Saturday 1st August 2026

बैतडी दुर्घटना : मृतक ९ जनाकै सनाखत


तितोपाटी- दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति दुर्घटनामा परी मृत्यु भएका नौ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बैतडीका–३, दार्चुला, कञ्चनपुर र कैलालीका दुई-दुई जना रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरी र दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझाको दुर्घटनामा मृत्यु भएको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की, सोही नगरपालिका–१० का विज्ना धामी र धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी तथा सोही उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मृतकमध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्य आठ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो।
सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन्। बसमालिकसमेत रहेका चालक बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्की घाइते रहेका छन्।
दुर्घटनामा परेको बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । रासस


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...