Wednesday 17th June 2026

स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबियल्सलाई फिफाद्वारा निलम्बन


महिला विश्वकप विजेता खेलाडी जेनी हर्मोसोलाई चुम्बन गरेका स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबियल्सलाई फिफाले शनिबार निलम्बन गरेको छ।

‘रुबियल्सलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेका छौं,’ फिफाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ४६ वर्षे रुबियल्समाथि लागेको अनुशासनहीनको कारबाहीविरुद्ध छानबिन भइरहँदा उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो। फिफाले रुबियल्स र स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) लाई हर्मोसोको सम्पर्कमा जान रोकसमेत लगाएको छ। फेडेरेसन र रुबियल्ससँग हर्मोसो र उनका सहकर्मीबीच पछिल्लो समय विवादले उग्र रूप लिँदै गइरहेको छ।
स्पेनिस खेलाडीले यो घटनाका कारण अस्ट्रेलियामा जितेको विश्वकप उपाधि नै कलंकित भएको प्रतिक्रिया दिन थालेपछि फिफाले रुबियल्समाथि अस्थायी प्रतिबन्ध लगाएको हो। हर्मोसोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त चुम्बनको भिडियोमा आफूलाई संलग्न देखाउन रुबियल्स र फेडेरेसनले आफ्नो परिवार र खेलाडी साथीहरूलाई दबाब दिइरहेको आरोप लगाएकी थिइन्। विश्वकप उपाधि जितेपछि भएको समापन समारोहमा रुबियल्सले आफ्ना खेलाडी हर्मोसोमाथि चुम्बन गरेको भन्दै विश्वभर उनको आलोचना हुँदै आएको थियो। पछि रुबियल्सले माफी मागेका पनि थिए।

तर, विश्वविजेता स्पेनिस खेलाडी उनलाई माफी दिन तयार भएनन्। पछिल्ला समय खेलाडीले उनको राजीनामा माग गर्दै आइरहेका छन्। रुबियल्सले भने फेडेरेसनको बैठकमा राजीनामा दिन अस्वीकार गर्दै हर्मोसोले झुट बोलेको भन्दै उनीविरुद्ध कानुनी प्रक्रियामा जाने चेतावनी दिएका थिए। रुबियल्सले भने उक्त चुम्बनको घटनालाई सहमति, आपसी समझदारी र उत्साहको रूपमा वर्णन गर्दै आइरहेका छन्।

स्पेनबाट नखेल्ने धम्की

३३ वर्षीया हर्मोसो, विश्वकप विजेता खेलाडीसहित ८० स्पेनिस खेलाडीले नेतृत्व परिवर्तन नभएसम्म आफ्नो आन्दोलन जारी राख्ने र स्पेनको राष्ट्रिय टोलीबाट नै नखेल्ने चेतावनी दिएका छन्। रुबियल्सले चौतर्फी आलोचनाका बावजुद राजीनामा नदिने भनेपछि खेलाडीले उक्त चेतावनी दिएका हुन्। रुबियल्सले आफूमाथि चरित्र हत्याको प्रयास भइरहेको दाबी गरेका छन्। फेडेरेसनले भने हर्मोसोले अध्यक्षलाई चुम्बन गर्न उक्साएको भन्ने खालका तस्बिरका शृंखला सार्वजनिक गरेको थियो। त्यससँगै हर्मोसोले आफू असुरक्षित रहेको महसुस भएको प्रतिक्रिया दिएकी छिन्। स्पेन सरकारले पनि उनीमाथि अर्को हप्तादेखि लागू हुने गरी निलम्बन गर्ने जनाइसकेको छ।
यता, स्पेनसँग फाइनलमा १–० ले पराजित भएको इङ्ल्यान्डले पनि हर्मोसोसँग साथ रहेको विज्ञप्ति जारी गरिसकेको छ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...