Friday 21st August 2026

भिजिट भिसामा भारत हुँदै दुबई जान लागेका दुई युवती फर्काइए


तितोपाटी- गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा)मा मलेसिया र खाडी मुलुक जान रोक लगाएपछि मानव तस्करहरुको सञ्जालले नयाँ नयाँ रुट खोज्न थालेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका प्रहरी, एयरलाइन्स कर्मचारी र अध्यागमनका केही अधिकृतहरुले नै मावन तस्करीमा सहयोग पुर्‍याएको भन्दै गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलुक जान रोक लगाएको हो।

सर्वसाधारणले दुख नपाउन र मानव तस्करीको चेन ब्रेक होस् भन्ने उद्देश्यले गृह मन्त्रालयले भिजिट भिसामा कडाइ गरेको हो। भिजिट भिसामा विमानस्थलबाट सिधै मलेसिया र खाडी मुलुक जान नपाउने भएपछि मानव तस्करहरुको सञ्जालले भारतको बाटो प्रयोग गर्न थालेको पाइएको छ। केही म्यानपावर व्यवसायीले भिजिट भिसामा सेटिङ गरी सोझासाझा नेपालीहरुबाट चर्को रकम असुली खाडी मुलुक र मलेसिया पठाउने गरेका छन्। भिजिट भिसामा जानेहरुले खाडी मुलुकमा जागिर नपाउने र जागिर पाएपनि थोरै रकम प्राप्त गर्ने गरेका छन्। रुट फेर्दै भिजिट भिसामा भारत हुँदै दुबई जान लागेका दुई युवतीलाई बिहीबार अध्यागमनले फर्काइदिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले बिहीबार भारत जान लागेका सिन्धुपाल्चोकका साङ्गे डोल्मो लामा र फुलमाया तामाङलाई प्रस्थान अनुमति दिन अस्विकार गर्‍यो। त्यसको प्रमुख कारण थियो, उनीहरुको राहदानीमा दुबईको भिसा भेटिनु। अध्यागमनका अधिकारीहरुसँग लामा र तामाङले आफूहरु भारत जाने जिकिर गरेका थिए। तर उनीहरुले भारत जानुको उद्देश्यसमेत पुष्टि गर्न सकेनन्। भारत जानु पर्ने कारण समेत पुष्टि गर्न नसक्नु र उनीहरुको राहदानीमा दुबईको भिसा भेटिएपछि अध्यामगनका अधिकारीहरुले शंका गर्ने ठाँउ प्रशस्त भेटे। त्यसपछि अध्यागमनले उनीहरुलाई शंकास्पद यात्रा भन्दै फर्काइदियो।

अध्यागमनका एक अधिकारीका अनुसार, त्रिभुवन विमानस्थलबाट भिजिट भिसामा जान रोक लगाएपछि मानव तस्करी गर्दै आएका म्यानपावर व्यवसायीहरुले पाकिस्तान, श्रीलंका, भारतको बाटो हुँदै मलेसिया र खाडी मुलुक पठाउन प्रयत्न गरेको देखिन्छ। केही साता अघि दुबई हुँदै पाकिस्तान हिँडेकी एक महिलालाई समेत फर्काइदिएको थियो।साभार अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...