तितोपाटी – जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०७९ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत ११ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै आएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०७९ हिँजो ८ अप्रिल २०२२ शुक्रबारको दिन कुवेतको फरवानिया पार्कमा जन-जागृतिका संरक्षक एवं सल्लाहकारहरू, कार्यकारीहरू तथा अधिकांश सदस्यहरूको समुपस्थिति सहित सार्वजनिक गरिएको हो ।
इस्लाम धर्मको पवित्र महिना रमदानको समय भरखर कोरोनाको महामारीबाट तंग्रिएर विस्तारै सबै समुदायका मानिसहरू आ-आफ्नो किसिमले जमघट गर्न शुरू गरिएको समय भएकोले अन्य किसिमका तामझाम नगरिए पनि जन-जागृतिमा आवद्ध अधिकांस सदस्यहरूको उपस्थिति तथा संस्थाका कार्यवाहक अध्यक्ष आनन्द आचार्यको सभाध्यक्षतामा सम्पन्न भित्तेपात्रो सार्वजनिक कार्यक्रममा संस्थाले स्थापनाकालदेखि गर्दे आएका नियमित कार्यहरू बारेमा संरक्षक छत्र बहादुर कार्की, निवर्तमान अध्यक्ष एवं सल्लाहकार टिकाराम आचार्य तथा उपाध्यक्ष राम बहादुर तामाङले जानकारी गराएका थिए भने बचत कोषका तर्फबाट मिलन तामाङले संस्थामार्फत सामाजिक र मानविय सेवा गर्नुका साथै संस्थामा आवद्ध सदस्यहरूको आर्थिक स्तर उकास्न सकियोस भनेर सदस्यहरूमाझ बचत संकलन गर्ने बानी बसाली सदस्यहरूबिच सेवार्थ रकम चलाउने अभियान पनि पुनः संचालन गरिएको बताएका थिए ।
नव वर्ष भित्रनु भन्दा केहि दिन अगावै सार्वजनिक गरिएको जन-जागृति भित्तेपात्रोमा नेपाली र अंग्रेजी पात्रोको साथमा नेपलाी तीथि, चाड, पर्व, विवाह एवं व्रतवन्ध मुहुर्त लगायत नेपाली दूतावास कुवेतले कुवेतमा कार्यरत सबैका लागि उपयोगी हुने गरी सर्वसाधारणको हितमा जारी गरेको गर्न हुने र गर्न नहुने कुराहरू समेटिएका छन् । उक्त भित्तेपात्रो सार्वजनिक समारोह संस्थाका महासचिव जिबन सुनारले संचालन गरेका थिए भने कार्यक्रममा उपस्थित सबैलाइ संस्थाका सचिव कृष्ण सुनारले स्वागत गर्दै जन-जागृति युवा समाज कुवेतबारे संक्षिप्त जानकारी गराएका थिए ।
स्मरण रहोस, कुवेतको नेपाली समाजको पहिलो सामाजिक संस्थाको रूपमा “जागरूक समाजकको खोज, जन-जागृति युवाको सोच“ भन्ने मुल नाराको साथ सन २००९ गठन भइ कृयाशिल रहँदै आएको जन-जागृति युवा समाज कुवेतले जन-चेतना, राहत-उद्दार र सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ । संस्थाले आफ्नो वार्षिक कार्यतालिका अनुसार कुवेतको नेपाली समाजमा भित्तेपात्रो पकाशन गरि निःशुल्क वितरण, हाजिरीजवाफ तथा वक्तृत्वकला जस्ता वौद्दिक कार्यक्रम, गीत, गजल, कवित, मुक्तक जस्ता साहित्यिक कार्यक्रमहरू नियमित रूपमा गर्दै आएको छ भने स्थापनाकालदेखि नै कुनै जातवर्ग, समुदाय, क्षेत्र वा धर्म संस्कृत तथा राजनैतिक पक्ष नलिइ भाइचारा र भातृत्वको भावनाले अभिप्रेरित भइ पुर्व मेची देखि पश्चिम महाकाली र उत्तर हिमाली क्षेत्र देखि दक्षिण तराइ सम्मका सम्पुणर् नेपालीहरूलाइ लक्षित गरि कर्मभूमि कुवेतमा अप्ठेरामा परेकाहरूलाइ विभिन्न किसिमले सहयोग गर्ने, कुवेतमा कृयाशिल संघ संस्थाहरूसँग हातेमालो र सहकार्य गर्दै नेपाली राजदूतावास संग समन्वय गरि अप्ठेरोमा परेर आर्थिक अभावको कारण नेपाल फर्कन नसकेकाहरूलाइ नेपाल फर्कन लाग्ने टिकटको व्यवस्था देखि मातृभूमि नेपालमा शोषित, पीडित, निर्धन र विपन्न वर्गलाइ लक्षित गरि वर्षेनी लाखौं रूपैयाँ सहयोग गर्दै आएको छ भने नेपालमा सहयोग गर्न आवश्यक भएर सहयोग संचालन गरिएका प्रोजेक्टहरूका लागि सहयोग अभियान संचालन गरेर आर्थिक सहयोग पनि गर्दै आएको छ ।