Thursday 25th September 2025

हात गुमाउनेहरूका लागि थ्रीडी प्रिन्टेड हात वरदान !


तितोपाटी – ज्ञानेश्वरकी ७ वर्षीया खुशी श्रेष्ठ अहिले निकै खुशी देखिएकी छिन् । मेडिकलको असरका कारण जन्मँदै देब्रे हात गुमाएकी खुशीले बुधबार थ्रीडी प्रिन्टेड कृत्रिम हात पाइन् । कृत्रिम नै सही, गुमेको हात पाउँदा उनको मुहारमा खुशी प्रष्टै देख्न सकिन्थ्यो ।

‘यसले मनोवैज्ञानिकरुपमा पनि छोरीलाई निकै खुशी दिएको त छ’, खुशीका बुबा पूर्णनारायणले भने, ‘यद्यपि, कृत्रिम हात प्रयोग गर्नमा उनी त्यति धेरै अभ्यस्त नभइसकेका कारण केही कठिनाई महसुस गरिरहेकी छिन् ।’

कृत्रिम हात प्रयोग गर्ने बानी परेसँगै खुशीले पनि अन्य बालबालिका सामान्य हातसरह नै लेख्न, पढ्न, टुथब्रस समाउन, कपाल कोर्न, बल खेल्न तथा साइकल चलाउन सक्ने उनलाई थ्रीडी प्रिन्टेड मेकानिकल हात उपलब्ध गराउने संस्था इनेबल नेपालले जनाएको छ ।

‘प्राकृतिक प्रकोप, गम्भीर दुर्घटना तथा जन्मजातै हात तथा हातका औंला गुमाएका १६ वर्ष मुनिका बालबालिकाहरुलाई थ्रीडी पि्रन्टेड मेकानिकल हात निशुल्क उपलब्ध गराउने योजनाअनुसार नै कृत्रिम हात वितरणको काम बुधबारदेखि सुरु गरेका हौं’, सिनामंगलमा अवस्थित इनेबल नेपालका अध्यक्ष नारायणप्रसाद कोइरालाले भने, ‘यसअन्तर्गत हालसम्म डडेलधुरा, संखुवासभा, नवलपरासी लगायतका ठाउँबाट ३०-४० बालबालिका सम्पर्कमा आइसकेका छन् ।’

के हो थ्रीडी प्रिन्टेड हात ?

मेकानिकल इञ्जिनियर ऋषिका अनुसार थ्रीडी पि्रन्टरको माध्यमद्वारा निर्माण गरिने कृत्रिम हातलाई नै मेकानिकल हात भन्ने गरिन्छ । झण्डै सय ग्रामभन्दा कम तौल हुने यस्ता हात चलायमान हुनुका साथै बालबालिकाहरुले सजिलै प्रयोग गर्न सक्छन् ।

थ्री डी प्रिन्टेड एउटा हात निर्माण गर्न जम्मा २४ घण्टा समय लाग्ने हुदाँ कुनै कारणवस थ्रीडी हात भाँच्चिएमा वा बिगि्रएमा यसलाई बनाउन खासै समस्या हुँदैन ।

कसरी बन्छ यस्तो हात ?

विशेषगरी थ्री डी पि्रन्टरको सहायताले ससाना प्लाष्टिकलाई निश्चित आकार प्रदान गरी तयार पारिने यस्ता हात निर्माणका लागि सबैभन्दा पहिले हातको नाप लिइन्छ । र, उक्त नापलाई निश्चित फाइलमा परिणत गरी उक्त नापलाई पि्रन्ट गरिन्छ ।

त्यसपछि उक्त नापलाई थ्री डी प्रिन्टरमार्फत प्रिन्ट गरी फिलामेन्ट, फिसिङ्ग रड, पेचकसको सहयोगमा थ्री डी हातका टुक्राहरुलाई जडान गरी कृतिम हातको रुप दिइन्छ ।

यसरी थ्री डी पि्रन्टरमा मेकानिकल हात प्रिन्ट गर्नकै लागि पीएलए, एबीएस, पेटजी लगायतका विशेष किसिमको प्लाष्टिकको आवश्यक्ता पर्दछ । जसको आ-आफ्नै विशेषता छ । जस्तै, पीएलए नामक प्लाष्टिक कम तापक्रममा पनि छिटै पग्लन सक्दछ ।

के गर्नु हुँदैन ?

