Thursday 14th August 2025

नक्कली एअर होस्टेज बनेर ठगी गर्ने एक युवती झापामा पक्राउ


तितोपाटी – आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक युवतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू जेट एयरलाइन्सको एयर होस्टेजका रुपमा काम गर्दै आएको बताउने राईलाई दुई पुरुषले दिएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो।

राईले बुबा अमेरिका बस्ने, आमा डाक्टर, दाजु पाइलट भएको परिचय दिई मोबाइल र मेसेन्जरमा निरन्तर कुराकानी गरेर नजिक हुने र लामो समय कुराकानी गरेपश्चात् विवाह गर्नेसम्मको प्रलोभन दिएर विभिन्न आकस्मिक समस्या देखाई पुरुषसँग रकम मागी झुक्याएर ठगी गर्ने गरेको र रकम नदिएमा आत्महत्या गर्ने भनी धक्कीसमेत दिने गरेको उनीहरूको उजुरीमा उल्लेख रहेको प्रवक्ता श्रेष्ठले बताए।

राईलाई आइतबार झापा जिल्ला अदालतबाट छ दिनको म्याद थप भई जिप्रका झापाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताए। उजुरीकर्ता पुरुषको नाम भने उल्लेख गर्न नमिल्ने उनले बताए। उनले नक्कली फेसबुक आइडीमा अर्काको फोटोहरू राखेकाले मेसेन्जरमा भ्वाइस कल मात्र गर्ने, सक्कली अनुहार देखिने डरले भिडियो कल नगर्ने, जेट एयरलाइन्सको एयर होस्टेजको फोटोहरू इन्स्ट्राग्रामबाट निकाली आफूले खोलेको नक्कली फेसबुक आइडीमा फोटोहरू अपलोड गरेको अनुसन्धानमा खुलेको छ।

राईलाई मुलुकी अपराध संहिता, २०७४ को ठगी अपराध अन्तर्गत कानूनी कारवाही हुने प्रवक्ता श्रेष्ठले बताए।

-रासस


सम्बन्धित शीर्षकहरु

तितोपाटी- कुलिंग पिरेड बिबादमा परे सँगै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।…

तितोपाटी-महिला दिदीबहिनीको महान पर्व हरितालिका तीजको पावन अवसरमा दुबईमा तीज बिशेष साँस्कृतिक धमाका -२०२५  हुने भएको छ ।आउदो अगस्ट २४…

उत्तर प्रदेशको बलरामपुरमा २१ वर्षीया अपाङ्गता भएकी महिलामाथि बलात्कार भएको आरोप छ। पीडित महिला राति अबेर सुनसान सडकमा आफ्नो ज्यान…

प्रतिकृयाहरू
...