Thursday 22nd May 2025

सभामुख महरामाथिको अनुसन्धान प्रतिवेदनमा आज निर्णय हुँदै


तिताेपाटी – आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको अनुसन्धान प्रतिवेदन माथि आज निर्णय हुँदैछ।शुक्रबार प्रहरीले बुझाएको प्रतिवेदनमाथि माथि आज काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्ने छ।

प्रहरीले महरामाथि आफ्नै कार्यालयकी कर्मचारीलाई जबरजस्ती करणी गरेको भन्दै  कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन अनुसार मुद्दा चलाउने वा नचलाउने अधिकार सरकारी वकिललाई कानुनले दिएको छ।

‘कानुन अनुसार मुद्दा चलाउने कि नचलाउने भन्ने अधिकार हामीलाई छ। प्रहरीले बुझाएको प्रतिवेदनमा रहेका तथ्य र प्रमाण हेरेर हामीले आज निर्णय गर्छौं,’ काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल चन्द्रकान्त खनालले भने। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय स्रोतले बताए अनुसार महरामाथि मुद्दा चल्ने संभावना धेरै छ। २० दिन लामो अनुसन्धानबाट महराले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी उद्योग गरेको पुष्टि भएको प्रहरीले जनाएको थियो।

‘घटनास्थल मुचुल्का, जाहेरी तथा हालसम्म जाँचबाट आएका रिपोर्टहरूले जबरजस्ती करणी उद्योग गरेको देखिन आएको छ,’ प्रहरी स्रोतले भन्यो। “>प्रतिवेदनमा महरालाई मुलुकी फौजदारी संहिता २०७४ को बलात्कार प्रयास सम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ। स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा सार्वजनिक पदमा रहेर महरा बलात्कारजस्तो जघन्य अपराधमा संलग्न भएकाले त्यसउपर पनि कारबाही माग गरिएको छ।

मुलुकी अपराध संहितामा जबरजस्ती करणीमा पीडितको उमेर हेरेर सजाय तोक्ने प्रावधान छ। अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी युवती वा महिला भए सात वर्षदेखि दस वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। जबरजस्ती करणी उद्योग गरेको भए त्यसको आधा सजाय हुने व्यवस्था मुदुकी अपराध संहितामा छ। महरालाई त्यसको आधा सजाय अर्थात साढे तीन देखि ५ वर्षसम्म सजाय मागदाबी गर्न सकिन्छ।

त्यस्तै प्रहरी प्रतिवेदनमा आफ्नो कार्यालयकी कर्मचारीलाई जबरजस्ती गर्न खोजेको भन्दै त्यसमा पनि पनि कारबाही हुनुपर्ने उल्लेख थियो। मुलुकी अपराध संहितामा आफ्नै कार्यालयकी कर्मचारीमाथि जबरजस्ती करणी गरेमा ४ बर्षसम्म कैद सजाय र चालिसहजार रूपैया सम्म जरिवाना हुने व्यवस्था छ। जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मा त्यसको आधा सजाय हुन्छ।

सरकारी वकिल कार्यालयले यी दुवै कसुर जोडेर कैद सजाय माग गर्दै मुद्दा लैजान सक्नेछ। त्यसो गर्दा महरालाई पाँच देखि ७ वर्षसम्म कैद सजाय हुनुपर्ने मुद्दा अदालतमा जान सक्छ। आज महरामाथि मुद्दा चलाउने निर्णय भयो भने आजै अदालत लैजानुपर्ने हुन्छ। अदालतमा उनको पहिले थुनछेक बयान हुन्छ त्यसपछि थुनछेक बहस हुन्छ। दुवै काम सकिएपछि अदालतले महरालाई थुनामै राखेर मुद्दाको सुनुवाई अघि बढाउने कि थुनामुक्त गरेर भन्ने निर्णय गर्ने छ।

सरकारी वकिल कार्यालयले मुद्दा नचलाए महरालाई आजै थुनामुक्त गर्नुपर्ने छ। महराले प्रहरीलाई आफूले संसद कार्यालयकी ती कर्मचारीमाथि बलात्कार प्रयास नगरेको बयान दिएका छन्। उनले रोशनीको घरनिरै पुगेपनि भित्र नपसि फर्किएको वयान प्रहरीलाई दिएका थिए। प्रहरीले भने ती कर्मचारीको घरबाट महराको चस्मा र जुत्ताको तलुवा बरामद गरेको थियो। महराले बयानमा घटनास्थलमा भेटिएको चस्मा र तलुवा आफ्नो नभएको भनेका थिए। तर  वयानको क्रममा सोधिएको अर्को प्रश्नमा भने आफ्नो पुरानो चस्मा देखाएर फसाउन खोजिएको बताएका थिए।

महरा असोज १२ गते बा २०च ५७११ नम्बरको सिल्भर कलरको गाडी चढेर रोशनीको कोठामा पुगेको प्रहरीले पत्ता लगाएको थियो। आफुकहाँ आएर महराले जबरजस्ती करणी प्रयास गरेको संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले जाहेरीमा उल्लेख गरेकी छिन्।

यो घटना बाहिर आएपछि महराले सभामुखबाट राजीनामा दिएका थिए। >उनको पार्टी नेपाल कम्युनिष्ट पार्टीले भने उनलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन भनेको थियो। उनले सांसद पदबाट राजीनामा दिएका छैनन्। जाहेरीपछि महरालाई असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो। चार दिन हिरासतमा बसेपछि उनी बिरामी भएको भन्दै नर्भिक अस्पतालमा बसिरहेका छन्।

-सेताेपाटीबाट साभार


सम्बन्धित शीर्षकहरु

बादल पारी गाउँमा मायाको बस्ती बसाउँ यो मायाको शहर हो यहि रमाउँ तिमीले सिकायौ तिमीले बनायौ हाम्रो बस्ती यहि हो…

एजेन्सि- प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले सन् २०२३ अक्टोबर ७ देखि प्यालेस्टिनमा जारी इजरायली…

रोजिना ढुङाना, झापा (हाल: कुवेत) - मजदुरले पाउनु पर्ने हक, अधिकार र सम्मान आजसम्म कसैले पाएको छैन। अरूको कुरा नगरौं,…

प्रतिकृयाहरू
...