कुनै पनि प्लाष्टिक उच्च तापक्रममा सजिलै पग्लने वा बिग्रने हुदाँ यस्ता हात लगाएर बेस्सरी तातेको वस्तु भने समाउन हुँदैन । यस्तो हात सय ग्राम भन्दा कम तौलको भएकाले यस्तो हातको प्रयोगले गहुँगो वस्तु उचाल्न हुँदैन । साथै, भित्तामा हान्दा वा ठोक्दा यस्तो हात चाँडै बिग्रन सक्ने भएकाले पनि यसमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

हातको कथा

खासगरी विश्वयुद्धमा हात गुमाएकाहरुलाई ध्यानमा राखेर एकजना अष्ट्रेलियन चिकित्सकले कृत्रिम हात निर्माणको काम सुरु गरेका थिए । त्यसपछि अमेरिकी नागरिक इभान ओएन भन्ने एकजना हास्य कलाकारले हात चलाएको फोटो युट्युवमा पोष्ट गरेका थिए ।

उक्त फोटो देखेर साउथ अफि्रकाको मेसिनिष्टले उक्त भिडियो हेरेर फलामको हात निर्माण गरेको थियो । र, त्यो हात देखे लगत्तै अर्की एक आमाले पनि आफ्ना बच्चाका लागि यस्तो हात निर्माणका लागि अपील गरेकी थिइन् । तर, फलामबाट निर्माण गरिएको उक्त हात बच्चाले उचाल्न नसकेपछि उनीहरुले अन्तराष्ट्रिय स्तरको एउटा थ्रीडी कम्पनीलाई प्लाष्टिकको हात निर्माण गरिदिन अनुरोध गरेका थिए ।

लगत्तै, थ्रीडी हात निर्माण सुरु गरेको उक्त कम्पनीले इनेबल नामक प्रोजेक्ट नै सुरु गरी हालसम्म लाखौ कृतिम हात निर्माण गरिसकेको छ । यो प्रोजेक्ट हाल विश्वका ४९ देशहरुमा सञ्चालित छ ।

नेपालमा कसले भित्र्यायो ?

थ्रीडी प्रिन्टेड हात निर्माण गर्नका लागि हाल इनेबल नेपालमा तीनवटा प्रिन्टर छन् । कृत्रिम हात वितरणमा सहयोगका लागि क्यानाडियन नागरिक पिटर ब्रायन र क्यानाडाका स्थानीय ऋषि श्रेष्ठ नेपाल आएका छन् ।

‘हाम्रो उद्देश्य भनेको कृतिम हात निशुल्क वितरण गर्ने कामलाई निरन्तरता दिनु हो । न कि यसलाई एकपटक गरेर छोड्नु । त्यसैले, हामीले यहाँका युवाहरुलाई थ्री डी पि्रन्टिङ्गसम्बन्धी विशेष तालिम दिँदै आएका छौ’, क्यानाडियन नागरिक पिटर ब्रायडले भने ।

‘म अलि बढी भावनामा बग्ने भएर पनि होला, मलाई पहिलेदेखि नै देशका लागि केही गरुँ भन्ने सार्‍है इच्छा थियो । तर, के गर्ने भन्ने थिएन’ कृत्रिम हात निर्माणसम्बन्धी प्रशिक्षण दिन करिब तीनहप्ताका लागि नेपाल आएका मेकानिकल इञ्जिनियर ऋषि श्रेष्ठले भने ।

नोबेल अस्पतालका अध्यक्ष सुरेन्द्र श्रेष्ठसित क्यानाडामा भेट भएपछि भने विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुको समूह बनाई इनेबल नेपाल नामक गैरनाफामुखी सामाजिक संस्था मार्फत एउटा वा दुवै हात नभएका वा हातका औंला नभएका बालबालिकालाई थ्री डी प्रिन्टेड मेकानिकल हात निशुल्क उपलब्ध गराउँदै आएको उनले बताए ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...