बि. आर. उप्रेती/बारा, नेपाल – दैवीप्रकोप कसैलाई थाहा हुने कुरै भएन । झन् नेपाल त विश्वमा जलस्रोतको दोस्रो धनी देश हो। जलस्रोतलाई सहि सदुपयोग गर्दा त्यसबाट हामीले धेरै लाभ लिन सक्छौं तर त्यही जलस्रोतको माध्यमलाई तटबन्ध नगरी जथाभावी रुपमा बहन दिंदा वर्षेनी देशका विभिन्न भागमा बाढी पहिरोले ठूलो क्षति(धनजनको विनाश) पुर्याउने गर्दछ । त्यस्तै बकैया, पसाहा, बालगंगा, दुधौरा खोलामा पनि उचित तटबन्ध नहुँदा अत्यधिक वन विनाश गर्दैछ। तिनै खोलाहरु मध्य पसाहा खोलाले त वन कटान गर्दै गाउँ (पिलुवा) मा पस्ने स्थितिमा छ। यदि पसाहा खोला पिलुवा गाउँमा पस्यो भने पिलुवा मात्रै होइन पैनीटोल, डकाहा, लामीडाँडा, बंकुल, बडहर्बा, सिरिपुर, झिटकैंया, कलैया लगायत पुरै बारा जिल्लामा समेत ठुलो जनधन, तथा हज्जारौं हेक्टर जमीनको अन्नबाली क्षति पुर्याउने प्रबल सम्भावना भएको हुनाले स्थानीयवासीहरुको ध्यानाकर्षण भएको छ। विगतमा बालगंगा नदिले झैं पटक-पटक खेती योग्य जमीन कटान गर्दै कैयौं बिगाहाको अन्न बाली नोक्सान गर्नुका साथै नदी गाउँमा पसेर असंख्य पशुपंक्षी र चौपाया समेत नोक्सान व्यहोर्नुपरेको सर्व विदितै छ।
तटबन्धका लागि आएको बजेट पनि राम्रोसँग काम नगरी, देखावटी गर्न केही मात्रामा बालुवाको ढिस्को उठाएर लाखौंको हिनामिना भएको आशंका गर्दछ्न् स्थानियबासीहरु। न त अनुगमन टोलीको त्यता ध्यान गएको छ न त स्थानिय जनप्रतिनिधिले नै त्यो कामको मुल्यांकन गरेको देखिन्छ । उपभोक्ता समिति भनेको के हो र कसरी उपभोक्ता समिति बनाउनुपर्छ भन्ने समेत हेक्का नभएको बुझिन्छ । उपभोक्ता समिति बनाउँदा उपभोक्ता समितिमा राखिएको व्यक्तिलाई समेत थाहा नहुनु भनेको कस्तो हास्यास्पद र अनौठो लाग्छ । उपभोक्ता समिति बनाउँदा टोल भेला गरेर सबैतिरका व्यक्तिहरुलाई समेटेर, अनुभवी, दक्ष, बुद्धिजीवी साथै प्रत्यक्ष रुपमा त्यस कार्य क्षेत्रका नजिकका बासिन्दाहरुलाई समेट्नु पर्छ किनभने आफ्नो गाउँमा खोला पस्न नदिन के कसरी हुन्छ राम्रो र टिकाउ हुने कार्य गरुन् ताकि भोलि खोला पस्दा पीडित हुने त त्यसै ठाउँका स्थानियबसी हुन् । राम्रो काम नगर्दा त्यसको हानी पनि आफैले व्यहोर्नुपर्ने हुन्छ र राम्रोसँग स्थाही ढंगले तटबन्ध गर्दा ढुक्कसँग बस्न पाउने पनि तिनै नजीकका व्यक्ति हुन् । जसलाई त्यो खोला पस्दा असर पुग्दैन भने तिनीहरूबाट राम्रो कामको अपेक्षा गर्न सकिंदैन । त्यो त विगतमा भएको कामबाट नै स्थानिय पीडित व्यक्तिहरुले मुल्यांकन गरिसकेका छन ।
