Saturday 16th May 2026

चित्रमा पञ्चाङ्ग, भाग – ७४


चित्रमा पञ्चाङ्ग
===========
भाग: ७४
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०४/१७
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चौहत्तरौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
विकास गर्ने बेला तँछाडमछाड गरे, खेले दोहोरी हेर
अरुलाई सताउन पहुँच देखाउन बने कोहोरी हेर
विकास र निकासको बाटो देखिएको छ छर्लङ्ग हुनेेगरी
आफू माथि पर्न जे पनि गर्न सक्ने कति गिरे फोहोरी हेर
त्यही पदमा पुग्ने रहेछन् चाप्लुसी गरी आची सोहोरी हेर ।
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
विकासको खुब नारा दिएको छ सरकारले
जनतासँग त कर लिएको छ सरकारले
खाेला पुल छैन जँगार तरेका छन् नानीहरू
दु:खी जनताका आँसु पिएको छ सरकारले
जनता नाङ्गै आफ्नै भोटो सिएको छ सरकारले ।
नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर
पञ्चाङ्ग ३
पानीको भल आउँदा न त पुल छ न राम्रो बाटो छ
बाल बालिका अशुरक्षित भए समाजमा फाटो छ
कस्तो असर पर्ला इनी ससाना बाल बालिका लाई
पानीले भिजाएकै जस्तै हेर कम्लो मिलिलो माटो छ
सानैछन् दुःख छ, न घरमा पेटभरी खाने आटो छ ।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
पञ्चाङ्ग ४
वर्षा याम छ उर्लिएर बढ्दैछ खोला हजुर
बगाउँछकी पीर छ किताब र झोला हजुर
पुल नहुँदा बिद्यार्थीहरुलाई निकै छ गाह्रो
खोला तर्दा ज्यान जाला जोगाउनु होला हजुर
मान्छेको जीवन भन्नू दुई दिने चोला हजुर ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग ५
हुने खानेहरूको पो जय छ
गरिबहरूको सधैँ क्षय छ
कसरी भनौँ गाउँ बस्ती रुँदा
सम्पूर्ण अधिकारको तय छ
मन मस्तिष्कमा अझैँ भय छ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ६
जनता प्रति कहिले गम्भीर भएन सरकार
संवेदनशिल छैनन् नजिर भएन सरकार
केवल नारा लगाउन भाषण दिने काम गर्छन्
चुनावको बेला सम्झिन्छन् वीर भएन सरकार
समस्याको हल खै पुनः स्थिर भएन सरकार ।
#पृथक प्रकृति ,झापा
पञ्चाङ्ग ७
विद्यार्थिको दुर्गति भएकै छ
नेता विकास भो नै कहेकै छ
तुइन विस्थापित भएको रे
नागरिकमा सास्ती रहेकै छ
जे गर नागरिक सहेकै छ ।
म प्र धि
पञ्चाङ्ग ८
अनेक जाल बुन्न मै बल गरेपछि
कति स्वार्थी आफ्नैमात्र हल गरेपछि
जनताहरूलाई पीडा र दु:ख हुन्छ
बाहिर अचल भित्र चल गरेपछि
विकास गर्छु भनेर छल गरेपछि ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ९
दुर्गम ठाउँमा सरकारको ध्यान जावस्
जोखिम मोडी पढ्ने छात्रालाई ज्ञान जावस्
नदीको बेग पानीले पार्यो सबैलाई नेल
पुल निर्माण गर्ने नेतालाई मान जावस्
सबै जनतालाई सुबिस्ताको भान जावस् ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग १०
