तीतोपाटी – नेकपा सचिवालय बैठकमा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचमा राजनीतिक प्रतिवेदनको विषयलाइ लिएर चर्काचर्की परेको छ । ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदन नभई आरोप भएकाले छलफल हुन नसक्ने बताएपछि प्रचण्डले प्रतिवाद गर्दा चर्काचर्की भएको हो ।
स्रोतका अनुसार ओलीले बैठकमा आरोपपत्रमाथि छलफल हुन सक्दैन, फिर्ता हुनुपर्छ भन्दै सचिवालय बैठक नै नराख्न प्रस्ताव गरेपछि दुइ अध्यक्ष बीच चर्काचर्की परेको हो ।
त्यसपछि ओलीले सीमा र मर्यादामा रहन भन्दै रुलिङ गर्न प्रयास गरेपछि प्रचण्डले यहाँ कसैले कसैलाई रुलिङ गर्न मिल्दैन, कमिटीमा सबैको हैसियत बराबर हो । कमिटीले जे भन्छ त्यसैगरी अगाडि बढ्छ । साथीहरू के भन्नुहुन्छ यसमा ? भन्दै प्रश्न गरेपछि बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने समझदारी बनेको थियो ।
अध्यक्ष दाहालको उक्त प्रस्तावमा महासचिव विष्णु पौडेलबाहेक बाँकी सबै सदस्यले सहमत जनाएका थिए । त्यसपछि मात्रै बैठक औपचारिकरुपमा सुरू भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा अध्यक्ष ओली र दाहालले आ–आफ्नो धारणा राखेको र अन्य सदस्यहरूले छोटो रूपमा सामान्य धारणा राखेका थिए भने बैठक भोली बुधबार १ बजे पुनः बस्ने बताइएको छ ।
अब नेकपाका नेताहरूबीच औपचारिक र अनौपचारिक दुवै तहमा छलफल हुने बताइएको छ । अहिलेसम्म ओली र दाहालका आ–आफ्नै समूहमा मात्र छलफल हुँदै आएको छ । दुई अध्यक्षबीच संवादहिनताको अवस्था छ । यस्तो परिस्थितिमा तत्काल अनौपचारिक संवाद हुने छाँटकाँट नै छैन ।