विगत झैं यस वर्ष पनि बर्षा याममा नदी कटान गरी गाउँ बस्तीमा खोला पस्ने त्रास अझै छँदै छ। झन् तिनै खोलानालाबाट मापदण्डको ख्यालै नगरी (जे सि बी) ले ४/५ मिटर गहिरो खनेर गिट्टी बालुवा उत्खनन गर्ने, गराउने कार्य भइरहेको छ। यसबाट जंगली जनावरहरु पानी पिउन आउँदा उक्त खाल्डामा पर्ने डर हुन्छ । सरकारी तथा स्थानिय निकाय ( पालिकाहरु) ले आयस्रोत बनाई खोलाबाट गिट्टी बालुवा उत्खनन बापत कर असूल गर्नु त मनासिब होला तर कहाँ के कस्ता स्थान (खोला) मा के कसरी उत्खनन गर्ने भन्ने बारेमा स्थानिय बुद्धिजीवी,( खोला पस्ला भन्ने पीडित बस्तिका खास व्यक्ति ) स्थानिय जनप्रतिनिधि, नगरपालिकाका प्रशासकिय कर्मचारी, जिल्ला वन डिभिजनका प्रतिनिधी, जिल्लाबाट नियुक्ति भएका अनुगमन प्रतिनिधि, समेत भेला गराई उक्त मिटिङबाट पारित मापदण्ड अनुसार मात्र गिट्टी बालुवा निकाल्न पाउने व्यवस्था गर्नुपर्नेमा ठेकेदारहरुले जथाभावी बेढंङ्गसँग गिट्टी बालुवा उत्खनन गर्दा गाउँ बस्तीमा खोला पस्ने डर हुन्छ । मापदण्ड अनुसार बीच खोलाबाट १५ मिटर दायाँ बायाँ र १ मिटर गहिरो मात्रै खन्नु पर्ने साथै वन क्षेत्रको वारीपारीबाट ५० मिटर भन्दा टाढाबाट मात्रै उत्खनन गर्न पाउने नियम भएतापनी माथि उल्लेखित नियम र मापदण्ड विपरीत उत्खनन गरेको हुनाले जीतपुर सिमरा उप महानगरपालिका वडा नं. १६ र १८ अन्तर्गतका बस्तिहरुमा ठाउँ ठाउँबाट खोला पस्ने डरले स्थानियवासीहरु त्रसित भएका छन्। विगतमा धेरै पटक बालगंगा खोलाले वर्षायाममा भेल आउँदा धेरै खेतीयोग्य जमिनलाई बगरमा परिणत गर्नुका साथै ठुलो मात्रामा अन्नबाली, धनजन, पशुपंक्षी क्षति भएको स्थानियबासीहरुले भुलेका छैनन् । यसकारण विगतमा झैं यो वर्ष पनि ठुलै बाढी आउने सम्भावना देखिएकाले वर्षायाम शुरु हुनु भन्दा अगावै यथा स्थानमा राम्रोसँग तटबन्ध गरि नदी कटान हुनबाट जोगाउनु पर्ने थियोे तर नगरपालिकाले पसाहा खोलामा तटबन्ध गर्न बजेट दिन्छु भनेर निर्माण सम्पन्न गर्न उपभोक्ता समिति चैत्र महिनामा बनाए तापनि हालसम्म योजना समझौता लगायतका काम हुन सकेन ।
यसर्थ उपरोक्त विषम अवस्था उपर सम्बन्धित निकायहरु, (स्थानिय जनप्रतिनिधि, नेता, बुद्धिजीवी, नगरपालिका प्रमुख) ले सुदृष्टी राखी त्यस्ता विकट निम्त्याउने खोलानालाको तटबन्ध गर्ने गराउने कार्य यथा समयमै गराएमा खोलाबाट पीडित स्थानिय व्यक्तिहरु निर्धक्क बाँच्न पाउने थिए तर पसाह खोलामा समयमै तटबन्ध नहुँदा स्थानियबासीहरु रातदिन त्रसित भएर बस्न बाध्य छन्। यस सम्बन्धमा सम्बन्धित सबै निकायको ध्यानाकर्षण होस् भन्ने चाहना राख्छन् स्थानियवासीहरु ।