झोलाले पेटभरि पानी भरे सकियो
झन् अलिकति तलमाथि परे सकियो
पुल नहुँदा खोला तरी जानु छ स्कुल
भन्नुहोला हात समाती तरे सकियो
यत्तिकैमा चिप्लेर खुट्टा मरे सकियो ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ११
कहाँ गयो संघीयता मेरो गाउँ त पारीकै भरमा छ
मुद्दा पहिचानको लड्छ तर पनि अर्काकै थरमा छ
सिहंले जहाँ आसन जमायो त्यहीँ सिंहदरबार भो
एउटा स्कुल छैन गाउँमा जनता सधैं करमा छ
शान्ति सुरक्षा त आफैं तर्सिन्छ जनता सधैं डरमा छ ।
-पशपति राई खोटाङ ।
पञ्चाङ्ग १२
बच्चाहरू बाढी र भेलमा हेलिएका
देशका ठेकेदार सुनमा पेलिएका
समयले पर्खंदैन मानिसका लागि
साँढेका जुधाइमा हाः बाछा खेलिएका
देशवासी सधैँ पीडातर्फ ठेलिएका ।
तिलकप्रसाद लुइटेल, काठमाडौँ ।
पञ्चाङ्ग १३
गरिबका छोराछोरी कसरी तर्छन् हेर
खोला तर्दातर्दै एकदिन त मर्छन् हेर
सरकार अन्धो भएर तस्करमा ध्यान
नेताले आँखा हेरे अन्धोपन गर्छन् हेर
विद्यार्थी खोलादेखिपछि कति डर्छन् हेर ।
सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा।
हाल:- बर्दिया ।
पञ्चाङ्ग १४
अझै पनि पुल नबन्ने यो ठुलो रोग भयो
भुइँ मान्छेका केही छैन बडाको भोग भयो
कहिलेसम्म प्रताडित हुने हो जनताले
नित्य अभावमा बाँच्नुपर्छ भन्ने सोग भयो
कलिला मन मष्तिष्कमा हरिविजोग भयो ।
सुरेश चन्द्र घिमिरे
हाल काठमाडौँ
पञ्चाङ्ग १५
स्थानिय सरकार मरेछ कि के हो
दिमागमा गोबर भरेछ की के हो
स्कुले नानी बाबुको बिजोग नै भयो
बजेट जती अन्तै छरेछ की के हो
नामर्द सिल्ली नेता परेछ की के हो ।
सरिता सेढाइ धादिङ
पञ्चाङ्ग १६
स्कुल जाँदा फर्किँदा तर्नुपर्छ खोला
जिउ ज्यान खोलामा हर्नुपर्छ खोला
आउँदैन विकास हाम्रो गाउँ तिर
साथीको हातथामी सर्नुपर्छ खोला
उर्लिदै बाढी आए मर्नुपर्छ खोला ।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग १७
तुइनका कुरा अब नारामात्र भए
हेर्ने तर नभेट्टिने तारामात्र भए
दुखीको जीवनशैली सॅधैभरि उस्तै
बजेटमा लेखाइने चारामात्र भए
हात्तीको झै देखाउने दारामात्र भए ।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग १८
बाल बच्चा बाढीमा हेलिँदैछन्
माकुराको जालो झै जेलिदैछन्
देश र जनताको छैन चिन्ता
नेता सुन खानीमा पेलिदैछन्
जनता दुःख पीडा झेलिदैछन् ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १९
ओहो! कति गाह्रो, कलिला नानी हेर
तिनी विद्यालय कसरी जानी हेर
हाम्रो देशको हालत डर लाग्ने छ
बालबालिकाको डुबायो पानी हेर
कसरी तर्ने खोला नानी सानी हेर ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग २०
हेर बालबालिका बाढीमा हेलिएका छन् यहाँ
एक अर्कोलाई समाएर ठेलिएका छन् यहाँ
