तितोपाटी- सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा जोडिएका विजयप्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा ल्याएको छ ।
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड रुपैयाँ कमिसनका लागि बार्गेन गरेको अडियो टेप बाहिरिएपछि सोधपुछका लागि मिश्रलाई अख्तियारले बोलाएको हो ।
सो प्रकरणमा मिश्र स्विस कम्पनीका नेपाली एजेन्ट थिए । बास्कोटासँग मिश्रले कुराकानी गरेका थिए ।
अख्तियारले आज मिश्रको नाममा सूचना जारी गर्दै ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । अख्तियारले मिश्रलाई आजको मितिले ७ दिनमित्र आयोगको प्रहरी महाशाखा अनुसन्धान अधिकृतसँग सम्पर्कमा आउन भनेको छ । यस अवधिमा नआए मिश्रविरुद्ध कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढ्ने सूचनामा उल्लेख छ ।
मन्त्री बास्कोटाले भने अडियो काण्डपछि छानबिनलाई सघाउने भन्दै मन्त्री पदबाट राजीनामा दिएका थिए ।