Friday 9th May 2025

कोरोना आशंकामा भर्ना भएका ६ जना डिस्चार्ज


तिताेपाटी – कोरोना भाइरसको आशंकामा सरुवा रोग अस्पताल टेकु र पाटन अस्पताल भर्ना भएका ६ जना डिस्चार्ज भएका छन् । आइसोलेसन वार्डबाट डिस्चार्ज भएकामध्ये पाँचजना घर गएका छन् । एकजनालाई सामान्य वार्डमा राखिएको डा. अनुप बाँस्तोलाले बताए । उनीहरू सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । सरुवा रोग अस्पताल टेकुमा चार र पाटन अस्पतालमा दुईजना भर्ना भएका थिए ।

सरकारले मेडिकल कलेजहरूसँग पनि सहयोग मागेको छ । कोरोना भाइरसका बिरामी देखिएको अवस्थामा कति संख्यामा शय्या उपलब्ध गराउन सक्ने क्षमता छ भन्दै जानकारीसमेत माग गरेको छ । शिक्षा र स्वास्थ्य मन्त्रालयले छलफल गरी मेडिकल कलेजहरूको सहयोग माग्ने बताएका हुन् । ६ चैतदेखि सुरु हुने एसइई परीक्षाका लागि तय गरिएका १९९४ सेन्टरमा हेल्थ डेस्क राख्ने निर्णय भएको छ ।

कोरोना देखिए २८ दिन आइसियूमा बस्नुपर्ने 
कोरोना भाइरस संक्रमण देखिएका ८० प्रतिशत व्यक्तिमा सामान्य प्रकारको लक्षण देखिने चिकित्सकहरूको भनाइ छ । उनीहरू घरमा आराम मात्रै गरे पनि ठीक हुन्छन् । १५ प्रतिशतलाई आइसोलेसन वार्डको र ५ प्रतिशतलाई आइसियूसहित भेन्टिलेटरको आवश्यकता पर्छ ।

कोरोना उपचारमा संलग्न चिकित्सक डा. अनुप बाँस्तोलाका अनुसार गम्भीर अवस्थामा आइसियूमा भर्ना भएका बिरामी कम्तीमा २८ दिनसम्म बस्नुपर्ने हुन्छ । कोरोना उपचार गर्ने सरुवा रोग अस्पताल टेकुमा हाल चार शय्याको आइसियू सञ्चालन छ । कम्तीमा दश शय्या थप गर्न सक्ने खाली ठाउँ छ ।

दैनिक १४ सयको परीक्षण गर्ने क्षमता रहेको केन्द्रीय प्रयोगशालाको दाबी : कोरोना भाइरस परीक्षण गर्ने दक्ष जनशक्ति भने ६ जना मात्रै

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक १४ सय नमुना परीक्षण गर्न सक्ने क्षमता आफूसँग भएको बताएको छ । सरकारले कोरोना भाइरस परीक्षण गर्ने अधिकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई मात्रै दिएको छ । प्रयोगशालाकी निर्देशक डा. रुणा झाले दैनिक १४ सयसम्म नमुना परीक्षण गर्न सकिने जानकारी दिइन् । तर, कोरोना भाइरस परीक्षण गर्ने जनशक्ति भने प्रयोगशालासँग ज्यादै न्यून रहेको उनको भनाइ छ ।

सरकारले विशेषज्ञ जनशक्तिको व्यवस्थापन नगरे क्षमताअनुसार नमुना परीक्षण गर्न प्रयोगशाला असमर्थ हुने झाले बताइन् । हाल ६ जना जनशक्तिको भरमा प्रयोगशालाले सेवा दिइरहेको उनी बताउँछिन् । ‘प्रयोगशालामा कर्मचारीको संख्या धेरै भए पनि भाइरस परीक्षण गर्ने छुट्टै परीक्षणविज्ञ हुन्छन् । त्यस्ता दक्ष जनशक्तिको भने अभाव छ,’ डा. झाले भनिन् ।

यदि कोरोना संक्रमण फैलिएमा परीक्षणका लागि कर्मचारीको व्यवस्थापन पहिलो आवश्यकता भएको उनले बताइन् । ‘भएका कर्मचारीले पनि जोखिममा काम गरेबापत कुनै सेवासुविधा पाएका छैनन्,’ झाले भनिन् । ६ जना जनशक्तिले पनि कम्तीमा तीन सयको संख्यामा नमुना परीक्षण गर्न सक्ने उनको भनाइ छ ।

उपचार गर्न के–के गरिँदै छ ?
कोरोना भाइरसको परीक्षण अभाव हुन नदिन सरकारले आठ हजार किट (प्राइमर प्रोब) खरिद प्रक्रिया अघि बढाएको छ । हाल १४ सयको संख्यामा प्राइमर प्रोब मौज्दात छ । परीक्षण अवरुद्ध नहोस् भनेर स्वास्थ्यकर्मीको पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट आवश्यकताअनुसार राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना परीक्षणमा पहिलो रिपोर्ट इन्फ्लुएन्जा हेरिन्छ, इन्फ्लुएन्जा नेगेटिभमा कोरोना हेरिन्छ । एउटा मात्रै ल्याबले परीक्षण सम्भव नहुने भन्दै विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त केही ल्याबलाई पनि कोरोना परीक्षणको अधिकार दिन सक्ने प्रयोगशालाले जनाएको छ ।

नयाँ पत्रिकाबाट साभार


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी जुन २७, २०२५ (शुक्रबार) का दिन १६औँ स्थापना दिवस अवसरमा “श्रमिक सचेतना कार्यक्रम”…

भारतले पाकिस्तानले भारतीय शहरहरूतर्फ प्रहार गरेको १५ वटा क्षेप्यास्त्रहरूलाई निष्क्रिय पार्न S-४०० प्रतिरक्षा प्रणालीको सफलतापूर्वक प्रयोग गर्‍यो। त्यसपछि, इजरायली HARPY…

भारतीय सेनाले बुधबार बिहानै पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा क्षेप्यास्त्र आक्रमण गरेको थियो जसलाई अपरेशन सिन्दूर भनिएको थियो।…

प्रतिकृयाहरू
...