नेता चुनावमा भन्दा पछि जनता चिन्दैनन् नि
प्रजा शासनको अन्यायमा पेलिएका छन् यहाँ
नेताको झुटो आश्वासनमा झेलिएका छन् यहाँ ।
दुर्गा भट्टराई
पञ्चाङ्ग २१
बग्नुपर्ने बाढी पहिरो भेलसँगै हामी
खेल्नुपर्ने सधैँ छिर्के खेलसँगै हामी
बालबुढा कसैको नि सुरक्षा नै छैन
बाँच्नुपर्ने हत्कडी र नेलसँगै हामी
तर्सिनु छ सधैँ जालझेलसँगै हामी ।
चन्द्रावती अधिकारी
कोहलपुर बाँके
पञ्चाङ्ग २२
यस्तो ठाउँमा सरकारको नजर किन लुक्छ होला
नानिहरुको दु:ख देख्दा हाम्रो मन कति दुख्छ होला
निकाश केही गर्ने हैनन् कुर्सिमा नै लिप्त भए सबै
आश गर्छन छेउमा बसि पानी कहिले सुक्छ होला
हरे दैव बिकट गाउँ बिकाश कहिले पुग्छ होला ।
चेतना पोखरेल
मोरङ
पञ्चाङ्ग २३
खोलाले बगाउँला कि भनी हातको जन्जिर छ
सडकको आसा छैन पुल नहुने तक्दिर छ
चिल्ला गाडीमा सुकिला कपडा लगाउनेहरू
पैदल गएर हेर गाउँको कस्तो तस्वीर छ
देश लुट्नलाई संसदभवन भित्र पीर छ ।
संगीता खरेल
चन्द्रागिरी ८
काठमाडौँ
पञ्चाङ्ग २४
समद्विपञ्चाङ्ग र पञ्चाङ्ग
*******************
समद्विपञ्चाङ्ग
१//
ठूलै खोलाखोली तार्दैछन् हेर
ज्यान जोखिममा पार्दैछन् हेर
विकासहिन गाउँ घरहरूमा
झुटैझुटले लोक मार्दैछन् हेर
सपना, आशा सबै हार्दैछन् हेर ।
२//
मरणका मुखमा नार्दैछन् हेर
ठिक कुरैकुराले टार्दैछन् हेर
कुर्सी ओगट्न भोट मात्र चाहेको
सारा हाँसो र खुसी खार्दैछन् हेर
ठगी ठगी ओरालो झार्दैछन् हेर ।
३//
भोट लुट्ने योजना सार्दैछन् हेर
मुख मिठ्याइ दारा कार्दैछन् हेर
किर्ते तयारी सबुत गराउँदै
उन्नतिका पाईला बार्दैछन् हेर
अहङ्कारले उल्टै जार्दैछन् हेर ।
४//
सुटुक्क मलजल चार्दैछन् हेर
छक्याउन नै पार्टी फार्दैछन् हेर
पानी माथिको ओभानो जनाउँदै
भुल जनतामाझ डार्दैछन् हेर
फेरि जनताकै गिदि दार्दैछन् हेर ।
पञ्चाङ्ग
५//
मौसम बदली ससार्दैछन् हेर
मौका मिलाएर पसार्दैछन् हेर
आफैको मात्रै भलो गर्नेहरूले
अरुको भलाइँ धसार्दैछन् हेर
जोखिममा ज्यान घसार्दैछन् हेर ।
अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग २५
खोलामा पुल छैन तर पनि खोला तरेर जानुपर्छ
भ्याइनभ्याईनि घरको काम पनि गरेर जानुपर्छ
अति भयो अवत हेरिदेउन सरकार यस्ता समस्या
हामी यहाँ हजुर आधा ज्यान फाली मरेर जानुपर्छ
कहिले होला समाधान मात्रै आधा पेट भरेर जानुपर्छ ।
उर्मिला के.शी.
धनकुटा
पञ्चाङ्ग २६
विद्यार्थीको विजोक शिक्षालाई सहुलियत दिएको छ भन्छ
अशुरक्षित कालो धव्वाले राज्लाई पानी झै पिएको छ भन्छ
कति असुरक्षित भएर बस्नु परेको छ आम जनताले
संघियताको नारा गर्दै टेवल मुनि घुस लिएको छ भन्छ
जनतासँग शिष्टचार नभई सरकार गिरेको छ भन्छ ।
अम्विका अधिकारी
झापा विर्तामोड


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...