताए ।
कार्यवाहक अध्यक्ष श्रेष्ठले राज्ययन्त्रमा जर्मनहरूको एकल जातीय नेतृत्व र वर्चश्वको विरुद्ध सन् १८४७ मा भएको गृहयुद्धपछि तात्साजुङ् (संसद) बाटै झण्डै विभाजित भइसकेको स्वीट्जरल्यान्डलाई विद्रोही पक्षसँग भएको सहमतिको आधारमा सन् १८४८ मा नयाँ सङ्घीय संविधान जारी गरी सङ्घीयता, समानुपातिकता र समावेशिताको माध्यमबाट देशलाई पुनः एकतावद्ध बनाउन सफल भएको र आज स्वीट्जरल्यान्ड विश्वभरि शान्तिप्रीय मुलुकको रूपमा चिनिएको कुरा पनि बताए ।
सङ्घीय गणतन्त्र ल्याउनका लागि भएको सङ्घर्ष नयाँशक्तिहरूलाई के थाहा ?
प्रसव वेदना बच्चा जन्माउनेलाई मात्र थाहा हुन्छ भन्दै नेता श्रेष्ठले यो व्यवस्था धेरै दुःख कष्ट आन्दोलन जेलनेल सहेर मात्र जन्मेको भन्दे उनले भर्खरै जन्मेका कतिपय पार्टीहरूलाई यो थाहा नभएको बताए । उनले भने, ‘नयाँ भनिएका रास्वपा, नागरिक उन्मुक्ति, जनमत जस्ता पार्टीहरू अरुले मञ्च बनाइ सकेपछि नाच्न आएका हुन् । आफैले मञ्च बनाउनु पर्दाको पीडाको उनीहरूलाई अनुभव छैन । सङ्घीय गणतन्त्र ल्याउनका लागि नेपाली जनताले लोकतान्त्रिक तथा बामपन्थी दलहरूको नेतृत्वमा तीन तीन पटक जनआन्दोलन, त्याग र बलिदान गरे, यो कुरा नयाँशक्ति भनिएकाहरूलाई थाहा छैन ।’
महिला सङ्घका नेतृ दिना लामाको अध्यक्षता र सजनी तामाङको सञ्चालनमा भएको पुनर्गठन कार्यक्रममा पार्टीका कार्यकारिणी सदस्य सुशिला श्रेष्ठ, महिला विभाग प्रमुख लिला सिटौला, महिला सङ्घका अध्यक्ष निर्मला यादव, १ नं प्रदेशका स्वास्थ्यमन्त्री निर्मला तावा, महासचिव भवगती सुवेदी लगायतका वक्ताहरूले पनि महिला अधिकार तथा सशक्तिकरण र समितिहरूको गठन पुनर्गठनका आवश्यकताबारे आफ्नो मन्तव्य राखे ।.कार्यक्रमको अन्त्यमा सजनी तामाङको अध्यक्षतामा लक्ष्मी थापा उपाध्यक्ष, लक्ष्मीदेवी श्रेष्ठ सचिव, शर्मिला गहतराज कोषाध्यक्ष रहेको २१ सदस्यीय प्रदेश समिति पुनर्गठन भएको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ…

अमेरिकी सरकारले नेपाललाई दिँदै आएको अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई निरन्तरता दिने भएको छ। अमेरिकी राष्ट्रपतिमा…

बुधबार, इरानले रातभरको आक्रमणको नयाँ चरणको रूपमा इजरायलमा हाइपरसोनिक मिसाइलहरू प्रहार गरेको दाबी गरेको छ। देशका शीर्ष नेता, अयातुल्लाह अली…

प्रतिकृयाहरू
...