Tuesday 24th February 2026

भिजिट भिसाबाट सिर्जित समस्या समाधान गर्न नेपाल र यूएईका श्रममन्त्री सहमत


संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधनमन्त्री डा अब्दुलरहमान अब्दुलमानन अल अवारबीच भेटवार्ता भएको छ । यूएईको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा उनीहरुबीच दुई देशको आपसी सम्बन्ध र यूएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ ।

श्रममन्त्री श्रेष्ठले यूएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै यूएई सरकारको प्रसंशा गरेका थिए । भेटवार्ताका क्रममा उनीहरुबीच रोजगारीको प्रलोभनमा भिजिट भिसामा यूएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको छ ।

रोजगारीको प्रलोभन देखाई भिजिट भिसामा युएई ल्याउने व्यक्ति तथा संस्थालाई कारबाहीको दायरामा ल्याउन युएई सरकारले सहयोग गर्ने बताइएको छ । भेटमा मन्त्री अवारले यूएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा पनि यूएई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । उनीहरुबीच यूएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमा, पारिश्रमिक वृद्धिलगायत विषयमा पनि छलफल भएको थियो ।

लामो समयदेखि कार्यरत घरेलु महिला श्रमिकलाई पुनः श्रम स्वीकृति खुला गर्ने नेपाल सरकारको निर्णयले युएईमा रहेका घरेलु महिला श्रमिक लाभान्वित हुने मन्त्री अवारको भनाइ थियो । भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल सहभागी थिए। यूएईका तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयका सचिव अब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अब्दल्लाह अल्सामीलगायत सहभागी थिए ।

-अनलाइन खबरबाट

 


सम्बन्धित शीर्षकहरु

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

प्रतिकृयाहरू
...