Saturday 10th May 2025

क्लिनिक र निजी अस्पतालले बिरामी जाँच्नै छाडे


तितोपाटी- देशभरका अधिकांश निजी अस्पताल तथा क्लिनिकले बिरामी जाँच्नै छाडेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमको त्रासले निजी अस्पताल तथा क्लिनिकले सेवा दिनै छाडेपछि अन्य रोगका बिरामी मारमा पर्न थालेका छन् ।
ज्वरो र रुघाखोकीका बिरामीलाई चेकजाँच गर्न निजी अस्पतालले आनाकानी गर्न थालेपछि कतिपय बिरामी अस्पतालबाहिर अलपत्र परेका छन् ।
कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै व्यस्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्ता अस्पताललाई अनुगमन गर्न नभ्याउँदा उनीहरूले बिरामीको उपचार नै गर्न नमानेका हुन् । सरकारले सरकारी, निजी वा सामुदायिक कुनै पनि अस्पतालले शंकाको भरमा बिरामीको उपचार गर्न नसक्ने भन्न नपाउने बताउँदै आएको छ ।
ट्याङलाफाँट बस्दै आएकी कविता महर्जन टाउको दुखेर कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र पुगिन् । तर, केन्द्र बन्द थियो । उनले भनिन्, ‘टाउको एक्कासि दुख्यो, उपचार गराउन जाँदा बन्द पो रहेछ ।’

यस्तै, अत्यावश्यक मानिएका औषधि पसल बन्द रहँदा बिरामी मारमा परेका छन् । निजी क्लिनिक पनि अधिकांश बन्द रहेका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले संकटको समयमा निजी अस्पताल बन्द गर्न नहुने बताए ।
उनले भने, ‘अस्पताल अत्यावश्यक सेवाअन्तर्गत पर्छन् । निजी अस्पतालमा नाफासँगै सेवाको भावना पनि हुनुपर्छ । बिरामीलाई अस्पतालमा भर्ना नगरेर गेटमा ताला लगाउनु गैरजिम्मेवारपन हो ।’
नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा. रितेश थापा सरकारले नियमित बिरामीले प्रभावकारी सुविधा नपाएको स्विकार्छन् । उनले भने, ‘स्वास्थ्यकर्मीलाई राज्यले विश्वास दिलाउन सकेको छैन । स्वास्थ्यजन्य सामग्री उपलब्ध नगराएर जबर्जस्ती काममा लगाउन खोजेको देखिन्छ ।’
उनले कोरोना भाइरसको आशंकामा रहेका र प्रभावित बिरामीका लागि छुट्टै अस्पताल तयार गर्न आवश्यक रहेको बताए ।
सरकारले पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध नगराउँदा र सामाजिक दूरी कायम गर्नुपर्ने भएपछि सेवा प्रवाहमा समस्या खड्किएको छ । निजी अस्पतालका सञ्चालकहरूले कोरोना जोखिम रहेको र सरकारले पीपीई व्यवस्था नगरेका कारण अप्ठेरो भएको गुनासो गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले संकटको बेला सहयोगी भावना हुनुपर्ने बताए । उनले भने, ‘यो अवस्थामा निजी र सरकारी भन्ने हुनु हुँदैन । आफ्नो दायित्व बिर्सनु भएन ।’ उनले जोखिमको समयमा सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बmढ्नुपर्ने बताए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले औषधि बिहान वा बेलुकी केही समय खोल्न फार्मेसीलाई आग्रह गरे । उनले भने, ‘औषधि अत्यावश्यकीय सेवाभित्र पर्ने भएकाले जोखिमलाई ध्यान दिँदै समय मिलाएर सञ्चालन गर्नुपर्छ । अप्ठेरो परिस्थिति परे वैकल्पिक व्यवस्था गर्न सकिन्छ ।’साभार राजधानी दैनिकबाट


सम्बन्धित शीर्षकहरु

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको…

इस्लामाबाद: पाकिस्तानी सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले शनिबार भारतले पाकिस्तानका धेरै अड्डाहरूमा आक्रमण गरेको र बदला लिने वाचा…

प्रतिकृयाहरू
...