बन्दना घिमिरे – लघुकथाकार तिलक तारामी ”रेशाली” ले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ”क्रान्तिकारी” पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।
लघुकथाकार तिलक तारामी ”रेशाली” सँग सात्क्षात्कार नभएपनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित छु । लघुकथाका अतिरिक्त मुक्तक, गीत र गजलमा समेत कलम चलाउनुहुने साहित्यकार तिलक तारामी ” रेशाली” को वास्तविक नाम तिलबहादुर थापा हो । उहाँको जन्म २०२४/०१/१५ गते काँठेखोला – ७, बाग्लुङमा माता तुलसी थापा तथा पिता छविलाल थापाको सुपुत्रको रुपमा भएको हो । हाल बुटवल -११, रुपन्देहीमा स्थायी बसोबास गर्नुहुने साहित्यकारले स्नातकोत्तर (रसायन शास्त्र) सम्मको अध्ययन गरि कलेजमा प्राध्यापन गर्नुहुन्छ ।२०७७ मा पहिलो लघुकथा ”पश्चाताप ”लेखेर लघुकथा विधामा कलम चलाउनु भएका लघुकथाकारको पत्रीकामा छापिएको पहिलो लघुकथा लघुकथाको सुगन्ध अंक -२ मा प्रकाशित भएको थियो ।
उहाँका लघुकथाहरुमा वर्तमान नेपाली समाजका बेथिति, विसंगती प्रति तिखो व्यंग्य गर्दै नकारात्मक प्रवृत्तिहरु उजागर भएको मैले पाएकी छु।
प्रस्तुत लघुकथा ”क्रान्तिकारी ” मा प्रमुख पात्र उ रहेको छ । लघुकथा उसकै वरिपरि घुमेको छ । कथा यसरी शुरु गरिएको छ । उ आफूलाई सबैभन्दा क्रान्तिकारी ठान्थ्यो। देवी, देवता,भगवान, भूतप्रेत, डाइना, मसान, बोक्सी केही हुँदैनन्। यी सब सामन्तहरूले आफ्नो हालीमुहाली कायम राख्नको लागि रचिएका भ्रमहरू मात्र हुन् भन्थ्यो ।उसले
कुनै धर्म प्रति विश्वास गरेन,मूर्ति पूजा गर्न मठमन्दिर धाएन। पूनर्जन्ममा विस्वास गरेन। पशुवलीको खुब विरोध गर्यो ।अरूले पनि उसलाइ क्रान्तिकारी नै ठान्थे। राजनीतिमा लाग्यो। क्रान्तिकारी छविले गर्दा अत्यधिक मतले चुनाव जित्यो र मन्त्री भयो। गाउँमा एउटा सामुदायिक भवनको शिलान्यास गर्न बोलाइयो। आज उ एउटा खाल्टोमा बसेर वास्तु पूजा गर्दैछ। लघुकथा यसरी समापन गरिएको छ ।
करिब ८९ शब्दमा लेखिएको प्रस्तुत लघुकथा लामो आयाममा लेखिएको भएपनि लघुकथाले नेपाली राजनीतिक नेतृत्वको यथार्थ उजागर गरेको छ । जनतालाई धर्म अफिम हो धर्मको पछि लाग्नुहुदैन भन्दै हिडने क्रान्तिकारीहरु सत्तामा पुगेपछि आफै मठ मन्दिर, पुल-पुलेसाहरुको शिलान्यास गर्न बसेको देख्दा वाल्यकालमा क्रान्तिकारीहरुको भाषण सुनेर धर्मनिरपेक्षताका पक्षमा लागेका कार्यकर्ताहरुलाई कस्तो महसुस हुन्छ होला ? भन्ने मनोबैज्ञानिक तथ्य उजागर गर्न सफल हुनुभएको छ लघुकथाकार ।
देवी देवताका विश्वास नगर्ने क्रान्तिकारी उपात्र बाट शुरु गरिएको लघुकथा सामुदायिक भवनको शिलान्यास गर्न खाल्डोमा बसेर वास्तु पुजा गरिरहेको अवस्थामा समापन भएकोले लघुकथामा प्रतिध्वन्यात्मकता देखिएको छ । अर्थात् लघुकथाको मापनमा थप्पक बसेको छ ।कथा सरल छ । सलल बगेको छ । कथामा लघुत्वको साथै तिव्रता रहेको छ ।शिर्षक सार्थक छ । कथित क्रान्तिकारिता प्रति चोटिलो व्यग्यं गर्न सफल छ ।लघुकथामा कहिकतै थोरै संम्वाद
भएको भए अझ सुनमा सुगन्ध हुनेथियो जस्तो लाग्छ मलाई ।
साहित्यको विभिन्न विधामा कलम चलाउनुहुने साहित्यकारको साहित्यिक यात्र अझ उच्चहुदै जाओस् । दर्जनौ लघुकथा लेखिसक्नु भएका लघुकथाकारको लघुकथा संग्रह सिघ्र प्रकाशन होस् भन्ने शुभकामनाको साथै सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
बन्दना घिमिरे
हरिवन-१०, सर्लाही
हाल म.थि.न.पा-३,
भक्तपुर
लघुकथा : क्रान्तिकारी
तिलक तारामी “रेशाली”
बुटवल -११, रुपन्देही
ऊ आफूलाई सबैभन्दा क्रान्तिकारी ठान्थ्यो। ऊ भन्थ्यो, “देवी, देवता, भगवान, भूतप्रेत, डाइना, मसान, बोक्सी केही हुँदैनन्। सामन्तहरूले आफ्नो हालीमुहाली कायम राख्नको लागि रचिएका भ्रमहरू मात्र हुन्।”
उसले कुनै धर्म प्रति विश्वास गरेन। मूर्ति पूजा गरेन। मठमन्दिर धाएन। पूनर्जन्ममा विस्वास गरेन। पशुवलीको खुब विरोध गर्यो। त्यसैले उसलाई अरूले पनि उसलाइ क्रान्तिकारी नै ठान्थे।
ऊ राजनीतिमा लाग्यो। क्रान्तिकारी छविले गर्दा अत्यधिक मतले चुनाव जित्यो र मन्त्री भयो।
गाउँमा एउटा सामुदायिक भवनको शिलान्यास गर्न बोलाइयो। आज ऊ एउटा खाल्टोमा बसेर वास्तु पूजा गर्दैछ।
Narayan