Tuesday 13th October 2026

सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेका कलाकार विरुद्ध मुद्दा दर्ता


सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । यो मुद्दामा एक जना भने फरार रहेका छन् ।

सट्टेबाजीको विज्ञापन गरेको आरोपमा पक्राउ परेका हास्य कलाकारलाई प्रहरीले एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग सहित जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

बल्छी धुर्वे नामले परिचित मरिचमान श्रेष्ठ, राजु मास्टर भनिने राजु पौडेल, म्याकुरी नामबाट परिचित पवन खतिवडा, एलिस राई, जलन घर्तीमगर, गणेश देवकोटा, ढेडु बूढो नामले परिचित सरोज घिमिरे, भटभटे माइलाको नामले चिनिने बेगम नेपालीलाई प्रहरीले अनलाइन बेटिङ वानएक्स-बेटको प्रचार गरेको आरोपमा जेठ ३२ गते पक्राउ गरेको थियो।

कलाकार कुशल पोखरेल भने फरार छन्। उनीहरूले आफ्नो यूट्युब च्यानल मार्फत अवैध सामग्रीको प्रचार गरेको अभियोग छ।

उनीहरूलाई सट्टेबाजीको विज्ञापन दिने दिनेश खड्का र अनिता धिताललाई भने नेपाल राष्ट्र ब्यांंक ऐन अनुसार सात वर्षसम्म कैद गर्नुपर्ने माग गरिएको छ। खड्का र धितालले सट्टेबाजीका साथै क्रिप्टोकरेन्सीमा समेत कारोबार गर्ने गरेको अभियोग लगाइएको छ।

उनीहरूले राष्ट्र ब्यांकबाट इजाजत नलिई कारोबार गरेका थिए। दुवै जनाबाट ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ बिगो भराउन समेत माग गरिएको छ। राष्ट्र ब्यांक ऐनको दफा ९६ मा अनुमति विना कारोबार गरेमा बिगोको तीन गुणा जरिवाना वा सात वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

प्रतिकृयाहरू
...