भ्यागुताको ट्वारट्वार आवाज ,झ्याउँकिरीको मर्चुङ्गे धुन, झ्यालबाट चियाइ रहेको चन्द्रमाको फिका प्रकाश सुसेली हाली रहेको जोगमाई खोला सबैले दिक्दार मात्र थप्छन् । घडीमा रातको २ बज्दा पनि निन्द्राको अत्तोपत्तो हुँदैन ।बिछ्याैना बिझाए झै लाग्छ। अनुहारमा सुलसुले हिडेको अनुभुती हुन्छ । बिझाउने चिसो सानो खाटमा छट्पटीएर रात बित्छ ।
आहा! मेरो पलङ खाली नै छ होला । पक्कै कोही सुतेको छैन । घरको ढोकामा ताला झुन्डिएको छ । डाइनिङ सिटीङ बेडरुमको याद आउँछ । पूजा कोठाको बत्ति संझिएर निरास लाग्छ ।
छिमेककी अञ्जलीले कति न्यास्रो मानेकी होला । ठुलो बाबा ठूलो ममी भनेर खोज्दी होला । बिहान चोकमा निस्कीएर गफ गर्ने साथीहरुले मेरो अनुपस्थितीले खल्लो मानेर बसेका होलान् ।
समयको कालखण्डसँगै कोभिडको समाचार रेडियो टेलिभिजनमा आउन थाले । बिस्तारै राजधानी, शहर बजार गाउँ गाउँमा फैलियो । मेरो समाज पनि अछुतो रहेन । वरिपरि संक्रमित देखिन थाले । निशेध आज्ञाले आउजाउ बन्द भयो तर कोभिड रोकिएन ।
घर बाहिर निस्कीन नपाउँदा घर नै जेल भयो । घर परिवार बचाउन गार्हो भयो । बाबू उत्सव साथीहरूसँग खेल्न जाँदा मन डरायो । कुनै उपायको खोजीमा थिएँ । झल्यास्स गाउँको घरको याद आयो । कति पनि ढिलो नगरी सामानहरु मिलाएर सपरिवार गाउँ आएँ । घर सरसफाइ गरेर बस्न थाले । गाउँ शान्त छ, सुन्दर छ तर पनि मलाई घरको यादले सताइ रहन्छ,घरको मायाले तड्पाइ रहन्छ ।
एकान्त वास साँच्चै एकान्त छ । चाहेर पनि कसैको मुख देख्न पाइँदैन । चेक चल्दैन, एटीएम चिनीदैन,पैसा भएर पनि सामान पाइँदैन ।निरासमा दिन र छट्पटीमा, निन्द्रा बिहिन रातहरु भयसँग भाग्दै बिती रहेका छन् ।
-घनश्याम पौडेल
माइजोगमाइ-१नयाँबजार इलाम